प्रधानाध्यापकहरूका लागि क्षमता विकास तालिम



कोहलपुर ।

बाँकेको कोहलपुरमा सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत प्रधानाध्यापकहरूका लागि क्षमता विकास तालिम सुरु भएको छ । कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाले आयोजना गरेको तालिमको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले उद्घाटन गरे ।

तालिमलाई सिकाइ र उपयोगीपूर्ण बनाउन उनले सुझावसमेत दिए । सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरूलाई एकैथलोमा राखेर तालिम गर्दा एक अर्काप्रति सिकाइ आदानप्रदान हुने र यसले गुणस्तरीय शिक्षामा सकारात्मक प्रभाव पार्ने उने विश्वास लिए । वार्षिक परीक्षा सकिएको र आगामी योजनाका लागि नीति तथा कार्यक्रम बनाउने तयारी भइरहेका बेला आयोजना गरिएको तालिमले कोहलपुरमा शैक्षिक गुणस्तरमा आवश्यक सुझावसमेत प्राप्त हुने उनले विश्वास लिए ।

उनले परीक्षा प्रणाली व्यवस्थित गर्ने, शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्ने सवालमा भूमिका निर्वाह गर्न प्रधानाध्यापकहरूलाई आग्रह गरे । ‘यहाँ सामुदायिक र संस्थागत गरी दुवै क्षेत्रका प्रधानाध्यापकहरू सहभागी हुनुभएको छ,’ उनले भने, ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा एकआपसमा समान धारणा बनाउने र राम्रा अभ्यासहरू सबैले एक आपसमा कार्यान्वयन गर्ने वातावरण बन्नु पर्छ ।’ प्रधानाध्यापकहरूको भूमिका विद्यालय प्रशासन सुधारमा मात्रै सीमित नभएकाले विद्यालय बाहिरको वातावरण र समाज सुधारमा पनि केन्द्रित हुनुपर्नेमा नगर प्रमुख आचार्यको जोड छ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले विद्यालयको शैक्षिक गुणस्तर, भौतिक सुधार, प्रशासनिक सुधारका सवालमा प्रधानाध्यापकहरूको महत्वपूर्ण भूमिका हुने भएकाले त्यसमा आफूलाई अब्बल बनाउनु पर्नेमा जोड दिए । विद्यालय व्यवस्थित बनाउन जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।

सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विकले शैक्षिक विकास कोहलपुर नगरपालिकाको पहिलो प्राथमिकताको विषय रहेको बताए । उनले सबै क्षेत्रको विकास आवश्यक भएपनि शैक्षिक विकास सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गरे । त्यसैले कोहलपुर नगरपालिकाले शैक्षिक हबको परिकल्पना गर्दै आएको पनि उनको भनाइ छ ।

शुक्रबारदेखि सुरु भएको तालिममा विद्यालयको शैक्षिक पाठ्यक्रम, व्यवस्थापकीय क्षमता, प्रधानाध्यापकहरूको काम कर्तव्य र जिम्मेवारी लगायतका विषयमा विज्ञहरूबाट प्रशिक्षण प्रदान गरिने कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाकी शाखा अधिकृत शिला गौतमले जानकारी दिइन् । तालिममा शिक्षा शाखा प्रमुख रामबहादुर हमाल, शिक्षा समन्वय इकाइ प्रमुख धनुसुदन चौलागाई, शिक्षा विज्ञ जीतबहादुर शाह, शिक्षा अधिकृत रविलाल मिजार, शिक्षकहरू ऋषिराज शर्मा र दिलिप ओलीले प्रशिक्षण दिनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ १० गते शनिबार