क्यान्सरसँग लड्दै अरुलाई सीप बाँडिरहेकी रत्ना



गणेश रावत,कोहलपुर : कालो सिल्की परेको कपाल । चाउरी पर्न थालेको निधार । हँसिलो र उज्यालो चेहरा । यही चेहरामा लुकेका छन्, रत्ना सार्कीका संघर्ष र दुःखहरु । कोहलपुर नगरपालिका–५ की सार्की एक संघर्षशील र उदारणीय पात्र हुन् । उमेरले उनी ३९ वर्षकी भइन् । हरेक दिन समाजमा केही गरेर देखाउने उनको मनमा हुटहुटी छ । उत्तिकै छ जोश र जाँगर पनि । क्यान्सर रोगले विगत लामो समयदेखि उनी पीडित छन् । तर, उनको आत्मबल भने सामान्य मानिसहरु भन्दा फरक छैन् । उनी विगत ९ वर्षदेखि क्यान्सरसँग लडिरहेकी छन् । उनले क्यान्सरका कारण अनेकौँ चुनौती र समाजबाट अपहेलित समेत हुनपरेको सार्की बताउँछिन् । क्यान्सर रोग लागेपछि कामको खोजिमा कोहलपुर र नेपालगन्जका गल्लीगल्ली नपुगेको कुनै ठाउँ नरेको उनको भनाइ छ ।


सार्कीलाई कामको लागि धेरै ठाउँहरुमा भाँैतारिनु प¥यो । तर, उनलाई कसैले पत्ताएनन् । उनले पनि कहिले हार खाइनन् । कारण थियो, क्यान्सर । क्यान्सर हुनुअघि उनी सिलाइकटाइ पसल नेपालगन्जको राँझामा सञ्चालन गर्थिन् । अचानक उनलाई क्यान्सर देखा परेपछि पसल बिक्री गरेर उनले उपचार गर्नतर्फ लागिन् । आर्थिक जोहो नहुँदा उपचार गर्न उनलाई समस्या पर्न थाल्यो । उनी काम खोज्न थालिन् । तर, कतै पाइनन् । क्यान्सर रोगको कारण उनलाई रोगीले के गर्न सक्छर भनेर काम नदिएको उनले दुःखेसो पोखिन् । घरखर्च चलाउन भएपनि उनी कामको पर्खाइमा थिइन् । उनको सीप भनेकै सिलाइकटाइ गर्ने रहेको उनले बताइन् । ढुंगा खोज्दा देउता मिले जसरी अहिले कोहलपुर नगरपालिका महिला बालबालिका उपकरण उपशाखाले सञ्चालन गरेको सिलाइकटाइ ४५ दिने तालिमको प्रशिक्षकको रुपमा काम गर्न थालेकी छन् ।

उनी भछिन् ‘धेरै ठाउँमा काम खोज्दा पनि बिरामी छ । क्यान्सर रोगीले के गर्न सक्छर भनेर कसैले काम दिएनन् । अहिले मलाई विश्वास गरेर कोहलपुर नगरपालिका महिला बालबालिका शाखाले सिलाइकटाइ प्रशिक्षकको रुपमा काम गर्न अवसर दिएको छ । धेरै धेरै धन्यवाद र केही गरेर समाजमा अवश्य देखाउने छु ।’ उनले विगत सम्झदैँ २०५७ सालमा पहिलोपटक नेपालगन्ज घरेलु कार्यालयबाट बेसिक सिलाइकटाइ तालिम लिने अवसर पाएको बताइन् । त्यस पश्चात पनि त्यसलाई निरन्तरता दिँदै लेभल २ सम्मको सिलाइकटाइ तालिम लिएको उनीसँग अनुभव छ ।


त्यस पश्चात आफूले सिकेको सीपलाई राँझामा सिलाइकटाइ पसल सञ्चालन गरेको उनले सुनाइन् । ‘सुरुवाती दिनहरुमा कपडा सिलाउँदा समाजमा तल्लो जातकोले मात्रै सिलाउने गर्छन् भन्थे, ‘उनले भनिन्, ‘तर, मैले कसैको कुरा नसुनेर जबर्जस्ती कपडा सिलाउन सिकेर व्यावसायिक रुपमा अघि बढेँ । केही समयदेखि स्वास्थ्यका कारण अहिले पसल बेचेर उपचार गरिरहेकी छु ।’

हुँदा दिनचार्य राम्रै बितेको उनको भनाइ थियो । पछि क्यान्सर भएकाले गत वर्षबाट पसल बेचेको पीडा सुनाइन् । अहिले घरपरिवार चलाउन र उपचार खर्च जुटाउन श्रीमान विदेश गएको बताइन् । ‘आर्थिक रुपमा कमजोर रहेकाले श्रीमान अहिले मलेसियामा हुनुहन्छ, मलाई त सबैले क्यान्सर लाग्यो मर्छ मर्छ भन्ने गर्छन्,’ उनले भनिन्, ‘तर, मैले हार मानेको छैन् । उनीहरुको लागि केही गरेर देखाउन मन छ ।’
नगरपालिकाले अवसर प्रदान गरेको बताउँदै उनले आफूले सिकेका सबै सीपहरु ४५ दिनसम्मको तालिममा सहभागीहरुलाई प्रदान गर्ने बताइन् । रोगको कुनै प्रवाह नगरी आफूले सिकेको कुरा अरुलाई सिकाउन पाउँदा खुसीको सीमा नरहेको उनले जनाइन् ।
आफ्नै घर नहुँदा अहिले कोहलपुर–११ दिदीको घरमा आएर बसिरहेको उनले जानकारी दिइन् । समाजले अहिले पनि नकारात्मक रुपमा हेर्ने गरेको बताउँदै उनले अब केही गरेर समाज परिवर्तन गर्ने मन रहेको बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख १२ गते शुक्रबार