शेरबहादुर ऐर । कैलाली ।
पक्की पुल छ । छेउमा माटो कटान भएको छ । माटोले धस्सिएको छ । दृष्य हो कैलारी गाउँपालिका वडा नम्बर ४ र ६ जोड्ने घुरहा पुलको । धस्सिएको माटोका कारण पुलमा यात्रा गर्ने मानिसले जोखिम मोल्नुपर्ने अवस्था रहेको छ ।
२०६५ सालमा निर्माण सुरु गरिएको सो पुल बन्न चार वर्ष लाग्यो । तर, एक वर्ष नबित्दै उक्त पुल नदीले कटान भएपछि अहिलेसम्म मर्मत हुन सकेको छैन् ।
‘संघीय, प्रदेश सरकार र स्थानीय तहको निर्वाचनका समयमा सो पुल बनाउने उम्मेदवारले प्रथम एजेण्डा बनाउँदै आउँछन् तर, चुनाव जितेपछि फर्केर आउँदैनन’ स्थानीय जितराम चौधरीले भने, ‘नेता आउँछन् । हेर्छन् र जान्छन् । बनाउने आश्वासन दिन्छन् । तर, अहिलेसम्म मर्मत कार्य कुनै सरकारबाट हुन सकेको छैन् ।’ संघीय तीन वटा निर्वाचन तथा प्रदेश र स्थानीय तहको दुई पटक निर्वाचन भइसक्दा समेत निर्वाचित उम्मेदवारले पुल बनाउनका लागि बजेट विनियोजन नगरेको बताए ।
उनले भने, ‘यो पुल बनाइदिने चुनावी एजेण्डामात्र बन्छ । संघीय सरकारमा निर्वाचित डिल्लीराज पन्त, प्रदेश सभा सदस्य रमेश धामी, प्रकाश देउवा लगायतका नेताले आएर हेर्छन् । बनाउने आश्वासन दिएर फर्कन्छन् तर, पुलका लागि कहिले बजेट हालिदिँदैनन् । स्थानीय सरकारलाई भन्दा बजेट छैन् भनेर पन्छिन्छ ।’
भास्सिएको माटोमा स्थानीय तहले एउटा फलाम पुलमाथि राखेर साना सवारी साधनलाई आवतजावत गर्नका लागि सहजता ल्याएको छ । तर डल्लप, कार लगायतका सवारी साधनलाई समस्या हुने गरेको उनको भनाई छ । उनले भने, ‘दैनिकजसो यो पुलमा यात्रा गर्ने यात्रु सवारी दुर्घटनामा पर्ने गरेका छन् । मान्छेको ज्यान लिने गरी सवारी दुर्घटना त भएको छैन् । अझै कटान बढीरहेको नियन्त्रण नभए यहाँ यात्रा गर्न जोखिम थप बढ्छ ।’
घुरहा नदीस्थित घुरहा पुलछेउमा परेको भ्वाङ टालटुल पारिए पनि जोखिम कायमै रहेको उनको भनाई छ । कैलारी गाउँपालिका–४ केगाउँको खल्ला र वडा नम्बर ६ को भगतपुर जोड्ने स्थानमा रहेको पुलछेउमा परेको भ्वाङ सरिया राखेर टालटुल पार्ने काम बाहेक अरु मर्मतमा कसैले ध्यान नदीएको स्थानीय बताउँछन् ।
नदीले धार परिवर्तन गरेपछि पुलको पूर्वतिर कटान भई पुल पहुँचमार्गमा भास्सिनु र भ्वाङ पर्दै गएको छ । स्याउला, माटो हालेर कामचलाउका लागि भ्वाङ टालिए पनि दुर्घटनाको जोखिम नटरेको कैलारी गाउँपालिका–६, धर्मापुरका रघुनाथ चौधरीले बताए ।
‘भ्वाङ परेर ओहोरदोहोरमा समस्या भएपछि टालटुल पार्ने कार्य भयो,’ उनले भने ‘जोखिम भने टरेको छैन । टालटुल पारेको माटो फेरि भासिएर जोखिम बढेको छ ।’ स्थानीयका अनुसार पुल निर्माण गर्ने बेला नदीको बहाव पश्चिमतिर थियो । त्यता पुल बनाउनका लागि निर्माण कम्पनीले डोजरले खनेर नदीको बहावलाई पूर्वतिर फर्काएको थियो ।
फर्काइएको बहावलाई पुल बनेपछि पुनः पश्चिमतिर गरिएन । जसले गर्दा यो समस्या निम्तिएको उनी बताउँछन् । ‘नदीको पानी निरन्तर पूर्वतिरबाट बग्दै उतै धार बन्यो,’ चौधरीले भने, ‘पहिले नदी बग्ने ठाउँमा अहिले खरैखर र रूख छ । नदी भने पूर्वतिर गइरहेको छ ।’









प्रतिक्रिया दिनुहोस्