कैलाली ।
पथरैया र कर्णाली नदीको तटीय क्षेत्रका ३२ समुदायमा बाढीबाट बच्चे उपायसम्बन्धी कृत्रिम नमूना अभ्यास गरिएको छ । कैलालीको टीकापुर र जानकी गाउँपालिकाका बाढीको जोखिममा रहेका ३२ समुदायलाई सचेत गराउने उद्देश्यले बाढीबाट आइपर्ने जोखिम, बच्ने उपायलगायत विषयमा नमूना अभ्यास गरिएको हो ।
नमूना अभ्यासका क्रममा बाढी आउँदा कसरी सुरक्षित हुने, उद्धार र सुरक्षितस्थानमा जाने तरिकालगायत विषयमा व्यवहारिक ज्ञान प्राप्त भएको स्थानीयले बताएका छन् । टीकापुर नगरपालिका, जानकी गाउँपालिका र प्राक्टिकल एक्सन बी ग्रुपको सहकार्यमा स्थानीय विपद् व्यवस्थापन समितिले नमूना अभ्यास गरेका हुन् ।नमूना अभ्यास तीन चरणमा आधारित भएर सर्तकता, चेतावनी तह, खतरा तहलगायत विषयमा गरिएको स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष फुलकुमारी चौधरीले जानकारी दिइन् ।
टीकापुरको वडा नं ६ भर्तापुरमा ८४ घर छन् । हरेक वर्ष बर्खामा यहाँ पथरैया नदीका कारण बाढीको जोखिम रहन्छ ।बाढी आएमा प्रभावितलाई बस्नका लागि दुई तले उच्च र सुरक्षित घर व्यवस्थापन गरिएको समितिका अध्यक्ष चौधरीले उल्लेख गरिन् । नमूना अभ्यासका क्रममा समुदायमा रहेका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका, बाढीका कारण दुर्घटनामा परेकालाई उद्धार गरेर ल्याइएको थियो । बाढी आउँदा समुदायमा गठन भएका खोज तथा उद्धार कार्यदल, प्राथमिक उपचार कार्यदलको सक्रियता पनि बढाइएको उनको भनाइ छ ।
समितिका अध्यक्ष चौधरीले नमूना अभ्यासमा सहभागी भए जसरी नै बाढीको समयमा एकअर्कालाई साथ दिन र उद्धारमा खटिन स्थानीयलाई आग्रह गरे । “आपत्कालीन अवस्थामा कसलाई र कहाँ सम्पर्क गर्ने भन्ने जानकारी दिएका छौँ । आपतकालिन नम्बर पनि सुरक्षित राख्नुपर्छ भन्ने सिकाइ भयो”, उनले भनिन्, “बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकको सुरक्षा पहिलो प्राथमिकता दिएर अभ्यास गरेका छौँ ।” स्थानीय आशादेवी चौधरीले विपद्का समयमा पूर्वसूचनामा ध्यान दिने, विपद् पूर्वतयारी, जोगिने उपाय, उद्धारमा खटिँदा ध्यान दिनुपर्ने कुरालगायत विषयमा जानकारी पाइएको बताइन् ।









प्रतिक्रिया दिनुहोस्