पुल उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला आउने



हुम्ला ।

पुल उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज हुम्ला आउने भएका छन् । कर्णाली करिडोरअन्र्तगत हुम्ला जिल्लामा पर्ने खार्पुनाथ गाउँपालिका– ५ को खार्पुको दोजाम कर्णाली नदीमाथि निर्माण भएको बेलिब्रिज पुलको औपचारिक उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला आउन लागेका हुन् ।

नेकपा एमाले हुम्लाका अध्यक्ष ज्ञानी बुमीका अनुसार प्रधानमन्त्री ओलीसँगै संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि हुम्ला आउने कार्यक्रम तय भएको छ । यो बेलिब्रिज पुल उद्घाटन गरेपछि हुम्ला औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिने उनले बताए ।
केही दिनअघि प्रधानमन्त्री ओलीले अब हुम्लाको सदरमुकाम सिमकोट सडक सञ्जालसँग जोडिने दिन टाढा नभएको बताएका थिए । नेपाली सेनाले सो बेलिब्रिजको स्टिल पार्टको जडान कार्य पूरा गरेर एप्रोजवालसमेत निर्माण गरिसकेको छ ।

साथै पुलको पश्चिमतर्फ ग्याविन वाल लगाउने कार्यसमेत पूरा भएको छ । सेनाले निर्माण गरेको सो बेलिब्रिको लम्बाइ ५२ मिटर छ । दोजाम कर्णाली नदीमा पुल नभएका कारण सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग औपचारिक रुपमा जोडिन पाएको थिएन । त्यही कारण हुम्लावासीले तत्काल सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि दोजाम कर्णाली नदीमा बेलिब्रिज निर्माणका लागि माग गरेका थिए ।

गत पुसमा सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सो बेलिब्रिजको निर्माण कार्यको जिम्मा नेपाली सेनालाई दिएको थियो । सेनाले सो बेलिब्रिज असार मसान्तसम्म सम्पन्न गर्ने गरी काम गर्ने जिम्मेवारी पाएको थियो । बेलिब्रिजको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएपछि अब सदरमुकाम सिमकोटबाट सिधै सुर्खेत, नेपालगन्ज र काठमाडौँसम्म गाडीमा यात्रा गर्न सकिने अवस्था छ । यो कार्यले हुम्लावासी पनि खुसी भएका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ असार २२ गते आइतबार