कोहलपुर (बाँके) ।
भरतपुर महानगरपालिका चितवन र मुड्केचुला गाउँपालिका डोल्पाबीच भगिनी सम्बन्ध कायम भएको छ । दुई पालिकाबीच आपसी सहकार्य र विकासका लागि नयाँ अवसर सृजना गर्ने उद्देश्यसहित भगिनी सम्बन्ध कायम गर्नेसम्बन्धी समझदारी पत्र – २०८२ मा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा भरतपुर महानगरपालिकाको तर्फबाट नगर प्रमुख रेणु दाहाल र मुड्केचुला गाउँपालिकाको तर्फबाट अध्यक्ष दत्तबहादुर शाहीले हस्ताक्षर गरेका छन् । यस्तै, समझदारी पत्रमा भरतपुरका उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका साथै मुड्केचुलाकी उपाध्यक्ष दुदा रोकाया र प्रमुख प्रशासकीय अधिकृत रेशम महताराले पनि हस्ताक्षर गरेका छन् ।
कृषिको प्रवद्र्धन, पर्यटन विकास, शिक्षाको गुणस्तर वृद्धिका साथै सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित आठ बुँदे समझदारी भएको दुवै पालिकाले जनाएका छन् । समझदारी पत्रमा भरतपुर महानगरपालिका र मुड्केचुला गाउँपालिकामा रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व र विशेषताका आधारमा दुवै स्थानीय तहबाट प्रचारप्रसार गरिने उल्लेख गरिएको छ । यस्तै दुवै पालिकामा उत्पादित मौलिक कृषि उपजलाई एक आपसमा बजारीकरण गर्न सहयोग गरिने उल्लेख छ ।
कृषि र पशुपालनका क्षेत्रमा आपसी अनुभव आदानप्रदान गर्दै दुवै पालिकाबीच सहकार्य गर्ने सहमति भएको छ । यस अन्तर्गत, भरतपुरले कृषिमा गरेको सफल अभ्यासलाई मुड्केचुलामा हस्तान्तरण गर्ने तथा मुड्केचुलाका उत्पादनलाई भरतपुरको बजारमा पु¥याउने योजना बनाइएको छ । यसैगरी, दुवै स्थानीय तहले उद्यमशीलता वृद्धि गरी आर्यआर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्यमशीलताको विकास गरिने जनाइएको छ । दुवै स्थानीय तहले विकासमा आफ्ना सफल अभ्यासहरुलाई आदानप्रदान गरी सफल अभ्यासहरुको अवलम्बन गर्नका लागि प्राविधिक सहयोग आदानप्रदान गरिने उल्लेख गरिएको छ ।
समझदारी पत्रको सातौँ बुँदामा भनिएको छ, ‘विशिष्ट विकास आयोजनाको सञ्चालन तथा कार्यान्वयनका लागि दुवै स्थानीय तहबाट संयुक्त रूपमा मिलेर आपसी सहयोग आदानप्रदान गरी सञ्चालन गर्ने कार्यमा सहयोग गरिनेछ ।’ यसैगरी गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता तथा शिक्षाको क्षेत्रलाई समय सापेक्ष बनाउनका लागि दुवै पालिकाले सहयोग आदानप्रदान गर्ने र दुवै पालिकाको संयुक्त लगानीमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने खालका परियोजना सञ्चालन गरिनेछ ।
भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दाहाले आफ्नो फेसबुकमा दुवै पालिकाबीच ऐतिहासिक रूपमा सम्बन्ध विस्तार भएको उल्लेख गरेकी छन् । समझदारी पत्रमा हस्ताक्षर गर्ने क्रममा दुवै पालिकाका प्रमुखहरूले यसलाई दीर्घकालीन विकासका लागि महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेका छन् । मुड्केचुलाका प्रमुख प्रशासकीय अधिकृत रेशम महताराले भने, ‘भरतपुरसँगको सहकार्यले हाम्रो गाउँपालिकाको समग्र विकासलाई गतिशील बनाउने विश्वास लिएको छु ।’









प्रतिक्रिया दिनुहोस्