छाला रोगका बिरामी बढ्दै



नेपालगन्ज ।

गर्मी बढेसँगै बाँकेमा छाला रोगका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । छाला रोग विशेषज्ञ डा. बद्री चापागाइँले गर्मी बढेसँगै भेरी अस्पताल नेपालगन्जमा छाला रोगका बिरामी आउनेक्रम वृद्धि भएको जानकारी दिए । ‘पहिलेभन्दा सङ्ख्यात्मक रुपमा छाला रोगका बिरामी बढिरहेका छन्,’ उनले भने ।

उनका अनुसार बिरामीको काखी, काछलगायतका स्थानमा दाद आउने समस्या देखिएको छ । डा. चापागाइँले ती बिरामी २० देखि ४० वर्ष उमेर समूहका भएको जानकारी दिए । नेपालगन्जबाहेक बर्दिया, सुर्खेत, जुम्लालगायतका जिल्लाबाट छाला रोगका बिरामी अस्पताल आउने गरेका छन् ।

भारतसँग सीमा जोडिएको नरैनापुरमा छाला रोगका बिरामीको सङ्ख्या झन् वृद्धि भएको नरैनापुर गाउँपालिकाको कटकुइया स्वास्थ्य चौकी प्रमुख दिनेशकुमार मौर्यले जानकारी दिए ।उनले दैनिक ४० देखि ६० जनासम्म बिरामीको जाँच हुँदा सबैभन्दा बढी २० देखि २५ जना छाला रोगका बिरामी फेला परेको बताए ।

छाला रोगमा सबैभन्दा बढी दाद, लुतो र छाला चिलाउने समस्या देखिएको उनको भनाइ छ । पिलो आउने, घमौरा लगायतका समस्यासमेत देखिएको छ । ‘हामी नेपाल भारत सीमा क्षेत्रमा छाँै यहाँबाट मानिस भारत जाने आउने गर्छन् र त्यहाँबाट धेरै संक्रमण भएको हुनसक्छ,’ मौर्यले भने ।

बर्सेनि छाला रोगसम्बन्धी शिविर सञ्चालन भएको र त्यसबाट छाला रोगका बिरामी झन बढ्दै गएको उनको भनाइ छ । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र, नरैनापुरका जनस्वास्थ्य निरीक्षक नवीन बुढा क्षेत्रीले छाला रोगका बिरामी सबैभन्दा बढी आएको जानकारी दिए । उनले दैनिक जाँच भएका ५० बिरामीमध्ये २० जना छाला रोगसम्बन्धी बिरामी भेटिएको बताए । उमेरका हिसाबले वयस्कदेखि वृद्धसम्ममा छाला रोगका समस्या देखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ९ गते सोमबार