गुल्मी ।
जिल्लाको पश्चिमी भेगमा बसोबास गर्ने कुमाल समुदाय निगुरो बिक्री गरेर घरखर्च चलाउँदै आएको छ । उनीहरूले वर्षौंदेखि वनजंगलमा पाइने जडीबुटीजन्य तरकारी निगुरो संकलन गरेर बिक्री गरी नुन तेलको जोहो गर्दै आएका छन् । उन्यू प्रजातीको एक प्रकारको वनस्पती निगुरो तरकारी र अचार खान प्रयोग गरिन्छ । विपन्न कुमाल समुदाय बढी मात्रामा यो पेसासँग जोडिएको छ । जेठ महिना सुरू भएपछि असोज महिनासम्म वनपाखामा प्रशस्त मात्रमा निगुरो पाइने गर्दछ । बिहानै उठेपछि डोको र नाम्लो बोकेर जंगलसम्म पुगेर डोकोभरी निगुरो टिपेर उनीहरू फर्कने गर्दछन् ।
यस क्षेत्रमा बसोबास गर्ने कुमाल सकुदायसँगै अन्य विपन्न परिवारका सदस्यको दिनचर्या दिनभर जंगल र पाखामा निगुरो टिपेर बित्ने गर्दछ ।
मनग्य आम्दानी गर्न सकिने भएका कारण त्यस क्षेत्रका कुमाल समुदाय यो पेसालाई अगाल्दै आएका छन् । उनीहरू आफूले अघिल्लो दिन टिपेको निगुरो दोस्रो दिन बिहानै बिक्रीका लागि स्थानीय बजारदेखि सदरमुकाम तम्घाससम्म आइपुग्छन् । जिल्लाको अर्जै, घमिर, अर्खाबाङ्, नेटा तथा ह्वाङ्दी, मुसिकोट लगायतका जंगलमा प्रशस्त मात्रमा निगुरो पाइने गर्दछ ।
विपन्न परिवारका लागि निगुरो यतिबेला राम्रो आम्दानीको मुख्य स्रोत बनेको छ । आफूले निगुरो बिक्री गरेर मासिक रु ३० हजारसम्म कमाउने गरेको इस्मा गाउँपालिका–५ की सरस्ववती मुखिया बताउँछिन् । उनलाई त्यसैबाट घरखर्च चलाउन सजिलो भएको छ । एक मुठा निगुरो रु ५० मा बिक्री गर्ने गरेको मुखियाले बताइन् । ‘दिनभर जंगलमा पुगेर टिप्ने हो, झरी, घाम, सर्प सबैबाट जोगिनुपर्छ, टिपेर ल्याएपछि बिक्री गर्न त गाह्रो छैन, घरखर्च चलाउन कसैसँग सापट माग्नु परेको छैन,’ मुखियाले भनिन् ।
जंगलबाट टिपेर ल्याएका बस्तुको गाउँमा खासै महत्व नहुने भएका कारण त्यसलाई डोकोमा बोकेर बिक्रीका लागि सदरमुकाम तम्घाससम्म ल्याउने गरिन्छ । यसलाई उत्पादन गर्न कुनै लगानी गर्नु नपर्ने, जंगलमा पुगेपछि सित्तैमा टिप्न पाइने र बजारमा राम्रो मूल्य पाइने भएका कारण निगुरो टिप्ने गरिन्छ । जंगलबाट टिपेर ल्याएको निगुरोलाई सुरूमा साना–साना मुठा बनाउने र त्यसलाई डोकोमा बोकेर बिक्रीका बजारसम्म पुराउने गरिन्छ ।
निगुरोले उचित मूल्य पाउने गरे पनि यसलाई टिप्न भने गाह्रो काम भएको इस्मा अमरपुरकी सीता कुमालले बताइन् । ‘दिनभर जंगलमा जाने होे, घाम पानी नभनेर निगुरो टिप्छौँ,’ उनले भनिन् । सीता मुखिया मात्र हैन उनीसँगै पसिना पुछ्दै डोकोमा निगुरो बोकेर सदरमुकाम आइपुगेकी चमेली राना निगुरो बिक्री गरेपछि घरपरिवारका सदस्यहरूको आवश्यकता पूरा गर्छिन् ।
‘आम्दानी नहुनेलाई घर खर्च चलाउन निकै सजिलो भएको छ,’ उनले भनिन् । बर्खाको समयमा जंगलदेखि निगुरो टिपेर दुई दिनको समय खर्चेर सदरमुकामसम्म आउन उहाँहरूलाई त्यत्ति सहज भने छैन । गुल्मीको निगुरो सदरमुकाम तम्घासमा मात्र होइन बुटवलका हाटबजारसम्म पुग्ने गर्दछ । आफन्तलाई कोसेलीको रूपमा पनि निगुरो खोजीखोजी पठाउने प्रचलन छ । बजारमा विषादी प्रयोग गरेका तरकारी खाँदाखाँदै हैरान परेका व्यक्तिका लागि पहाडको जंगलबाट टिपेर ल्याएको अर्गानिक निहुरोको बजारमा प्रसस्त माग हुने गर्दछ ।
निगुरोबाट अचार, तरकारी, चुकौनी लगायतका परिकार बनाउन सकिने र ती परिकारहरू मिठो र स्वादिलो हुने गरेको स्थानीय हरिप्रसाद शर्माले बताए । निगुरो बिक्री गरेर यस क्षेत्रका विपन्न कुमाल समुदायले सिजनमा न्यूनतम रु दश हजारदेखि रु तीस हजारसम्म आम्दानी गर्दै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्