कोहलपुरमा असारभित्रै १८ हजार जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने



गणेश रावत । कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शनिबार नगरपालिकाको १७औँ नगरसभाबाट नगर प्रमुख पूर्णप्रसाद आचार्यले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा नगरपालिकाभित्र लालपुर्जा पाउन बाँकी रहेका १८ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई यस आर्थिक वर्षभित्रै जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने कार्यलाई प्रमुख प्राथमिकता राखिएको छ ।

साथै नगरपालिकाले प्रदान गरेको सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा ‘जनतासँग नगरप्रमुख संवाद’ कार्यक्रमलाई यस वर्षपनि निरन्ता दिइएको छ । माध्यमिक तहका सबै कक्षाकोठामा ‘स्मार्ट डिजिटल बोर्ड’ जडान गर्नुका साथै आधारभूत तहमा बहुकक्षा बहुस्तर कार्यक्रम सञ्चालन गर्ने र शिक्षक, कर्मचारीको क्षमता विकास गर्न ‘शैक्षिक तालिम केन्द्र स्थापना’ तथा बृहत् विज्ञान प्रयोगशाला पार्क स्थापना गरिने नीति लिइएको छ । यस वर्ष पनि ‘हरित नगरपालिका’ अभियानलाई निरन्तरता दिँदै यसै वर्ष १० हजार बिरुवा रोपी संरक्षण गर्ने प्रमुख प्राथमिकतामा राखिएको छ ।

वडा केन्द्रसम्म पक्की सडकले जोड्ने, वडाका मुख्य सडकहरू स्तरोन्नति गर्न प्राथमिकता दिइने, कोहलपुर–२ तेह्र बिगाहामा फुटबल प्याराफिट निर्माण गर्ने, कोहलपुर–८ जैविक बनबाटिका निर्माण गर्ने, कोहलपुर साहित्यिक महोत्सव सञ्चालन गर्ने र मिसन रोजगारी अभियान सञ्चालन गर्न प्रथामिकता दिइएको नगर प्रमुख आचार्यले बताए ।
यस्तै नगरभित्रका ४० वर्ष माथिका सबै नागरिको नसर्ने रोगको प्रभाव न्यूनीकरणका लागि समुदायस्तरमा विशेषज्ञ सेवासहित बृहत् स्क्रिनिङ र ३० वर्षदेखि माथिका सबै महिलाहरूको निःशुल्क पाठेघर मुखको क्यान्सर स्क्रिनिङ गरिने उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएको छ ।

कोहलपुर नगरपालिका समग्र विकासको लागि डिजिटल सिकाइमा आधारित गुणस्तरीय शिक्षामा जोड दिने, सहज स्वास्थ्य सेवाका लागि नागरिक पहुँचको सुनिश्चितता, कृषि पेशालाई आधुनिक र व्यवसायिक बनाउने, पूर्वाधार विकासलाई पर्यावरणमा आधारित विपद् व्यवस्थापन, सामाजिक, न्यायपूर्ण, समावेशी तथा समतामूलक समाज निर्माण र विभिन्न तहका सरकार र निजी क्षेत्रसँगको समन्वय, सहकार्य र साझेदारी अभिवृद्धि गर्ने, सुशासनयुक्त, सदाचारी, पारदर्शी र प्रविधिमा आधारित सेवा प्रवाह र प्रविधिमैत्री, सूचना तथा ज्ञानमा आधारित व्यवथापन गरिने उल्लेख गरिएको छ ।

आर्थिक विकासको लागि नगरक्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरू, गैरसरकारी संघसंस्थासँग समन्वय गरी सामाजिक कार्यमा लगानी गर्न प्रोत्साहन गर्ने कार्यलाई निरन्तरदा दिइने भएको छ । स्थानीयस्तरमा लघु तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्न मागका आधारमा कार्यक्रम सञ्चालन गर्ने, विभिन्न निकायबाट व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिलाई एड्भान्स तालिमको साथै प्रविधिको सहयोग गरिने उल्लेख छ ।
साथै वैदेशिक रोजगारबाट प्राप्त रकमको सदुपयोग र उत्पादनमूलक क्षेत्रमा लगानी प्रोत्साहन गर्न वित्तीय साक्षारता कार्यक्रम सञ्चालनको कार्यलाई निरन्तरता र नागरिकको जीवनस्तर सुधार गर्न आम्दानी, रोजगारी बढाउन निजी क्षेत्रसँग साझेदारी गरेर रोजगारीको वातावरण सृजना गरिने भएको छ ।

कृषिको आधुनिकरण, व्यवसायीकरण र यान्त्रीकरणमा जोड दिँदै उत्पादन र उतपादकत्वमा वृद्धि गरिने नगर प्रमुख आचार्यले बताए । विभिन्न वडाहरूमा उत्पादन हुने बालीहरूको पहिचान गरी पकेट क्षेत्र निर्धाण गर्न पहल गर्ने, नागरिकलाई कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता दिइने र कृषिमा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइने उनले उल्लेख गरे । पशु सेवातर्फ कोहलपुर–९ दुग्ध वितरण आयोजनाको परिसरमा ‘पाउडर प्लान्ट’ स्थापना गुरुयोजना कार्यान्वयन गर्न मन्त्रालयसँग समन्वय गर्ने, उत्पादन र उत्पादकत्व वृद्धिका लागि कृत्रिम गर्भाधन कार्यक्रम, पशु सुत्केरी भत्ता कार्यक्रमलाई निरन्तरता दिनुका साथै दूध र मासु उत्पादन वृद्धिका लागि किसानलाई उन्नत घाँसको बीउ वितरण तथा प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।

रोजगारी प्रवद्र्धन गर्न ‘मिसन रोजगारी अभियान’ सञ्चालनमा ल्याउने, युवालाई रोजगारीको लागि सीपमूलक तालिम, श्रमको सम्मान गर्न ‘श्रमको सम्मान कोहलपुर नगरको अभियान’ कार्यक्रम सञ्चालन र गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम सञ्चालन गरिने भएको हो ।

यस्तै माध्यमिक तहका सबै कक्षा कोठाहरूमा ‘स्मार्ट डिजिटल बोर्ड’ जडान गरिने, बृहत् विज्ञान प्रयोगशाला स्थापना गरिने, शिक्षक, विद्यालय कर्मचारी र अभिभावकको क्षमता विकासको लागि ‘शैक्षिक तालिम केन्द्र स्थापना’ गरिने भएको छ । उत्कृष्ट शिक्षक छनोट, शिक्षक अभाव हुन नदिन ‘शिक्षक बैंक’, अपेक्षित सिकाइ हासिल गर्न ‘शैक्षिक सामग्री बैंक’, कमजोर बालबालिकाका लागि ‘बाल संरक्षण कोष’ स्थापना गरिने जनाइएको छ ।

नीति तथा कार्यक्रममा शिक्षालाई पहिलो प्राथमिकता दिइएको छ । साथीबाट सिक्ने साथीलाई सिकाउने, पढ्दै कमाउँदै कार्यक्रम निरन्तरता दिने र हरित विद्यालय अभियान कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । ‘राष्ट्रका लागि खेलकुद स्वास्थयका लागि खेलकुद’ भन्ने मूल नारालाई आत्मसात् गर्दै कोहलपुर तेह्र बिगाहामा प्याराफिट सहितको फुटबल रंगशाला निर्माण कार्यलाई पूर्णता दिने र खेलकुद क्षेत्रबाट प्रतिनिधित्व गरी जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई उचित सम्मान र पुरस्कार प्रदान गर्न कार्यविधि निर्माण गरिने भएको हो ।

सबै विद्यालय र वडामा खेलकुद पूर्वाधार र खेल मैदान निर्माण कार्य अघि बढाइने र राष्ट्रपति रनिङ शिल्ड, मेयर कप, उपमेयर कप छात्रा क्रिकेट, गोल्डकप प्रतियोगिता, म्याराथन र रात्रिकालीन क्रिकेट लगायत खेलकुदलाई व्यवस्थित रूपले सञ्चालन गरिने उल्लेख छ । यस्तै सञ्चार क्षेत्रको संस्थागत विकास, प्रोत्साहनका लागि सञ्चार नीतिलाई कार्यान्वयनमा ल्याइने, विगतमा स्थापना गरिएका सूचना केन्द्र थप प्रभावकारी बनाइने र संसथागत विकास, नयाँ पत्रकार उत्पादन, पत्रकारहरूको क्षमता विकासका लागि कार्यशाला, अभिमुखीकरण र लेखनवृत्तिसँगै पालिकाको समग्रता विकास र समृद्धि झल्काउने गरी पुस्तक प्रकाशनका लागि प्रबन्ध मिलाइने बताइएको छ ।

आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहँुच सुनिश्चित गर्दै स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ र गुणस्तरीय बनाइने भएको छ । समुदायस्तरमा गरिने शिविरका लागि ‘स्वास्थ्य शिविर कोष’ स्थापना गरिने, ३० वर्षदेखि माथिका सबै महिलाहरूको निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिने, शून्य मातृ मृत्युदर अभियान सञ्चालन गर्ने र सर्पदंश केन्द्रको व्यवस्था मिलाइने उल्लेख छ ।

भवन निर्माण गर्दा भूकम्पीय जोखिम न्यूनीकरण गर्नेतर्फ ध्यान दिँदै भवन आचारसंहिताको पूर्णपालना, विपद् जोखिम र व्यवस्थापनमा प्रत्यक्ष योगदान पुग्ने आयोजनालाई प्राथमिकता दिइने भएको हो । व्यावसायिक भवन बनाउँदा पार्किङ स्थल सुनिश्चत गर्नुपर्ने उल्लेख छ । नीति तथा कार्यक्रममा लैंगिक समानता तथा सामाजिक समावेशीकरण, भाषा, कला, साहित्य र संस्कृति, पूर्वाधार तथा सहरी विकास, वन तथा वातावरण, विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, कानुन मानवअधिकार र न्यायिक समिति र सुशासन तथा संस्थागत विकाससम्मका योजनाहरू समावेश गरिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ८ गते आइतबार