वीरेन्द्रनगर ।
चैते दसैँको दिन घरमा खाना पकाउँदै गर्दा वीरेन्द्रनगर–१० बुदबुदी सुर्खेतमा गोलीले टिनको पाता छेडेर भान्सामा खसेको छ । शनिबार बिहान स्थानीय टिका रिजालसहित भान्सामा भएको बेला एक्कासी गोली घरभित्र खसेको हो ।
गोली कसले र किन चलायो भन्ने खुलेको छैन् । तर गोली चलाउनेलाई प्रहरीले खोजिरहेको छ । रिजालको घरमा खसेको गोलीले भान्सामा खस्दा प्लास्टिक र फिउस (आल्मुनियम) को बाटा समेत प्वाल परेका छन् । गोली पड्किएको आवाज आएपछि आफूहरू भागेको रिजालको भनाइ छ ।
अज्ञातस्थलबाट आएको गोलीका कारण स्थानीय त्रसित छन् । चैते दसैँ भएकाले हर्ष बढाईगरि पर्व मनाउने क्रममा गोली घरमा खसेपछि बुुदबुुदी टोलबासी त्रसित बनेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काका अनुसार नजिकैबाट गोली हानेको भए खोका पनि भेटिनुपर्ने हो । तर गोली खसेको घर आसपासमा खोज्दा खोका नभेटिएको उनले बताए ।
उनले भने, ‘यसबारे घटनास्थलमा पुगेको प्रहरीले थप अनुसन्धान थालिसकेको छ । तर गोली भेटिएको घर आसपास नजिकै हतियार पड्काएको हैन् । टाढै पड्काउँदा त्यहाँ खसेको अनुमान छ ।’
भेटिएको गोली एसएमजी, थ्रि नट थ्रि राइफल र एसएलआर हतियारमा लाग्ने हो । गोली भेटिएपछि गोलीको पहिचान र खसेको दिशा पत्ता लगाउन अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ । गोली कसले र किन चलायो ? हतियार राखेर घरमै बसेको त्यो व्यक्ति वा समूह को हो ? लगायतका विषयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान जारी राखेको छ ।









प्रतिक्रिया दिनुहोस्