नेपालगन्ज (बाँके) ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ स्थित नौबस्ता बाल सुधारगृहमा रहेका कानुनी विवादमा परेका बालकहरू (बालबन्दी-बालबिज्याइँकर्ता)का लागि तीन महिने अङ्ग्रेजी भाषा सिकाइ तालिम सञ्चालन गरिएको छ ।
अधिकारवादी संस्था एड्भोकेसी फोरम नेपालले नौबस्ता बाल सुधारगृह नौबस्ता बाँकेसँगको सहकार्यमा ४० जना कानुनी विवादमा परेका बालकहरू (बालबिज्याइँकर्ता)का लागि शुक्रबारदेखि तीन महिने अङ्ग्रेजी भाषा सिकाइ कक्षा सञ्चालन गरेको एड्भोकेसी फोरमका लुम्बिनी संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
बालकहरूको माग बमोजिम उनीहरूको पढ्न पाउने अधिकारको सम्मान गर्दै शैक्षिकस्तरमा अभिवृद्धि गरि क्यारियर बनाइ असल नागरिक बन्ने र थुनामुक्त भएपछि समाजमा पुर्नस्थापनामा सहयोग मिलोस् भन्ने उद्देश्यका साथ अङ्ग्रेजी कक्षा सञ्चालन गरिएको एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।
अङ्ग्रेजी भाषा कक्षाले बालकहरूको शैक्षिकस्तर अभिवृद्धिमा मद्दत पुग्ने विश्वास गरिएको बताए । एड्भोकेसी फोरमले बालन्यायका क्षेत्रमा गरेको कार्यहरूको बारेमा चर्चा गर्दै गौतमले सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । तालिमको सहजीकरण अङ्ग्रेजी विषयका शिक्षक वीरबहादुर चौधरीले गर्ने गौतमले जानकारी दिए ।
प्रशिक्षक चौधरीले आफूले प्रभावकारी रूपमा अङ्ग्रेजी भाषा सिकाउने र यसका लागि बालकहरूको सक्रियता र जागरुकता हुनुपर्ने बताए । अङ्ग्रेजी भाषा सिक्ने मौका प्रदान गरेकोमा बालकहरूले तालिम आफूहरूका लागि निकै फलदायी हुने जनाउँदै तालिम सञ्चालन गरेकोमा एड्भोकेसी फोरमलाई धन्यवाद दिएका थिए ।
बाल सुधारगृह नौबस्ताका प्रमुख श्याम रानाले सुधारगृहमा धेरै बालबिज्याइँकर्ता भएपनि यो पहिलोचरणमा ४० जनालाई मात्र तालिम प्रदान गर्न सकिएको जानकारी दिए । उनले आगामी आर्थिक वर्षमा थप कार्यक्रम बनाएर अरु चरणमा पनि तालिम सञ्चालन गर्ने योजना बनाइएको बताए । सुधारगृहकै सभाहलमा दैनिक एक घण्टाका हिसाबले प्रभावकारी रूपमा अङ्ग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गरिने उनको भनाइ छ ।
सुधारगृहका अनुसार शनिबारसम्म त्यहाँ १७२ जना बालबिज्याइँकर्ताहरू रहेका छन् । उनीहरूलाई दुई वटा ब्लकमा राखिएको छ । २२ जनालाई कारागारको एउटा ब्लक र १५२ जनालाई सुधारगृहकै अर्को एउटा ब्लकमा राखिएको छ । कारागारको ब्लकमा रहेका २२ जनालाई दुई वटा कोठा र सुधारगृहको ब्लकमा रहेका १५२ जनालाई १० वटा कोठामा राखिएको सुधारगृहले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्