वीरेन्द्रनगर : नेपाल पत्रकार महासंघ सुर्खेतको नेतृत्वमा पत्रकार र सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता ४–४ गोलको बराबरीमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुर्खेतले आफ्नो ३४औं स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता वीरेन्द्रनगरस्थित नवनिर्मित कर्णाली प्रदेश रंगशालामा भएको थियो । मैत्रीपूर्ण खेलमा पत्रकार र व्यवसायीहरुले ४–४ गोलको बराबरीको खेल खेलेका हुन् । पहिलो हाफ २–१ ले पछाडि परेको पत्रकार महासंघले दोस्रो हाफमा ३ गोल गर्न सफल भयो । खेलको शुरुवाती ७ मिनेटमैं उद्योग वाणिज्य संघले पेनाल्टीको अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन । त्यसको २ मिनेपछि राजु पाण्डेले १ गोलगर्दै टोलीलाई अग्रता दिलाए ।
खेलको १७औं मिनेटमा पुनःउद्योग वाणिज्य संघका अजय गुरुङले एकगोल थप्दै खेललाई २–० को अग्रता दिलाए । खेलको २२औं मिनेटमा पत्रकार नन्दराम जैशीको पासलाई सदुपयोग गर्दै पूर्ण सार्कीले पहिलो गोल फर्काए । ६० मिनेटमा झारिएको खेलको पहिलो हाफमा दबाबमा रहेको पत्रकार महासंघ दोस्रो हाफको शुरुवाती ८ मिनेटमै गोल गर्न सफल भयो । पत्रकार नन्दराम जैशीको पासलाई सदुपयोग गर्दै पत्रकार मधुवन विसीले टोलीलाई अग्रता दिलाउन २ गोल फर्काए । विसीले टोलीलाई ३–२ को स्थितिमा पुर्याए । एक गोलको अग्रताले हौसिएको पत्रकारको टोलीले खेलको ४८ औं मिनेटमा पुन एक गोल गर्न सफल रह्यो ।
खेम बुढाले मिल्डफिल्डबाट उत्कृष्ट गोल गर्दै टोलीलाई ४–२ को अग्रता दिलाउन सफल भए । त्यसपछि केही दबाबमा रहेको उद्योग वाणिज्य संघले खेललाई पुनः सन्तुलित बनाउन सफल भयो । निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफको अन्तिम ४ मिनेटमा उद्योग वाणिज्य संघले पेनाल्टीमार्फत एक गोल गर्यो । पहिलो पेनाल्टीमा चुकेको उद्योग वाणिज्य संघको तर्फबाट मिनराज थापाले बललाई जालीमा चुमाए । खेलको अन्तिममा उद्योग वाणिज्य संघको तर्फबाट राजु पाण्डेले एक गोल गर्दै टोलीलाई बराबरीमा पुर्याउन सफल भएका थिए ।








प्रतिक्रिया दिनुहोस्