सुदूरपश्चिममा रकम उल्लेख नगरिएका योजना धेरै



शेरबहादुर ऐर,कैलाली
‘कैलालीको गोदावरी नगरपालिकास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइनेछ’ बिहीबार संघीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२÷८३ को सार्वजनिक बजेट भाषणको बुँदा नम्बर १६३ मा उल्लेख छ । तर, स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विनियोजित रकम भने उल्लेख छैन् ।
‘कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट रंगशाला, काठमाडौँको मूलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला रंगशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट स्टेडियम निर्माणका लागि ४२ करोड विनियोजन गरिएको छ’ बुँदा नम्बर १९६ मा उल्लेख छ । तर, वर्षौँदेखि फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन हुन्छ कार्यान्वयन हुँदैन । यो घोषणा बजेटमै सीमित हुन्छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कञ्चनपुरको दैजीमा लगानी बोर्डमार्फत आधुनिक औद्योगिक क्षेत्र स्थापना गरिने बताए । कञ्चनपुरलाई औद्योगिक क्षेत्रको हब बनाउने उद्देश्यले पहिलोपटक ०५२ मा त्यहाँ औद्योगिक क्षेत्र स्थापनाको प्रस्ताव भएको थियो । करिब १० वर्षअघि ०७२ साल चैत १ गते मन्त्रिपरिषद्ले दैजीमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । औद्योगिक क्षेत्र बनाउने मन्त्रिपरिषद् निर्णयको करिब पाँच वर्षपछि २०७७ फागुन १० गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट औद्योगिक क्षेत्रको शिलान्यास गरिएको थियो ।

बजेटमा सुदूरपश्चिमका अधिकांश पुराना योजना परेका छन् भने वर्षाैँदेखि अलपत्र योजनाको निर्माण सुरु गर्ने पनि उल्लेख गरिएको छ । सरकारले अत्तरिया–खोड्पे–दार्चुला सडकलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने भएको छ । सो सडक खण्डको विस्तृत अध्ययन सम्पन्न गरी आगामी वर्षबाट स्तरोन्नति सुरु गरिने अर्थमन्त्री पौडेलले बताए । ३१५ किलोमिटरको सो सडक अहिले सिंगल लेनको छ । साँघुरो सडक भएको हुँदा दार्चुलाको यात्रा निकै खतरापूर्ण छ ।

यसैगरी, महाकाली करिडारको ब्रम्हदेव–झुलाघाट–तुसारपानी खण्डको स्तरोन्नति र तुसारपानी–टिंकर खण्डको ट्रयाक खोलिने अर्थमन्त्री पौडेलले बताए । उनले पूर्वपश्चिम राजमार्गअन्तर्गत गड्डाचौकी–अत्तरिया खण्ड आगामी वर्ष स्तरोन्नति सुरु गरिने बताए । अर्थमन्त्री पौडेलले खुटिया–दीपायल द्रुतमार्ग स्तरोन्नति गर्न पनि बजेट विनियोजन गरेको बताए ।
यसैगरी, कञ्चनपुरमा सुख्खा बन्दरगाहा निर्माण सुरु गरिने अर्थमन्त्री पौडेलले बताए । त्यहाँ रुख कटानको काम सुरु भइसकेको छ । यस्तै डडेल्धुरामा विमानस्थल निर्माणका लागि विस्तृत अध्ययन गर्ने योजना पनि बजेटमा छ ।

सुदूरपश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटन पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताए । उनले आगामी आर्थिक वर्षमा रामारोशन, बडीमालिका र बुढीनन्दा पर्यापर्यटन पदमार्ग निर्माण सुरु गरिने बताए । कर्णाली नदीमा ¥याफटिङ सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने अर्थमन्त्री पौडेलले बताए ।

सरकारले आगामी वर्ष बझाङको मष्टा र साइपाल गाउँपालिकामा पर्ने २१० मेगावाटको चैनपुर सेती आयोजना निर्माण सुरु गर्ने जनाएको छ । अर्थमन्त्री पौडेलले कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजनाको विस्तृत अध्ययन इञ्जिनियरिङ डिजाइन सम्पन्न गरी लगानीको ढाँचा यकीन गरिने बताए । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआर तयार गरी निर्माण कार्य अघि बढाउन अग्रसरता लिइने बजेटमा उल्लेख छ ।

सरकारले कैलालीको दोदोधारादेखि भारतको बरेलीसम्म ४०० केभी अन्तरदेशीय विद्युत् प्रशासरण लाइन निर्माण गर्ने भएको छ । यसैगरी, दार्चुलाको चमेलयादेखि भारतको जौलजीबीसम्म २२० केभी अन्तरदेशीय प्रशारणलाई अध्ययन गरी निर्माण सुरु गर्ने योजना पनि बजेटमा छ ।
यसैगरी, आयोजना निर्माण भई उत्पादन भएको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा खपत हुन थालेको दुई वर्षपछि नेपाल सरकारले रानीजमरा जमरा कुलरिया सिँचाइ आयोजनाको जलविद्युत्को आय सञ्चित कोषमा राख्ने भएको छ । २०८० माघ १६ गतेबाट उत्पादन सुरु गरेको आयोजनाले विद्युत् खरिद बिक्री सम्झौताको टुंगो नलागेपछि उधारोमा नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् बिक्री गर्दै आएको छ । आयोजनाले दैनिक ४.७१ मेगावाट जलविद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा पठाएको छ । यस्तै उक्त सिँचाइ आयोजनाको काम तीन वर्षभित्र सम्पन्न गर्ने बजेटमा उल्लेख छ ।
उनले डडेल्धुरा मेडिकलको भौतिक संरचना निर्माण गरिने जनाए । अर्थमन्त्री पौडेलले कर्णाली र महाकाली नदीमा नदी नियन्त्रण गर्नसमेत आवश्यक बजेट विनियोजन गरिएको बताए । सुदूरपश्चिम प्रदेशका यी आयोजनाहरु संघीय बजेटमा समेटिएको भएपनि कति बजेट विनियोजन गरिएको भन्ने कुरा अर्थमन्त्री पौडेलले उल्लेख गरेका छैनन् ।
उनले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मध्य तथा उच्च पहाडी जिल्लाका ८० स्थानीय तहमा उच्च मुल्यका कृषि बाली खेती गरिने पनि बताए । त्यसका लागि ८३ करोड विनियोजन गरिएको जनाए ।
बजेट वक्तव्यमा भनिएको छ – ‘निजी क्षेत्रसँगको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने छ । उच्च पहाडी र हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सुरक्षित पर्या–पर्यटन पदमार्गहरुको विकास गरिने छ । शुक्लाफाँटा–खप्तड, बर्दिया–रारा, लुम्बिनी–मुक्तिनाथ, सौराहा–गोसाईँकुण्ड, जनकपुरधाम–कालिञ्चौक, कोशीटप्पु–सगरमाथा र केचना–पाथिभरा पदयात्रा सञ्चालन गरिने छ । त्यसैगरी खप्तड, रामारोशन, बडिमालिका, बुढीनन्दा पर्या–पर्यटन पदमार्ग विकास गरिने छ ।’ उनले यो कार्यक्रममा बजेट विनियोजन भएको बताएपनि कति छुट्याएको भन्ने रातो किताब आएपछि थाहा हुने छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले बजेट राम्रो आएको बताउँदै भने, ‘सुदूरपश्चिमका केही महत्वपूर्ण कुराहरु समेटेको छ । केही नयाँ योजनामा पनि बजेट विनियोजन गरेको छ । चिसापानीदेखि लिएर बनबासासम्म बाटो बन्ने कुरा, गेटा मेडिकल कलेज लगायतका विषयहरु समेटेको छ । तर, बजेट के–कति विनियोजन गरियो भन्ने उल्लेख छैन ।’ उनले बजेट राम्रो भएपनि कार्यान्वयनको पाटोमा आशंका व्यक्त गरे ।

उनले भने, ‘बजेट कार्यान्वयको पाटो चुनौतीपूर्ण देखिन्छ । समयमै विनियोजन भएका बजेटलाई कार्यान्वयन गर्न आवश्यक कागजपत्र, कार्यविधि, ऐन, नियम नबन्दा जहिले फितलो देखिन्छ । बजेट राम्रो छ । समयमै कार्यान्वयन होस ।’

 

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ १६ गते शुक्रबार