कर्णालीमा ७ वर्षमा २३० किलोमिटर सडक कालोपत्रे



कर्णाली प्रदेश सरकार स्थापना भएको ७ वर्षको अवधिमा २३० किलोमिटर सडक कालोपत्रे गरिएको छ भने २ हजार ८४४ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको तथ्यांकअनुसार ७ वर्षको अवधिमा कर्णालीले ७०० किलोमिटर खण्ड स्मिथ सडक र झण्डै ३ हजार किलोमिटर माटे अर्थात् नयाँ सडक खनिएको हो ।

नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेश सरकार स्थापना भएको ७ वर्षको अवधिमा २३० किलोमिटर सडक कालोपत्रे गरिएको छ भने २ हजार ८४४ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको तथ्यांकअनुुसार ७ वर्षको अवधिमा कर्णालीले ७०० किलोमिटर खण्ड स्मिथ सडक र झण्डै ३ हजार किलोमिटर माटे अर्थात् नयाँ सडक खनिएको हो । यस्तै ४ दर्जनजति सडक पुल निर्माण भई कर्णाली प्रदेशका लाखौँ जनता लाभान्वित भएको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७७-७८ देखि २०८०-८१ सम्म प्रदेशमा कुल ३ हजार ६३८ किलोमिटर सडक सञ्जाल विस्तार भएको छ । त्यसमा १७३ किलोमिटर कालोपत्रे र ६२० किलोमिटर ग्राभेल तथा २ हजार ८४४ किलोमिटर धुलाम्य सडक खनिएको हो । भौगोलिक रूपमा विकट रहेको कर्णालीमा सडक सञ्जाललाई पहिलो प्राथमिकतामा राखेर काम गरेपनि सडकहरू नागरिकको सहज पहुँचमा भने छैनन् । जथाभाबी डोजरे विकासले विकाससँगै विनास पनि निम्त्याइरहेको छ । यस्तै अव्यवस्थित सडक विकासले दुर्घटनाको जोखिम बढाउनुका साथै कर्णालीमा बर्सेनि सयौँ मान्छेले ज्यान गुमाइरहेका छन् ।

सडक गुरुयोजना नहुँदा योजना छनोट तथा प्राथमिकीकरण कार्य पनि वैज्ञानिक तथा पारदर्शी हुनसकेन । मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार सडक सञ्जाल गुरुयोजना निर्माण गरी त्यसैको आधारमा सडकहरूको प्राथमिकीकरण तथा योजना निर्माण गर्ने थिती बसाल्नसके योजना निर्माण कार्य पनि पारदर्शी तथा वस्तुगत हुने देखिन्छ । सीमित स्रोत साधनको पनि अधिक्तम र प्रभावकारी रूपमा उपयोग हुने उनले बताए ।

तथ्यांकअनुसार ७९ वटा स्थानीय तह रहेको कर्णालीका ३ वटा स्थानीय तहमा सडक सञ्जाल पुगेको छैन । यस्तै हुम्ला जिल्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन । ४६ स्थानीय तहको केन्द्रसम्म त कालोपत्रे सडक नै बनेको छ । मन्त्रालयको तथ्यांकअनुसार प्रदेशभर २८२ वटा प्रदेश राजमार्ग तथा प्रदेश सडकहरू छन् । प्रदेश राजमार्ग मात्रै १०३ वटा छन् भने प्रदेश सडक १७९ वटा रहेका छन् । प्रदेश राजमार्गको सञ्जाल २ हजार ८७७ किलोमिटर छ भने प्रदेश सडक सञ्जाल ३ हजार ८० किलोमिटर छ ।

जथाभाबी सडक खन्न नदिन ‘गुरुयोजना’

अध्ययन नै नगरी जथाभाबी सडक खन्दा कर्णालीमा दुर्घटनाहरू बढ्न थालेपछि कर्णाली सरकारले सडकसम्बन्धी गुरुयोजना बनाएको छ । सडक आयोजनाहरूलाई वैज्ञानिक र वस्तुगत बनाउन प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना बनाएको हो । जसको उद्देश्य व्यवस्थित सडक विकास र दुर्घटना न्यूनीकरण रहेको छ । सडक गुरुयोजनामा कर्णालीका सडकहरूलाई दुई प्रकारमा विभाजन गरिएको छ ।

जसमा प्रदेश लोकमार्ग अन्तर्गत प्रदेशको राजधानीसँग वा राष्ट्रिय लोकमार्गसँग प्रदेश भित्रका जिल्ला सदरमुकाम, महत्वपूर्ण बजार क्षेत्र, पर्यटकीय स्थान वा अन्य महत्वका स्थानहरूलाई जोड्ने सडक निर्माणमा प्राथमिकता दिने तयारी छ । यस्तै केन्द्रीय सडक सञ्जालमा नपरेका २ वा २ भन्दा बढी राष्ट्रिय लोकमार्गहरू जोड्ने सडक, २ वा २ भन्दा बढी स्थानीय तहहरू जोड्ने सडक र प्रदेश सरकारले निर्णय गरेका प्रदेश गौरवका सडकहरूलाई प्राथमिकतामा राखिएको छ ।
यस्तै प्रदेश मार्ग अन्तर्गत स्थानीय पालिका केन्द्रलाई जिल्ला सदरमुकाम वा प्रदेश लोकमार्ग वा राष्ट्रिय लोकमार्ग वा अन्तर्राष्ट्रिय सीमानासँग जोड्ने सडक र प्रदेश सरकारबाट प्रदेश मार्ग भनी तोकिएका सडक निर्माणलाई प्रदेश सरकारले प्राथकिता दिनेछ ।

यसअघि गुरुयोजनाका अभावमा सडक आयोजनाको छनोट तथा प्राथमिकीकरण कार्य वैज्ञानिक तथा पारदर्शी हुन सकेको थिएन । अब सडक सञ्जाल गुरुयोजनाकै आधारमा सडकहरूको प्राथमिकीकरण तथा योजना निर्माण गर्ने प्रणालीको विकास गरिनेछ । त्यसो गरेको खण्डमा योजना निर्माण कार्य पारदर्शी तथा वस्तुगत हुने र सीमित स्रोत साधनको अधिकतम र प्रभावकारी रूपमा उपयोग हुने अपेक्षा छ ।

संविधानमा दिएको अधिकारलाई प्रयोग गर्दै कर्णाली प्रदेशको प्रदेश लोकमार्ग तथा प्रदेश सडकको वैज्ञानिक व्यवस्थापनको लागि गुरुयोजना बनाइएको हो । क्षेत्रीय सन्तुलनसहित समावेशी आर्थिक विकासका लागि प्रादेशिक विकास योजना अन्तर्गत दिगो सामाजिक–आर्थिक विकास रणनीति र कार्यक्रमहरू तर्जुमा गर्न गुरुयोजनाले महत्वपूर्ण सहयोग गर्ने अपेक्षा सरकारले लिएको छ ।

प्रादेशिक सडक सञ्जाल गुरुयोजनाले प्रादेशिक सडक सञ्जालमा रहेका सडकको प्राथमिकीकरणका आधारमा मध्यकालीन लगानी योजना बनाउने उल्लेख छ । उक्त गुरुयोजना कर्णालीको दोस्रो पञ्चवर्षीय योजनामा आधारित रहेर बनाइएको हो । विद्यमान स–साना तथा टुक्रे आयोजनामा बजेट विनियोजन गर्ने प्रकृया तथा प्रचलनलाई निरुत्साहित गर्न, सडक तथा पुल निर्माण र मर्मत सुधारको आधार निर्माण गर्न र सडक तथा पुलको लगानी योजना, योजना प्राथमिकीकरण तथा लगानी सम्मेलन गरी वैदेशिक सहयोग भित्र्याउने आधार तय गर्न यो गुरुयोजनाले काम गर्नेछ ।

गुरुयोजनाको आधारमा प्राथमिकतामा आधारित योजना प्रणाली विकास गर्ने, प्रादेशिक सडक सञ्चालनको विकास र स्तरोन्नति गर्ने, हरित तथा उत्थानशील सडक संरचना निर्माण गर्ने, सडकको दिगो व्यवस्थापन सञ्चालन तथा मर्मत सम्भार गर्ने र आधुनिक तथा नवीन प्रविधिसहित यातायात पूर्वाधारको विकास गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख २३ गते मंगलबार