कैलाली ।
कैलालीका १० क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भइरहेकोमा ऐश्वर्य बहुमुखी क्याम्पसको चुनावी चर्चा शीर्षमा छ । उक्त क्याम्पसमा ५ चैतमा हुने निर्वाचनका लागि तीन वटा विद्यार्थी संगठन मैदानमा उत्रिएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु र अखिल (क्रान्तिकारी) चुनावी मैदानमा छन् ।
नेविसंघले सभापतिमा दीपकराज भट्टलाई उम्मेदवार बनाएको छ । उपसभापतिमा मोहित धामी, सचिवमा देवेन्द्र बोहरा, कोषाध्यक्षमा सञ्जिताकमारी चौधरी र सहसचिवमा राजेन्द्र मडै उम्मेदवार छन् । नेविसंघले अन्य आठ जनालाई प्रत्यक्ष र आठ जनालाई समानुपातिक सदस्यका लागि पनि उम्मेदवार मैदानमा उतारेको छ ।
नेवि संघबाट सभापतिका उम्मेदवार भट्टले विद्यार्थीको हितमा २४ घण्टा नै खटिने एजेण्डा अगाडि सारेका छन् । स्ववियुमा नेवि संघको जित भए हरेक वर्ष दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता पनि उनको छ । शिक्षाको गुणस्तर वृद्धिका लागि मल्टिमिडिया कक्षाको सुरुवात गर्ने, विज्ञान संकायका विद्यार्थीहरूका लागि होम सेन्टरको व्यवस्था गर्ने, रोबोटिक्स कक्षा सुरु गर्ने, कम्प्युटर तथा साइन्स ल्याबलाई थप व्यवस्थित बनाउने, खेलकुद सामग्री सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता पनि नेवि संघले गरेको छ ।
अनेरास्ववियुले दिपेन्द्र भट्टलाई सभापतिमा उम्मेदवार बनाएको छ । उपसभापतिमा उमेश बम, सचिवमा प्रदीप खड्का, सहसचिवमा खगेन्द्र बुढा र कोषाध्यक्षमा जुनु चौधरी उम्मेदवार छन् । अन्य सदस्यका उम्मेदवार पनि छन् । अनेरास्ववियुले पनि आफ्ना एजेण्डा सार्वजनिक गरेको छ । शैक्षिक गुणस्तर सुधारका लागि नियमित कक्षा सञ्चालन, पाठ्यक्रम सुधार, पुस्तकालय तथा प्रयोगशालाको स्तरोन्नति गर्ने तथा विद्यार्थीलाई छात्रवृत्ति, यातायात सुविधा र छात्रावासको व्यवस्था गर्ने एजेण्डा अनेरास्ववियुले अगाडि सारेको छ ।
यता अखिल (क्रान्तिकारी)ले विकास बिष्टलाई सभापतिको उम्मेदवार बनाएको छ । उसले उपसभापतिमा प्रमेश डम्मरलाल मगर, सचिवमा सुनिलप्रसाद जोशी, कोषाध्यक्षमा रोशनी खड्का, सहसचिवमा शिखर खत्री र अन्य आठ जनालाई सदस्यमा उम्मेदवार बनाएको छ । क्रान्तिकारीले ३२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
विद्यार्थीलाई दक्ष र विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्नसक्ने बनाउन सीप तथा तालिम सञ्चालन गर्ने, त्यस्ता विद्यार्थीलाई रोजगारको व्यवस्था गर्ने, शैक्षिक क्यालेण्डर बनाएर कडाइका साथ लागु गर्ने लगायतका प्रतिबद्धता क्रान्तिकारीले सार्वजनिक गरेको छ । स्ववियु निर्वाचनका लागि ऐश्वर्य बहुमुखी क्याम्पसमा दुई हजार एक सय बढी मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्