बागेश्वरी मन्दिरको जग्गा हिनामिना : महन्तको ‘धर्मलोपको कार्य’



वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालको प्रसिद्ध शक्तिपीठ र ऐतिहासिक सम्पदा बागेश्वरी मन्दिरको व्यवस्थापनमा मन्दिरका महन्तको हानिकारक भूमिकामा मात्रै होइन् मन्दिरको जग्गा हिनाहिनामै संलग्नता रहेको पाइएको छ । बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले सार्वजनिक गरेको मन्दिरको जग्गाको अवस्था सम्बन्धिको छानबिन प्रतिवेदनले महन्तको भूमिकालाई ‘धर्मलोपको कार्य’ भनेको छ । २०७६ सालमा गठित सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले तयार गरेको बागेश्वरी मन्दिरको जग्गा हिनामिनासम्बन्धी प्रतिवेदनमा गुठीको नाममा रहेको ८४ बिघा १० कठ्ठा १० धुर जमिन व्यक्तिका नाममा दर्ता गराउनमा महन्तको भूमिकामा महन्तलाई दोषी देखाएको पाइएको छ ।

आयोगको उक्त प्रतिवेदनमा भनिएको छ, ‘बागेश्वरी मन्दिरको पूजा कार्य सञ्चालन गर्ने व्यक्तिलाई आयस्ताबाट पूजा कार्य चलाइ शेष कसरसम्म खाने भनी उल्लेख गरेको देखिएकोमा पछिल्लो समयमा आएर सो पूजाको काम गर्ने व्यक्तिले साविकदेखिको मन्दिरको आयस्रोतको रूपमा रहेको त्यहाँका पुजारी वा महन्तले आफ्ना नाममा दर्ता गराउने, बेचबिखनसमेत गर्ने र साविकदेखि चलिआएको बन्दोबस्तीको कार्य खण्डित हुने तवरले गुठीको जग्गा हिनामिना गर्ने अनाधिकार कार्य गरी मन्दिरको पूजाको कार्यलाई संकटमा पार्नेगरी धर्मलोपको कार्य गरेको देखिएको छ ।’

प्रतिवेदनको यस भनाइको सार हो, करमोहनाको जग्गाको आयस्ता मन्दिरको पूजा कार्य सञ्चालन गर्नका लागि खर्च गर्ने र बचेको आयस्ता पुजारीले उपभोग गर्नेगरी दिइएको थियो । तर, पुजारीले नै जग्गा आफ्ना नाममा गराए र अरु व्यक्तिका नाममा पनि गराउने अनधिकृत कार्य गरे । यो मन्दिरको पूजा सञ्चालनमै असर गर्ने कार्य भएकोले धर्मलोपको कार्य हो । बागेश्वरी मन्दिरको इतिहास केलाउँदा १३औँ शताब्दीमा भारत बलरामपुर राज्यमा राजा दीर्घविजय सिंहले मन्दिरको जीर्णाेद्धार गर्न र मन्दिर सञ्चालन गर्नका लागि करमोहना गाउँको जग्गा गुठी राख्ने व्यवस्था गरेका थाहा हुन्छ ।

यो कुरा २०७६ सालमा गठित सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले पनि बागेश्वरी मन्दिरको जग्गाका विषयमा छानबिन गरी पेश गरेको प्रतिवेदनमा उल्लेख छ । उक्त जग्गा कति थियो भन्ने कुरा विसं १९६८ को अठसट्ठाबाट खुल्छ । उक्त सठसट्ठाका अनुसार उक्त ९९ बिघा थियो । पछि २००५ सालको लगतमा उक्त जग्गा ९२ बिघा ७ कठ्ठा ११ धुर र हालको नापीअनुसार ८४ बिघा १० कठ्ठा १० धुर रहेको देखिन्छ ।

तर, विसं २०५७ साल ७ महिना १६ गते उक्त जग्गामध्ये ९ बिघा १९ कठ्ठा ५ धुर महन्त हरिहरनाथ योगीका नाममा र ३ बिघा १० कठ्ठा साढे ६ धुर चन्दननाथ योगीका नाममा रैतान नम्बरी कायम हुने गरी मालपोत कार्यालयले गरेको निर्णयलाई जाँचबुझ आयोगको प्रतिवेदनले दूषितरूपमा गलत मनसायबाट भएको साथै त्रुटिपूर्ण, कानुन र न्यायविपरीत देखिन आएको भनेको छ ।

यसैगरी, करमोहनाकै बाँकी जमिन २०२७, २०२८ सालमा तत्कालीन भूमि प्रशासन कार्यालयबाट भएका निर्णयमा परम्परालाई पालना गर्ने र मालपोत तिर्नेगरी बागेश्वरी गुठीको नाम कट्टा गरी मठका सञ्चालक र विभिन्न व्यक्तिका नाममा कायम गरेको पाइएको पनि प्रतिवेदनमा उल्लेख छ । तर, ती निर्णय मिसिलहरू खोजतलास गर्दा फेला पार्न नसकिएको र बागेश्वरी गुठीको जग्गा एकलौटी रूपमा गुठीका नाममा मात्र श्रेस्ता कायम हुनुपर्नेमा गुठीको रैतान नम्बरी जग्गासरह व्यक्ति समेतका नाममा खडा भइ हक हस्तान्तरण भएको पाइएको छ ।

प्रतिवेदनले गुठीको एक प्रकारको जग्गा अर्काे प्रकृतिमा गएमा साविक बमोजिम कायम गर्न सक्ने अधिकार गुठी संस्थान ऐन २०३३ को दफा ३९(१) मा रहेको भन्दै विवादित सम्पूर्ण जग्गाको दर्ता बदर गरी साविक बमोजिम गुठीको जग्गा नै कायम गर्न सरकारलाई सुझाव दिएको थियो । तर, सरकारले आयोगले दिएको सुझावअनुसार व्यक्तिका नाममा गएको जग्गा गुठीकै नाममा फिर्ता ल्याउन सकेको छैन । बागेश्वरी मन्दिर राजगुठी अन्तर्गत पर्दछ ।

यसका साथै यसरी जग्गा व्यक्तिका नाममा लैजाने निर्णय गर्ने गराउने व्यक्तिहरूउपर अख्तियार प्राप्त निकायबाट अनुसन्धान गरी कानुनी कारबाही गर्न पनि आयोगको प्रतिवेदनमा सुझाव दिइएको छ । आयोगको उक्त प्रतिवेदनपछि हाल करमोहनाको जग्गा रोक्का गरिएको अवस्था छ भने अख्तियारले पनि जग्गा हिनामिनामा संलग्नहरूका विषयमा छानबिन गरिरहेको छ । यसबारे बागेश्वरी मन्दिरका दुवै महन्तलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

मन्दिरले चर्चेकै जग्गाको छैन् दर्ता श्रेस्ता 

करिब एक हजार वर्ष पुरानो इतिहास बोकेको, हिन्दु धार्मिक मान्यतामा सतिदेवीको जिब्रो पतन भएको स्थान मानिने र एक शक्तिपीठको रूपमा मान्यता रहेको बागेश्वरी मन्दिर रहेको स्थाननै लालपुर्जाविहीन छ भन्दा अचम्म लाग्न सक्छ । तर, वास्तविकता यही हो ।

नेपालकै एक ऐतिहासिक महत्व बोकेको र व्यवस्थित सहर बनाउने उद्देश्यसहित बस्तीको विकास गरिएको सहरको सबैभन्दा महत्वपूर्ण सम्पदा रहेकै जग्गाको लालपुर्जा अहिलेसम्म बन्न सकेको छैन । यति मात्रै होइन विसं २०२५ सालसम्म बागेश्वरी गुठीको नाममा करिब ९९ बिघा पाँच कठ्ठा १४ धुर जमिन रहेकोमा हाल खजुरा खुर्दमा तीन बिघा ११ कठ्ठा र परशपुरमा तीन कठ्ठा एक धुर गरी करिब तीन बिघा १४ कठ्ठा जग्ग्गा मात्रै बागेश्वरी मन्दिरका नाममा छ । बागेश्वरी मन्दिर रहेको स्थानमा एक बिघा १८ कठ्ठा जमिन रहेकोमा उक्त जमिनकै लालपुर्जा मन्दिरको गुठीका नाममा छैन ।

बागेश्वरी गुठी व्यवस्थापन समिति उक्त जग्गा बागेश्वरी मन्दिरका नामा नापी भएको र पुर्जा लिने प्रक्रियामा रहेको बताउँछ । समितिका सचिव गोपाल अधिकारी अहिले बागेश्वरी मन्दिरको जग्गाको विषयमा विवाद रहेको र अख्तियारले छानबिन पनि गरिरहेकोले ढिलाइ भएको मालपोत कार्यालयले भनाइ रहेको बताउँछन् ।

२०७६ सालमा गठित सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले पनि बागेश्वरी मन्दिरले चर्चेको जमिनको दर्ता श्रेस्ता दिन सरकारलाई सुझाव दिएको थियो । समितिले फिल्डबुकमा बागेश्वरी मन्दिरको नाम रहेको तर दर्ता श्रेस्ता कायम नभएको उल्लेख गर्दै भूमि सुधार तथा मालपोत कार्यालय बाँकेलाई श्रेस्ता कायम गर्न निर्देशन दिन नेपाल सरकारलाई सुझाव दिएको थियो । उक्त समितिले प्रतिवेदन बुझाएको करिब ६ वर्ष भइसक्दा पनि सरकारले जग्गाको दर्ता श्रेस्ता दिन सकेको छैन ।

२०७४ सालमा गठित बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले पनि उक्त जग्गाको दर्ता श्रेस्ता कायम गर्ने काम पूरा गर्न सकेन । जग्गाका सम्बन्धमा समितिले विवरण संकलन गर्नेबाहेक अरु उल्लेखनीय काम गर्न सकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ १२ गते सोमबार