राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको ‘कमब्याक’



काठमाडौँ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन् । लामो समयदेखिको राजनीतिक भविष्यबारेको अड्कलबाजीलाई अन्त्य गर्दै शनिबार उनले पार्टी सदस्यता नवीकरण गरेर पुनः एमालेको राजनीतिक यात्रामा जोडिएको घोषणा गरेकी हुन् । मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू पुनः एमालेको राजनीतिक यात्रामा जोडिएको घोषणा गरिन् ।

‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले)मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’ भण्डारीले राजनीतिमा फर्किने घोषणा गर्दा हलमा तालीको गडगडाहटले स्वागत गरिएको थियो ।

राजनीतिमा फर्किएको घोषणा गर्दा उनी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको प्रशंसा गर्न पनि पछि परिनन् । आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा नरहेको स्पष्ट पार्दै उनले देश र जनताको हित नै आफ्नो एकमात्र लक्ष्य भएको दाबी गरिन् । जननेता मदन भण्डारीको ‘राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन’ भन्ने भनाइलाई स्मरण गर्दै पूर्वराष्ट्रपति भण्डारीले सोही आदर्शमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा आफूलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएको र थप परिपक्वसमेत बनाएको धारणा राखिन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति भएर करिब ७ वर्ष जिम्मेवारीमा रहँदा देश र जनताको हितलाई ध्यानमा राखेरै काम गरेको उल्लेख गर्दै भण्डारीले आफ्नो तर्फबाट राष्ट्र र नागरिकको स्वाभिमानमा कुनै पनि आँच आउने काम नगरेको जिकिर गरिन् ।

उनले आफू राष्ट्रपतिको भूमिकाबाट बाहिर निस्किएपछि विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तक्र्रिया गरेको र सुखी नेपाली र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएको निष्कर्ष निकालेको बताइन् ।

यस्तै कार्यक्रममा भण्डारीभन्दा अघि बोलेका प्रधानमन्त्री ओलीले मिडियाले भण्डारी र आफूबीच बम पड्काइसकेको टिप्पणी गरेको बताएका थिए । ओलीले भने, ‘हाम्रो विरोधीले गोली हानिरहेका छन्, हामीलाई छोयोमात्रै, एमाले त्यति मजबुत छ, तर अनलाइन मिडियाहरूले यो कार्यक्रम भाँड्न वृक्षरोपण कार्यक्रम राखे विभिन्न ठाउँमा भन्छन् । मदन भण्डारी दिवस मनाउन देशभरी कार्यक्रम राखिएको छ । एमाले निकट रहेका संगठनहरूको कार्यक्रम भाँड्न खोजेर भाँडिन्छ ? कसरी भाँडिन्छ म र विद्या भण्डारी आउने कार्यक्रम ?’

अध्यक्ष ओलीले शनिबारकै कार्यक्रमबाट एमालेमा बम पड्कन्छ र एमाले ध्वस्त हुन्छ भन्ने सपना देखेर विरोधीहरू बसेको बताए । उनले भने, ‘कुनै बमबारुद पड्किनेवाला छैन । आश नगरे हुन्छ, एमाले एक छ, एक रहन्छ, एकजुट भएर अघि बढ्छ । यसो अनलाइनतिर हेर्नुभयो भने तपाईँहरू छक्क पर्नुहुन्छ ।’

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कुरा सुन्न आग्रह गरेको भन्दै ओलीले भनेका थिए, ‘तपाईँ राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदैछ । आजमात्रै सुन्नुपर्ने होइन, उहिल्यैदेखि सुन्दै आएको हो । नराम्रो कहिल्यै बोल्नुहुन्न । मलाई थाहा छ के बोल्नुहुन्छ । त्यसो भएर मैले सुन्न बसिरहनुपर्दैन ।’

  • No tags available
प्रकाशित मिति : २०८२ असार १५ गते आइतबार