वीरेन्द्रनगर बजारमा सदरमुकाम नसर्नु अघि गोठिकाँडाबाटै प्रशासनिक काम गरिन्थ्यो । २०२३ सालअघि सदरमुकाम गोठिकाँडा नै थियो । उतीबेला निकै चहलपहल हुने गोठीकाँडा क्षेत्रमा फेरी मानिसको बसोबास तथा जग्गा किनबेचको चहलपहल बढेको छ । कुनै बेलाको प्रशासनिक केन्द्र रहेको गोठिकाँडालाई वीरेन्द्रनगर नगरपालिकाले फेरी पर्यटकीय क्षेत्र बनाउने योजनामा अगाडी बढाएको छ ।
नन्दराम जैशी । सुर्खेत ।
सुर्खेतको पुरानो जिल्ला सदरमुकाम वीरेन्द्रनगर नगरपालिका–१४ स्थित गोठिकाँडालाई पर्यटकीय हव बनाउने तयारी भएको छ । वीरेन्द्रनगर बजारमा सदरमुकाम नसर्नु अघि गोठिकाँडाबाटै प्रशासनिक काम गरिन्थ्यो । २०२३ सालअघि सदरमुकाम गोठिकाँडा नै थियो । उतीबेला निकै चहलपहल हुने गोठीकाँडा क्षेत्रमा फेरी मानिसको बसोबास तथा जग्गा किनबेचको चहलपहल बढेको छ ।
वीरेन्द्रनगरमा औलो उल्मूलन हुनुपूर्व यहाँ ठूलो बस्ती थियो । २०१९ सालमा वीरेन्द्रनगरमा औलो उन्मूलन कार्यालय स्थापना भयो । औलो उन्मूलन कार्यालय स्थापना भएर अभियान चलेपछि विस्तारै गोठिकाँडाको बस्ती उपत्यका झर्न थालेको इतिहास छ । वीरेन्द्रनगरमा २०२२ सालमा औलो उन्मूलन घोषणा भएसँगै २०२३ साल मङ्सिरतिरबाट गोठिकाँडा क्षेत्रका प्रशासनिक कार्यालयहरू उपत्यकामा स्थानान्तरण भएका थिए ।
त्यसयता यो क्षेत्र ओझेलमा पर्दै आएको थियो । कुनै बेलाको प्रशासनिक केन्द्र रहेको गोठिकाँडालाई वीरेन्द्रनगर नगरपालिकाले फेरी पर्यटकीय क्षेत्र बनाउने योजनामा अगाडी बढाएको छ । गोठिकाँडा क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न लागिएको नगर प्रमुख मोहनमाया ढकालले बताइन् । यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकियो भने आर्थिक विकास हुने उनको भनाइ छ ।
गोठिकाँडाको पर्यटकीय गुरुयोजना बनाएर काम गर्ने सोच बनाएको उनले बताइन् । गोठिकाँडाक्षेत्रलाई पर्यटकीय गतव्य बनाउन अहिले प्याराग्लाइडिङ, बटुक भैरबको मन्दिर निर्माण गरिएको छ भने ऐतिहासिक गढीको संरक्षण तथा पुर्ननिर्माणको पहल थालिएको छ ।
हिउँदमा पारिलो घाम ताप्न पाइने र गर्मीयाममा चिसो हावा चल्ने भएका कारणले सो क्षेत्रमा आन्तरिक पर्यटकको उच्च रोजाइमा छ । गोठिकाँडा क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर बाह्य पर्यटक ल्याउने लक्ष्य नगरपालिकाको छ ।
ऐतिहासिक महत्व बोकेको गोठिकाँडा गढीको संरक्षण गर्न पहल थालिएको छ । ऐतिहासिक महत्व बोकेको गढीमा नेपाली सेनाले संरक्षण गर्दै आएको छ । नेपाल एकीकरणको समयमा बहादुर शाहको पालामा विसं १८४८ मा गोठिकाँडा गढी निर्माण गरिएको बताइन्छ । पाँच कठ्ठा १३ धुर क्षेत्रफलमा गढी अवस्थित छ । गढी नजिकै बटुक भैरबको मन्दिर छ ।
संरक्षण र प्रचारप्रसारमा ध्यान नदिँदा ऐतिहासिक महत्व बोकेको गोठिकाँडा गढीको स्वरुप मासिँदै गएको छ । गढी क्षेत्रमा पहिले वरिपरि ढुङ्गाको पर्खाल र सेनाले लुकेर गोली हान्ने गराइएका पर्खालमा प्वाल अहिले पनि देखिन्छन् । तर पछिल्लो समय ति सबै पुरिँदै गएको वीरेन्द्रनगर नगरपालिका–१४ वडाध्यक्ष देवबहादुर रोकायले बताए । यसको संरक्षण, प्रचारप्रसार, उत्खनन र पुर्ननिर्माणका लागि यस क्षेत्रका मन्त्री, नेता, राजनीतिक दलका प्रतिनिधि, अन्य सरोकारवालासँग कुरा राखेपनि सोचे अनुसार काम नभएको उनको भनाइ छ ।
गढीको विषयमा अध्ययन गर्न पुरातत्व विभागबाट इन्जिनियरसहितको टोलीले अध्ययन गरेको वडाध्यक्ष रोकायले बताए । उनका अनुसार यस विषयमा पुरातत्व विभागबाट टोली आएर अध्ययन गरेर गएको छ । त्यस अध्ययनको निष्कर्षको आधारमा काम अघि बढ्छ । गोठिकाँडाको गढीलाई पुरातत्व विभागले हेरिरहेको छ । गढीलाई पुरानै स्वरूपमा फर्काउन नेपाली सेनामार्फत पुरातत्व विभागसँग कुरा भइरहेको वडाध्यक्ष रोकायले बताए । गढीको संरक्षणको विषयमा तत्कालीन गढी गाविस हुँदैदेखि छलफल सुुरु भएको हो । तर राज्यले यसको उत्खनन र पुनर्निर्माण गर्न सकेको छैन् । नेपाल एकीकरणका समयमा दैलेख राज्य जित्ने समयमा यो गढी बनाइएको हुनसक्ने अनुमान गरिएको छ ।
‘गढीको विषयमा अध्ययन र अनुसन्धान हुन आवश्यक छ । त्यहाँ उत्खनन गरे केही प्रमाण फेला पर्न सक्ने सम्भावना छ’ नगर प्रमुख ढकालले भनिन्, ‘गोठिकाँडा क्षेत्रलाई पर्यटकीय गुरुयोजना बनाएर अगाडी बढ्ने लक्ष्य छ । यो क्षेत्रबाट सुन्दर वीरेन्द्रनगर लगायतका अन्य क्षेत्र दृश्य सहजै अवलोकन गर्न सकिन्छ ।’
पुरातत्व विभागको अनुमति बिना पुनर्निर्माण गर्न सकिने अवस्था नभएका कारण तारबार गरेर संरक्षण मात्रै गरिएको नगर प्रमुख ढकालले बताइन् । शनिबार लगायतका बिदाका दिनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीय रणप्रसाद चालिसेले बताए ।
प्याराग्लाइडिङको राम्रो सम्भावना
वीरेन्द्रनगरको माथिल्लो भाग गोठिकाँडाबाट उपत्यकासम्म प्याराग्लाइडिङका लागि उपयुक्त स्थान मानिन्छ । सुर्खेतको वेलकम प्याराग्लाइडिङ प्रालिले जनशक्ति व्यवस्थापनका लागि बाबु एड्भेन्चर प्रालिसँग सहकार्य गरेर अहिले प्याराग्लाइडिङ गरिरहेको छ । प्याराग्लाइडिङका लागि उपयुक्त स्थान रोजेर जनशक्तिको व्यवस्थापनसहित सेवा सुरू गरिए पनि सोचेअनुसार व्यावसायिक बन्न नसकेको वेलकम प्याराग्लाइडिङ प्रालिका सञ्चालक पदमबहादुर शाहीले बताए ।
सुर्खेत प्याराग्लाइडिङ हव बन्न सम्भव छ भन्ने सन्देश दिन र विस्तारै यसलाई व्यावसायिक बनाउने योजनासहित बन्द भएको यो व्यवसाय ६ वर्षपछि फेरी सुरु गरेको उनको भनाइ छ । सुरुमा आशलाग्दो गरी आन्तरिक पर्यटक आएपनि सडक लगायत पूर्वाधारको अभावका कारण पछि सोचेअनुसार नभएको उनले बताए ।
‘सुर्खेतमा प्याराग्लाइडिङ सम्भावना अझै पनि भएकाले निरन्तर सञ्चालनमा राखिनेछ’ उनले भने, ‘सबै आन्तरिक पर्यटक यस्तो साहसिक पर्यटनमा चासो नदिने र बाह्य पर्यटक आउने क्रम नबढेकाले अपेक्षा अनुसार व्यावसायिक बन्न नसकेको हो ।’ गोठिकाँडादेखि वीरेन्द्रनगर उपत्यकाको दुरी नजिक भएकाले उडेर सिधै अवतरण गर्ने हो भने ५÷६ मिनेट मात्र समय लाग्ने गरेको छ । तर प्याराग्लाइडिङ चारैतिर घुम्दै अवतरण गर्ने हो भने २५ मिनेटसम्म लाग्ने गरेको छ ।
नेपाल पत्रकार महासंघ सुर्खेतले पनि ४ बुँदे गढी घोषणापत्र जारी गर्दै ऐतिहासिक गढी क्षेत्रलाई पर्यटकीय हवको रूपमा विकास गर्न नगरपालिकासँग अपिल गरेको छ । नगर उपप्रमुख निलकण्ठ खनालले गढी क्षेत्रको पर्यटकीय विकासका लागि सबैभन्दा पहिले पक्की सडक निर्माणको कामलाई जोड दिइएको बताए । सडक विस्तारपछि अन्य संरचनाको काम गरेर गढीलाई सुर्खेतकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाइने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्