खजुरामा पहिलोपटक साहित्य महोत्सव हुँदै



कोहलपुर (बाँके) ।

बाँकेको खजुरामा पहिलोपटक साहित्य महोत्सव हुने भएको छ । खजुरा प्रज्ञा प्रतिष्ठान, खजुरा बाँकेको आयोजनामा वैशाख ५ र ६ गते खजुरा साहित्य महोत्सव हुने भएको हो । साहित्य र संस्कृतिको सम्वद्र्धन गर्ने उद्देश्यले महोत्सव तथा साहित्य सङ्गम तथा चिन्तन कार्यक्रम आयोजना गरिएको खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.इन्द्रबहादुर भण्डारीले मिसन टुडेलाई जानकारी दिए ।

खजुरा प्रतिभा–२०८१ घोषणा, खजुरा प्रज्ञा सम्मान–२०८१, खजुरा प्रज्ञा प्रतिभा पुरस्कार वितरण र विचारपत्र-कार्यपत्र प्रस्तुत तथा छलफल कार्यक्रम महोत्सवका मुख्य आकर्षणका रूपमा रहेका छन् । उपकुलपति भण्डारीका अनुसार महोत्सवको पहिलोपटक वैशाख ५ गते महोत्सवमा स्वागत र खजुरा प्रतिभा–२०८१ चयन तथा काव्य सङ्गम हुनेछ । वैशाख ६ गते बिहान ८ बजे महोत्सवको उद्घाटन हुनेछ ।

खजुरा साहित्य महोत्सवको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन पश्चात विचारपत्र र कार्यपत्र प्रस्तुत हुनेछ । त्यसपछि खजुरा प्रज्ञा सम्मान–२०८१ वितरण, खजुरा प्रज्ञा सम्मान–२०८१, खजुरा प्रतिभा–२०८१ घोषणा, रचना वाचन, मायाको चिनो प्रदान गर्दै महोत्सवको समापन उपकुलपति भण्डारीले जानकारी दिए ।

‘खजुरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा पहिलोपटक महोत्सव आयोजना हुँदैछ । त्यसको पूर्वतयारीमा हामी जुटेका छौँ । महोत्सव ५ र ६ गते हुनेछ,’ उनले भने । खजुरा प्रज्ञा प्रतिष्ठानका सदस्य मणी अर्यालले खजुरा साहित्य महोत्सवमा पूर्वी इलामदेखि सुदूरपश्चिमको बझाङसम्मका कवि, लेखक र साहित्यकारहरूको उपस्थिति रहने जानकारी दिए । यस्तै बाँकेसहित खजुराका सम्पूर्ण नागरिकहरूको उल्लेख्य सहभागितामा महोत्सव सम्पन्न हुने उनले विश्वास व्यक्त गरे । उनका अनुसार महोत्सवको तयारी तीव्र पारिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख ३ गते बुधबार