धवलशमशेरलाई मत हालेका एमाले नेता भन्छन्ः ‘बाँकेबासीलाई राजा होइन, मल कारखाना चाहियो’



नेपालगन्ज ।

हाल प्रहरी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणा २०७९ को निर्वाचनमा राप्रपा र एमालेका साझा उम्मेदवार थिए । उनी पश्चिम नेपालको अग्रणी सहर नेपालगन्ज समेत पर्ने बाँके क्षेत्र नम्बर २ का जनप्रतिनिधि हुन् । गणतन्त्रको पक्षधर एमालेले गणतन्त्रका विरोधी व्यक्ति राणालाई आफ्नो समर्थन दिएर मतसमेत हालेको थियो । राणालाई समर्थन गर्ने निर्णयमा एमाले भित्रै असन्तुष्टि रहँदा रहँदै पनि राणाले निर्वाचन जितेका थिए ।

निर्वाचनमा डा. राणाले गरेको एउटा वाचा अहिले नेपालगन्जबासीहरूले स्मरण गरिरहेका छन् । अधिकांश मतदाता कृषक रहेको डुडुवा गाउँपालिका पनि पर्ने क्षेत्र नम्बर २ का मतदातालाई रिझाउन डा. राणाले आफ्नो घोषणापत्रमा मल कारखाना खोल्न पहल गर्ने उल्लेख गरेका थिए । तर, निर्वाचित भइसकेपछि डा. राणा राजासहितको हिन्दु राष्ट्र बनाउने एजेण्डामै अल्झिएका छन् । उनले आफ्ना अन्य वाचाहरूमा पहल कदमी लिएको र सरकारलाई दबाब दिएको नागरिकले महसुस गर्न नपाएको भन्दै राणाको आलोचना भइरहेको छ ।

यो आलोचना डा. राणालाई निर्वाचनमा समर्थन गरेको नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले पनि गरेका छन् । गुरुङले बुधबार नेपालगन्जमा पार्टीले आयोजना गरेको मोटरसाइकल ¥यालीपछिको कोण सभालाई सम्बोधन गर्ने क्रममा बोल्दै राणालाई निर्वाचनको समयमा जनतासँग गरिएको प्रतिबद्धता अनुसार मल कारखाना स्थापनाका लागि पहल गर्न अनुरोध गरेका थिए । ‘बाँकेबासीलाई राजा होइन मल चाहिएको छ । चुनावमा गरेको वाचाअनुसार मल कारखाना खोल्नका लागि पहल गर्नुहोस्,’ उनले भने ।

उनले राजालाई ‘मुर्ति चोर’को संज्ञा दिँदै मूर्ति चोरहरूले नेपाली जनताको भलो गर्न नसक्ने बताए । उनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने भन्दै जनताको अभिमत लोकतन्त्रप्रति छ भन्ने देखाउन ¥यालीको आयोजना गरिएको बताएका थिए ।

सभामा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शान्ति ढकालले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको भन्दै भ्रममा नपर्न चेतावनी दिइन् । उनले केही स्वार्थी समूहहरूको भीडमा लागेर पुरानो र मृत अवस्थामा पुगेको व्यवस्था फर्काउने गलत बाटोमा नलाग्न सबैलाई सचेत बनाइन् ।

राजसंस्थाका पक्षधरहरूले आफ्ना गतिविधिहरू तीव्र पारेपछि र काठमाडौँमा चैत्र १५ गते दुई जनाको ज्यान जानेगरी अराजक गतिविधि भएपछि सत्तारुढ एमालेले तय गरेको ‘शान्ति, सामाजिक सद्भाव र गणतन्त्रका पक्षमा सामाजिक जागरण अभियान’ अन्तर्गत मोटरसाइकल ¥याली आयोजना गरिएको जानकारी दिइएको छ । पार्टी केन्द्रले तय गरेको कार्यक्रमअनुसार बाँके एमालेले आयोजना गरेको मोटरसाइकल ¥याली नेपालगन्जको पासाङ ल्हामु रोडमा रहेको एमाले पार्टी कार्यालयबाट सुरु भई गणेशमान चोक, चारबाहिनी, सदरलाईन, सेतु विक चोक र पुष्पलाल चोक हुँदै विपी चोकमा पुगेर समापन भएको थियो ।

¥यालीमा जिल्लाका विभिन्न स्थानबाट आएका एमालेका कार्यकर्ताहरू सहभागी थिए । उनीहरूले राजावादी होसियार, विदेशी दलाल होसियार लगायतका नाराहरू लगाएका थिए । एमालेले देशका मुख्य मुख्य सहर तथा जिल्ला सदरमुकामहरूमा पनि यस्तो ¥यालीको आयोजना गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २१ गते बिहीबार