उनीहरू आकाशमा उड्दा मालाजस्तो भएर एउटा आकार निर्माण गरेर उड्छन् । उनीहरूले उड्दा क¥याङकुरुङ आवाज निकाल्छन् । उनीहरूका मालाजस्तै गाँसिने र क¥याङकुरुङ आवाज निकाल्ने स्वभावसँग जोडेर मानिसहरूले नेपालमा मालचरा वा क¥याङकुरुङ चरा भनेर सम्बोधन गर्दछौँ । मालचराको वैज्ञानिक नाम लिमोसा ल्याप्पोनिका हो । अंग्रेजीमा यिनिहरूलाई बार टेल्ड गडविट भनिन्छ । मालचराको खास प्रजनन् क्षेत्र साईबेरियाको तुण्ड्रा क्षेत्र हुन्, यो ठाउँ रुसमा पर्दछ । जहाँ उनीहरू मे देखि अगस्ट महिनासम्म रहन्छन् । तिनै चरा हिउँदमा भने न्युजिल्यान्ड, अस्ट्रेलिया, भारत तथा बंगलादेशसम्म पुगेका हुन्छन् ।
सागर गैरे ।
के तपाईँले कहिले सोच्नुभएको छ कुनै एउटा पंक्षीले बिना निन्द्रा र आराम, बिना आहारा कति हजार किलोमिटरको यात्रा गर्न सक्ला ? प्रकृति अनेक रहस्यमय वास्तविकताबाट निर्माण भएको छ । हरेकका आ–आफ्ना क्षमता र श्रृजनाहरू छन् । प्रकृतिको एउटा यस्तै रहस्यपूर्ण पंक्षी हो मालचरा । एउटा मालचरा आफ्नो बच्चाको लागि भोजन खोज्दै समुन्द्र पार गर्छ । हिमाल नाघ्छ । पठार र विशाल जंगलहरू छिचोल्छ । मालचराहरूले अबिरल, निरन्तर उडान भर्छन् । तर, त्यो केवल उडान होइन्, उसको आफ्नै अस्तित्वको लागि लडाइँ हो ।
प्रत्येक मालचराको कथा हो यो, प्रत्येक मालचराहरू प्रकृतिले दिएको भूमिका निभाउन अभिशप्त हुन्छन् । मालचराको आफ्नै कथा हुन्छ, आफ्नै संघर्ष र सयौँ मालचराको उस्तै उस्तै ईतिहास ।
आउनुस्, म तपाईँलाई यस लेखमा मालचराको संसारमा लैजानेछु । प्रकृतिको सबैभन्दा धेरै उड्ने पंक्षीहरूमध्ये एउटा मालचराले १० हजार किलोमिटरको लामो यात्रा गर्ने सामथ्र्य राख्छ, त्यो पनि केवल हावाको वहन दिशा, सूर्य र त्यसको किरणको प्रकाश र आफ्नै सहनशक्तिका आधारमा ।
आकाशको अनन्त फैलावटमा एक्लै थाकेर पनि नथाक्ने मालचराको उडान केवल शारीरिक होइन, जिवित अस्तित्व हुनुको संघर्षको प्रतीक हो । आफ्नो जीवन अस्तित्वको लागि कति ठूलो युद्ध लड्नुपर्छ ? यसको जवाफ मालचराले आफ्नो आप्रसनको उडानमार्फत दिने गर्दछ । बाँच्ने हो भने उड्नुपर्छ, नउड्ने हो भने मर्नको लागि तयार हुनुपर्छ भन्ने डार्विनको अनुसन्धानलाई सत्य सावित गर्ने शिक्षा यही चराबाट यथार्थ प्रमाणित हुन्छ ।
प्रकृतिले मालचरालाई सबैभन्दा कठिन पाठ्यक्रम दिएको छ । जब उडान सुरु हुन्छ । मालचराहरू झुन्ड झुन्डमा निक्लन्छन् । केही मालचरा पखेटा काटिएका, घाउ संक्रमण भएका वा शारिरीक विकास नभएका पनि हुन्छन् जो आफ्नो जन्मथलो साईबेरियामा छुट्छन् । जसले चाहेर पनि साईबेरिया छोड्न सक्दैनन् । जब साईबेरियाको तापक्रम माईनस ४० डिग्री भन्दा कम हुन्छ, उनीहरूको बाँच्ने सम्भावना पनि निकै कम हुन्छ । उनीहरूलाई अपवादको रूपमा छोड्ने हो भने साईबेरियामा रहेका सम्पूर्ण मालचराहरू यो कठिन आप्रसनमा सहभागी हुन्छन् । एउटा कठिन परीक्षामा सबैले आफूलाई समाहित गर्छन् । उनीहरूलाई थाहा छ यो परीक्षा उनीहरूले दिनैपर्छ र परीक्षामा पास हुनुपर्छ । जो परीक्षामा असफल हुन्छ उसले आफ्नै जीवनबाट समेत हात धुनुपर्छ ।
साईबेरियाको मैदानबाट उडेको मालचरा १० दिनपछि दक्षिण सागरमा बिचरण गरिरहेको हुन्छ । यही नै प्रकृतिको अदभूत लिला हो ।
मालचराको जीवन कथा
मालचरा हाँस प्रजातिका पंक्षी हुन् । उनीहरू आकाशमा उड्दा मालाजस्तो भएर एउटा आकार निर्माण गरेर उड्छन् । उनीहरूले उड्दा आवाज निकाल्छन् । उनीहरूका मालाजस्तै गाँसिने र क¥याङकुरुङ आवाज निकाल्ने स्वभावसँग जोडेर मानिसहरूले नेपालमा मालचरा वा क¥याङकुरुङ चरा भनेर सम्बोधन गर्दछौँ ।
मालचराको वैज्ञानिक नाम लिमोसा ल्याप्पोनिका हो । अंग्रेजीमा यिनिहरूलाई बार टेल्ड गडविट भनिन्छ । मालचराको खास प्रजनन् क्षेत्र साईबेरियाको तुण्ड्रा क्षेत्र हुन्, यो ठाउँ रुसमा पर्दछ । जहाँ उनीहरू मे देखि अगस्ट महिनासम्म रहन्छन् । तिनै चरा हिउँदमा भने न्युजिल्यान्ड, अस्ट्रेलिया, भारत तथा बंगलादेशसम्म पुगेका हुन्छन् ।
मे अगस्ट महिनामा त्यहाँको दिन निकै लामो हुन्छ । त्यतिबेला त्यहाँ मालचराको लागि प्रकृतिले तमाम खाद्यपदार्थहरू भेला गरिदिएको हुन्छ । जता हेर्यो त्यतै किटपतंग पाईन्छ, जसलाई मालचराले आहारा बनाउँछन् । उनीहरूले ओसिलो माटोमा घाँसपात जम्मा गरेर गुँड बनाउँछन् । पोथी मालचराले हरियो खैरो धर्का भएका २ देखि ४ वटासम्म अन्डा पार्छे । ओथारो बसेको २० देखि २२ दिनमा अन्डाबाट बच्चा कोरल्छन् । साईबेरियामा मानिस तथा शिकारी पक्षी जिवजन्तु कम हुन्छन् । बचेरा कोरल्न अनुकुल वातावरण हुन्छ मालचरालाई साईबेरियामा ।
मालचरा पंक्षीहरू झट्ट हेर्दा आकारमा ठूलो देखिएपनि यिनिहरूको तौल खासै धेरै हुँदैन । यिनिहरूको तौल सरदर ३०० देखि ४०० ग्रामसम्म हुन्छ । झट्ट हेर्दा यिनिहरूको शरीर लामो देखिन्छ । उनीहरूको चुच्चो पनि लामो हुन्छ जसले गर्दा सजिलै यिनिहरूले पानी र माटोमा आहारा खोज्न सक्छन् । शरीर र चुचोजस्तै यिनिहरूका खुट्टा पनि लामा हुन्छन् । पुच्छरमा काला धर्का वा पुरै कालो रंगको हुन्छ ।
यिनिहरूको प्वाँख गर्मीमा रातो खैरो र सेतो पेट हुन्छ भने हिउँदमा फुस्रो खैरो रंगका हुन्छन् । यिनिहरूको सरदर आयु १० देखि १२ वर्षको हुन्छ । उनीहरू अधिकतम् २३ वर्षसम्म बाँच्ने गरेको पाईएको छ । यिनिहरूका आँखा ठूला हुन्छन् । शरीर हेर्दा ठूलो देखिए पनि उनीहरूको तौल बढीमा आधा केजी जति मात्र रहन्छ । उनीहरूका हाड खोक्रा हुन्छन् । प्रकृतिको सबैभन्दा लामो उडानको लागि उनीहरूको शरीर विशेष क्षमताको निर्माण हुन्छ । उनीहरूले आफ्नै झण्डै पुरै जीवन नै यात्रामा बिताउने गर्छन् । उनीहरू कहिले हिमाल नाघिरहेका हुन्छन्, कहिले मैदानमाथी उडिरहेका हुन्छन् ।
मालचराको जीवन बुझ्न हामी मालचराको कुनै एउटा बचेराको बायोग्राफीलाई अध्ययन गर्न सकिन्छ । रुसको साईबेरिया पुरै घमाईलो छ । शिकारी जनावरको जोखिम धेरै कम छ । खानेकुरा प्रशस्त पाईन्छ । उनीहरूको ध्येय सकेसम्म बढी प्रोटिन खानु हुन्छ । उनीहरूले शरिरको तौल बढाउँछन् र यस क्रममा उनीहरूको शरिरमा अतिरिक्त बोसो जम्मा हुन पुग्छ । उनीहरूको पखेटा मजबुत हुन्छन् । मांसपेसी बलिया हुन्छन् र उनीहरूको मुटु उडानको लागि अनुकुलित हुँदै जान्छ । त्यसबेला उनीहरूको शरिरको मेटाबोलिज्म १० गुणासम्म बढ्छ ।
मालचराको एउटा जोडी प्रजनन्को उत्सवमा व्यस्त छ । उनीहरूले मे महिनामा अन्डा दिन्छन् । उनीहरूले पालैपालो अन्डालाई ओथारो बसेर सेक्छन् र अन्डाबाट बचेरा कोरल्छन् । पहिलो तीस दिन ती बचेराले आमाले खोजिदिएका किरा खान्छन् । उनीहरू शत्रुबाट बच्न लुकेर बस्छन् । तीन महिनापछि उनीहरूले आफ्नो खाना आफैँ खोजेर खान सक्ने हुन्छन् । उनीहरूले साईबेरियाको रमाईलो वातावरणमा निकै रमाईलो गर्छन् । विस्तारै विस्तारै साईबेरियाको मौसम बदलिँदै जान्छ । पाका र अनुभवी मालचराहरूले बुझ्छन की अब साईबेरिया उनीहरूको लागि अनुकुलको रहनेछैन् । उनीहरूले यात्राको तयारी थाल्दछन् ।
ती बचेराहरू ४–५ महिनाको उमेरमै यात्रा गर्नुपर्ने बाध्यतामा हुन्छन् । यात्रामा उसलाई उसकी आमाले सहयोग गर्छिन्, कसरी उर्जा बचत गर्ने भनेर । उसले हिमालय पार गर्दा अक्सिजनको अभाव महसुस गर्छ । तुफान र हुरिले सताउदा पनि उ नसुतेर ८–१० दिनसम्म लगातार उड्छ । उसले युवाअवस्थामै दुई तीनपटक साईबेरियादेखि समुन्द्रसम्मको दुरी नाप्दछ । यही क्रममा उसले आफ्नै झुन्ड वा अर्को झुन्डबाट प्रेमिका खोज्छ । सत्तरी प्रतिशत मालचरा आफ्नो जोडिलाई जीवनभर साथ दिन्छन् ।
उनीहरूले पनि आफ्ना बाबुआमाले जस्तै साईबेरियाको तुन्ड्रामा अन्डा पार्छन् र बचेरा कोरल्छन् । भनिन्छ कि उनीहरूले आफ्नो उमेरमा ७–८ पटक हिमाल नाघ्छन् । २ पुस्ता बच्चाहरूलाई जन्म दिन्छन् । १० वर्षको उमेरमा एकपटक उनीहरूको उड्ने गति कम भैइसकेको हुन्छ । हुनसक्छ, उनीहरू कुनै शिकारीको जालमा पर्न सक्छन्, तुफानको चक्रमा पर्न सक्छन् । उडानमा शरिरले साथ नदीन सक्छ र हुनसक्छ कुनै एउटा अन्कन्टार जंगलमा उनीहरू उड्दा उड्दै जमिनमा खस्दछन् र त्यहीँ उनीहरूको मृत्यु हुन सक्दछ ।
एक जोडि मालचराले जीवनमा १० लाख किलोमिटर उडेपनि प्रजनन् गर्न उनीहरूलाई साईबेरिया फर्कनैपर्छ । प्रकृतिको नियम, जोजहाँ जन्मियो त्यहीँ फल्ने हो । यिनिहरूको जीवनको सार पनि त्यहीँ हो । उनीहरूले कहिले पनि समुन्द्रतटमा अन्डा पार्दैनन् । समुन्द्रतटमा उनीहरूले आफ्ना सन्तानलाई हुर्काउँछन् । जब फाँटहरूमा वर्षात सुरु हुन्छ र जताततै पानीका जलाशय भरिन् थाल्छन्, त्यतिबेला साईबेरियाको मौसम न्यानो हुन सुरु हुन्छ । त्यहाँको हिउँ पग्लिन्छ । जमिनमा हरिया घाँस पलाएका हुन्छन् । फूल फूलिरहेका हुन्छन् । साईबेरियाको वातावरण साह्रै रमाईलो र सुरम्य बनिरहेको हुन्छ । मालचराहरू फेरि समुन्द्रबाट साईबेरिया तिर फर्किन थाल्दछन् ।
मानिसको लोककथामा मालचरा
नेपालमा मालचरालाई हिउँदे पंक्षी भनेर चिनिन्छ । धेरैले मालचरालाई शुभ संकेतको रूपमा हेर्दछन् । नेपालीहरू मालचरा आउँदा अब पानी पर्दैन, हिउँदे बाली स्याहार्दा वा हिउँदे तरकारी लगाउँदा हुने विश्वास गर्दछन् ।
मालचराले देवल मन्दिरलाई घुम्ने विश्वास गर्छन् कतिले । मालचरा नेपाली लोककथा र लोकगितहरूमा प्रेम र बिछोडको प्रतिकको रूपमा लिने चलन छ । कतिपय समुदायले मालचरालाई लक्ष्मीको बाहन मान्दछन् । नेपाली संस्कृतिमा मालचरा आशा हो । मालचराले हामीलाई सधैभर उचाईमा उड्न सिकाउने गर्दछ ।
मालचरालाई हरेक समुदायमा शुभ पंक्षिका रूपमा लिईन्छ । मालचरा जहाँ पाईन्छन् त्यो देश रुसमा मालचरालाई निकै महत्व दिइएको पाईन्छ । साईबेरियाली जनजातिहरूको विश्वास छ कि मरेका मानिसहरूको आत्मा मालचराको पिठमा सवार भएर आकाशतिर उडेर जान्छ । आज पनि रुसको याकुतिया क्षेत्रमा मालचरालाई शुभ संकेतका रूपमा मानिन्छ ।
एउटा प्रसिद्व साईबेरियाली प्रेम कथामा एउटा युवतीले आफ्नो प्रेमीलाई खोज्न मालचराको पछि लाग्छे । मालचराले उसलाई जहाँ हामी उड्छौँ त्यहाँ तिम्रो प्रेम पनि छ भनेर आश्वासन दिन्छन् । एउटा रुसी लोककथाका अनुसार मालचराहरूले आकाश देवतालाई मानिसहरूको लागि आशीर्वाद माग्न साईबेरियाबाट उड्छन् ।
विगतका वर्षहरूमा मालचराका झुन्ड हिउँदमा बिहानदेखि साँझसम्मै उत्तरबाट दक्षिणतिर लागेका देखिन्थे । हिजोआज त्यो सङ्ख्या निकै कम भएको छ । आजकल त मालचराको उडान देख्न पाउनु पनि दुर्लभ हुँदै गएको छ ।
जे होस् मालचराको मानव समुदायमा विशिष्ट स्थान छ । मानिसहरू तिनिहरूको उडानले हिउँद र गर्मी बीचको चक्र सुरु भएको विश्वास गर्दछन् । मालचरा सदियौँदेखि उडिरहेका छन् । त्यो पनि आफ्नै पौरखमा, आफ्नै बलमा । सायद यहीँ कारण हुनुपर्छ मानिसमा मालचराप्रती अगाध स्नेह छ । जीवन एक लामो यात्रा हो थाके पनि तिमिले उड्नै पर्छ । प्रकृतिका हरेक जीवलाई उसको गन्तव्य दिएको हुन्छ, जसरी मालचराले पाएका छन्, मानिसले पनि पाएको छ ।
संसारकै लामो ननस्टप उडान
मालचराले अलास्काबाट न्युजिल्यान्डसम्मको १२ हजार किलोमिटर यात्रा बिना आराम उडान गर्छन्, त्यो पनि १० देखि ११ दिनभित्रै । उनीहरूले उडान अघि शरिरको वजन दोब्बर पार्छन् । उनीहरूले शरिरमा भएको बोसो उडानको बेला उर्जामा परिणत गर्छन् । उनीहरूको दिमाग चुम्बकीय कम्पास जस्तो हुन्छ । उनीहरूले रातको सन्नाटामा समेत पृथ्वीबाट चुम्बकीय क्षेत्र र ताराको प्रकाशबाट मार्ग निर्धारण गर्दछन् ।
मालचराको बसाइँसराई प्रकृतिले बनाएको भोजन र प्रजनन्को जटिल चक्र हो । बचेरालाई खुवाउन प्रशस्त खानेकुरा पाइन्छ । जब बचेराहरू हुर्किन्छन्, त्यो क्षेत्र पुरै हिउँले ढाकिन सुरु हुन्छ । एकातिर चिसो बढ्छ, अर्कोतिर हिउँले खाद्यान्न खोज्न गाह्रो हुन्छ । त्यहीबेला पृथ्वीको अर्को ध्रुवमा समुन्द्रको वातावरण न्यानो हुन्छ र त्यहाँ प्रशस्त खानेकुरा पाईन्छ । मालचराहरू खानाकै लागि साईबेरियाबाट समुन्द्रतिर बसाइँ सर्छन् । र समुन्द्रबाट फेरि साईबेरियातिर फर्किन्छन् ।
बसाइँ सर्न मालचराले दुई प्रमुख उडान मार्ग प्रयोग गर्छन् । एउटा मार्ग हो पूर्वी एशियाली अस्ट्रेलिसियन फ्लाईवे । उनीहरू हिमाल नाघेर नेपाल हुँदै भारत बंगलादेश वा अस्ट्रेलियासम्म पुग्दछन् । अर्को हो अलास्का न्युजिल्यान्ड डाईरेक्ट रुट । यस रुटअन्तर्गत उनीहरू अलास्काबाट प्रशान्त महासागर पार गरेर सिधै न्युजिल्यान्ड पुग्छन् । यात्रामा उनीहरूले ८ हजार मिटर अग्ला हिमाल पार गर्नुपर्छ । जहाँ अक्सिजन कम हुन्छ । थकान वा हावा हुरिले समुन्द्रमा खस्ने जोखिम हुन्छ । मालचराहरू २ करोड वर्षदेखी यसैगरी उड्दै छन् ।
मालचराहरू घट्दो क्रममा छन् । सन् २०२२ मा अलास्काबाट उडेका एक हजार मालचराहरूमध्ये ६ सय मात्र न्युजिल्यान्ड पुगेका थिए । यात्रा पूरा नगरी ४ सय मालचराको मृत्यु हुनु एउटा पीडा हो । उनीहरूले आफ्नो परिवार वा आफन्तको झुन्ड बनाउँछन् । त्यो झुन्डमा सय दुई सयसम्म हुन्छन् । हावा र मौसम हेरेर साईबेरियाबाट झुन्ड झुन्डमा मालचराहरू उड्छन् र उड्दा उड्दै उनीहरूले यात्राको रणनीति बनाउँछन् ।
मालचरा अक्सर उचाईमा उड्छन् । मालचरा १ हजारदेखि ६ हजार मिटरसम्मको उचाईमा उड्छन् । उनीहरूले उड्दा उड्दै निद्रा पूरा गरेर आफ्नो थकान व्यवस्थापन गर्छन् । उनीहरूको एकतर्फी मस्तिष्क सक्रिय रहन्छ, निद्राको बेलामा पनि । उनीहरूले शरिरको बोसो उर्जामा खपत गर्छन् । केही दिनसम्म नखाएर पनि उनीहरूले आफ्नो उर्जा आफ्नै शरिरबाट प्राप्त गर्दछन् ।
अचम्म लाग्छ एउटा मालचरा ७ दिनसम्म नसुतेर केही नखाएर भोकभोकै उड्न सक्छ । त्यो केवल उनीहरूको शरिरको सीमामात्रै होईन मनको सहनशक्ती पनि हो । मालचरा आफ्नै शरिरलाई उर्जाको रूपमा खपत गर्छ । यसलाई अस्तित्वको लागि प्रकृतिले तोकेको आवश्यक कठिन निर्णयसँग जोडेर हेर्न सकिन्छ । मालचराको जीवनयात्रा वास्तवमै रहस्यमयी छ । मालचराहरू झुन्डमा बस्न रूचाउँछन् । तर उनीहरू प्रत्येकको यात्रा क्रममा आफ्नै जिम्मेवारी र गति हुन्छ । प्रत्येकले आफ्नो शक्ति खपत गरिरहेका हुन्छन् । प्रत्येक मलचरा एउटा युद्वको स्थितिमा हुन्छ । उनीहरूले एक अर्कालाई हेरेर आफ्नो हौसला कायम राख्छन् ।
यात्रामा यस अघि कहिल्यै नउडेका युवा मालचरा पनि यात्रामा हुन्छन् । उनीहरूलाई गन्तव्य कति टाढा छ भन्ने केही कुनै मेसो हुँदैन । फेरि पनि उडानमा उनीहरूको ठूलो जोस हुन्छ । ठूलो उत्साह हुन्छ । मालचरा लाईनमा उड्छन् । अक्सर उनीहरूले ‘भी’ आकार बनाउँछन् । अगाडिका दुई जना ‘भी’ आकारमा लाईन बनाउँछन् । उनीहरूको पछि लाईनमा अरु मालचरा हुन्छन् । अगाडि बस्नेले हावाको बेगलाई काट्छन् । उनीहरूलाई अलिक गाह्रो हुन्छ उड्न, पछाडी बस्नेलाई सहज ।
अगाडिका थाकेपछि पछाडि उडिरहेका मालचरा अगाडि आउँछन् र पालो दिन्छन् । पालो दिने मालचरा पनि अनुभवी हुन्छन् । मालचरा सामूहिक नेतृत्वमा विश्वास गर्छन् । मालचराले दैनिक १५ सय किलोमिटरसम्म यात्रा गर्दछन् । हावा कम लाग्दा शक्ति कम खर्च हुन्छ । उडान क्रममा एउटा मालचरादेखि अर्को मालचराको दुरि १ देखि ५ मिटरको फरकमा हुन्छ । यात्रामा ठूलो झुन्ड बनेपनि पछि त्यो सानो हुँदै जान्छ । अनुभवी मालचरा अघि हुन्छन् र युवा मालचराहरू जसले कहिल्यै यात्रा गरेका हुँदैनन् ती बीचमा हुन्छन् ।
मालचराहरू लगातार कराउँछन् । भनिन्छ, उनीहरूको आवाज रातको सन्नाटामा निकै टाढासम्म सुनिन्छ । यो आवाज त्यो झुन्डलाई एकताबद्ध गर्न, शिकारी बाजको आक्रमणबाट जोगिन सन्देश दिन, अन्धकारमा एक अर्कालाई पछ्याउन सजिलो होस् भन्नका लागि हो । अगाडि उड्ने मालचराको छाँया वा आवाजले पछिकालाई मार्ग निर्देशन गर्छ ।
मालचराहरूले पृथ्वीको चुम्बकीय क्षेत्र र ताराहरूको उज्यालोलाई आधार मानेर रातको समयमा पनि उडान भर्छन् । उनीहरूको लक्ष्य गन्तव्य पुग्नु हुन्छ । थकाई लाग्दा मौसम बिग्रँदा उनीहरू बाटोमा पर्ने नदी तालतलैया वा सिमसारमा विश्राम लिन्छन् । त्यो विश्राम उनीहरूको लागि अल्पकालिन हुन्छ । शक्ति सञ्चय हुनेबित्तिकै उनीहरूले फेरि यात्रा जारी राख्दछन् । मालचराको यात्रा कहिल्यै सहज हुँदैन् । हिमाल पार गर्ने क्रममा उनीहरूमाथी महाचिलले आक्रमण गर्ने जोखिम हुन्छ । त्यतिबेला उनीहरूको झुन्ड तितरबितर हुन सक्छ ।
भनिन्छ यात्रामा ३० प्रतिशत मालचराहरूले आफ्नो यात्रा पूरा गर्न सक्दैनन् । ती कुनै पनि शिकारी वा मौसम वा थकानले यात्रामै मर्दछन् ।
गन्तव्यः कुशल अवतरणपश्चात
मालचराहरूले उडानको क्रममा मानवबस्ती देख्छन्, सहर, पहाड, जंगल, नदी, समुन्द्र देख्छन् । मानिसले बनाएका सीमाहरू उनीहरूले चिन्दैनन् । उचाईको दृष्टिमा हरेक कुराहरू सामान्य लाग्छ । यी चराहरूलाई पनि लाग्दो हो ।
सृष्टिमा मालचराको अस्तित्व उनीहरूको अस्थायी बसाइँसराईसँग जोडिएको हुन्छ । उनीहरूसँग अगाडि बढ्नैपर्ने बाध्यता हुन्छ । यो यात्रा उनीहरूको लागि गर या मरको हुन्छ । उनीहरूले यात्रा गरे गन्तव्यतिर पुग्न भ्याउँछन्, नगरे नसके हिउँमा जमेर, समुद्रमा खसेर मर्नुपर्ने हुन्छ ।
जसै उनीहरू समुन्द्रको नजिक पुग्छन् उनीहरूले आफ्नो गन्तव्य देखेर मुस्कुराउँछन् । किन कि त्यो यात्रा सफल बनाउन उनीहरूले ज्यानको बाजी लगाएका हुन्छन् । समुन्द्रमा पुगेपछि उनीहरूले थकान भएको अवस्थामा १–२ हप्तासम्म आराम गर्छन् । उनीहरूले त्यो समय जंगल, दलदल या समुन्द्रमा बिताउँछन् । त्यहाँ हिलोमा पाईने किरा, माछा, सामुद्रिक वनस्पती खाएर आफ्नो शरिरको तौल पहिलेकै अवस्थामा फर्काउँछन् । उनीहरू समुन्द्रमा पुगेर पनि झुन्डझुन्डमा बस्छन् । शिकारीहरूबाट जोखिनका लागि हरदम सतर्क र चनाखो रहन्छन् । समुन्द्रमा मानिसबाट, कुकुर र अन्य पंक्षीबाट खतरा रहन्छ मालचरालाई ।
अहिले मालचराहरूको सङ्ख्या पृथ्वीमा निरन्तर रूपमा ओरालो लाग्दै गएको छ । मालचराको सङ्ख्या किन कम भैरहेको छ । दिनप्रतिदिन संकटापन्न अवस्थामा छन् । त्यसको कारण हो मानवीय क्रियाकलाप अर्थात् हाम्रो आनीबानी र व्यवहार । हामीले सिर्जना गरेको जलवायु परिवर्तन र आवास विनास । करोडौं वर्षदेखि उहीँ गति र अनुशासनमा बाँच्दै आएका यी उडानप्रेमी मालचराको जीवनलाई हामीले अब हस्तक्षेप गर्नु हुँदैन । उनीहरूको आकाशमा हामीले कब्जा गर्नु हुँदैन, त्यो अधिकार पनि छैन, किनकी उनीहरूले हाम्रो बाटो कहिल्यै छेकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्