भाषण पत्रकारिताले खोजमूलक पत्रकारिता कमजोरः प्रमुख आयुक्त आचार्य



श्यामलाल पोखरेल,बुटवल : राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा.सुरेश आचार्यले अहिलेको पत्रकारिता सजिलो पत्रकारिता भएको बताएका छन् । खोजमूलक भन्दा पनि भाषणमूलक पत्रकारिता बढेको बताए ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजना र नमस्ते लुम्बिनी मिडिया प्रालिको सहकार्यमा सोमबार तिलोत्तमामा आयोजित कार्यक्रममा बोल्दै भाषण पत्रकारिताले खोजमूलक पत्रकारिता कमजोर देखिएको बताए ।भाषण पत्रकारिता सजिलो पत्रकारिता भएको भन्दै उनले भने, ‘एक दुई जना नेता बोल्छन्, क्यामरा, मोबाइलले खिच्यो र रेकर्ड ग¥यो अनि समाचार बनायो । नेताका भाषण लेख्न पनि सजिलो, नेताले पनि त्यस्तै मन पराउने गजब र सजिलो पत्रकारितामा हामी लाग्यौँ खोज पत्रकाािरता हराउँदै गयो ।’ समाजलाई सही प्रकारले सुसूचित गर्ने दायित्व पत्रकारहरुको भएको उल्लेख गर्दै उनले मर्यादित र जवाफदेही पत्रकारिताका लागि खोजमूलक पत्रकारितामा बढी ध्यान दिन पत्रकारहरुलाई सुझाव दिए ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका डा. आचार्यले सूचनाको हकको विषयमा बोल्दै भने, ‘सूचनाको हकलाई टेकेर पत्रकारहरुले सूचना मागेर समाचार लेख्नुपर्ने हो, तर त्यस्तो देखिएन ।’ उनले सूचनाको हक जनताको पहुँचसम्म पुराउने दायित्व राज्यको भएको बताउँदै सरकारलाई पारदर्शी बनाउने र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने विषयमा पत्रकारहरुले सही प्रकारले समाचार लेख्नुपर्ने बताए ।
राज्य र राज्यका सार्वजनिक निकायहरुले सहज रुपमा सूचना दिन नमान्ने बताउँदै सूचना नदिए कानुनी प्रकृया अनुसार सूचना माग्नु पर्ने र त्यसो गर्दा पनि सूचना दिन आलटाल गरे राष्ट्रिय सूचना आयोगलाई जानकारी गराउन उनले आग्रह गरे ।
सार्वजनिक सरोकार राख्ने कार्यालयका सूचना अधिकारी र सूचना अधिकारी नभएका कार्यालयको हकमा कार्यालय प्रमुखले सूचना दिन नमाने प्रचलित कानुन अनुसार दण्ड जरिवाना गर्न सकिने भएकाले त्यसतर्फ पत्रकारहरुले पत्रकारिताका ऐन, कानुन र सूचनाको हकबारे अध्ययन गर्न आग्रह गरे ।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले पत्रकारिता निष्पक्ष र विश्वासिलो हुनुपर्ने बताउँदै मुलुकको परिवर्तनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेकाले अबका दिनमा पनि मुलुक बनाउने विषयमा पत्रकारहरुको भूमिका अहम रहने बताए ।

पत्रकारितामा नयाँ पुस्तालाई जोड्नु पर्ने भन्दै उनले भने, ‘पत्रकार र जनप्रतिनिधि एउटा गाडाका दुई पाङ्ग्रा भएकाले तिलोत्तमा नगर सरकार पत्रकारहरुसँग सहकार्य गरेर काम गर्न तयार रहेको छ ।’तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरी चौधरीले पत्रकारिता विश्वासिलो र मर्यादित हुनुपर्ने बताउँदै पत्रकारितामा पत्रकारहरुले राजनीति घुसाउन नहुने बताइन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले पत्रकारितामा नयाँ पुस्ता आउन छाडेको बताउँदै यस विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले मिडियाले समाजलाई सकरात्मक सन्देश दिनुपर्ने बताउँदै मिडिया र पत्रकारहरुसँग साझेदारी गरेर काम गर्न सकिने बताए । नमस्ते लुम्बिनी मिडिया प्रालिका अध्यक्ष चण्डी बस्यालको अध्यक्षता र सन्जु पौडेलको सञ्चालनमा भएको कार्यक्रममा पत्रकारहरुले सूचनाको हकको विषयमा आआफ्ना धारण राखेका थिए ।
सरोकारवाला निकायहरुसँग समाचारका लागि सूचना माग्दा सहजै नदिने र प्रक्रियागत रुपले सूचना माग गरिए राजनीनिक दलका नेताहरुको ज्याक लगाएर सूचना नदिने गरेको पत्रकारहरुले गुनासो गरेका थिए । त्यसको प्रतिउत्तर दिँदै सूचना आयोगका प्रमुख आयुक्त आचार्यले सूचना रोक लगाउने र नदिनेहरुविरुद्व राष्ट्रिय सूचना आयोगलाई खबर गर्न सुझाव दिए ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख १६ गते मंगलबार