बीआरआई चीनको महत्वाकांक्षी परियोजना हो । चीन भोलिको विश्व महाशक्ती हो । चीनले आज जति पनि काम गरिरहेको छ, त्यो भोलि आइपर्ने चूनौती सामना गर्ने किसिमले आफूलाई तयार पारिरहेको छ । चीन आफ्ना भाबी दिनहरू सहज छैनन् भन्ने बारेमा प्रष्ट छ । उ आइपर्ने जस्तासुकै चूनौतीहरू सामना गर्न र प्रतिकार गर्न आफूलाई भित्रभित्रै तयारी गरिरहेको छ । चीनले बीआरआई परियोजनामा ठूलो निवेश गरेको छ । उ यात्रामा धेरै अघि पुगिसकेको छ ।
सागर गैरे ।
बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) चीनद्वारा सुरु गरिएको एक विशाल आर्थिक र रणनीतिक परियोजना हो । यो परियोजनालाई सर्टकटमा बीआरआई भनिन्छ । यो परियोजना चीनको त्यस्तो परियोजना हो, जसमा टेकेर चीन आफूलाई विश्व महाशक्ति देश बनाउन चाहन्छ । बीआरआई चीनको विश्वशक्तिको यात्राको रोडम्याप हो ।
चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) आधुनिक युगको सबैभन्दा महत्वाकांक्षी आर्थिक र भूराजनीतिक परियोजना हो । यसले एसिया, युरोप, अफ्रिका र अन्य महादेशलाई जोड्दै विश्वभर विकासका पूर्वाधार निर्माण र व्यापारिक सञ्जाल फैलाउँदै छ । बीआरआईले मात्र विश्वलाई जोड्दैन, यसले त चीनलाई पनि विश्व महाशक्ति बनाउँदैछ ।
१ ) बीआरआई परिचय, उद्देश्य र लक्ष्य
विश्व अर्थतन्त्रमा पहिलो र दोस्रो रहेका अमेरिका र चीनबीच उत्पादन व्यापार र प्रविधिको विकासमा चरम प्रतिस्पर्धा छ । उनीहरू कसरी एक अर्कालाई माथ खुवाएर आफू सुपरपावर हुने भन्ने लडाइँमा छन् । यहीबीच चीनले आफ्नो महत्वाकांक्षी योजना सार्वजनिक गरेको थियो बीआरआई । सन् २०१३ मा सुरु गरिएको बीआरआई चीनको एक महत्वाकांक्षी वैश्विक विकास र व्यापारिक मार्ग परियोजना हो । यसको उद्देश्य एसिया, युरोप, अफ्रिका र अन्य क्षेत्रहरूमा आधारभूत संरचना, व्यापार र आर्थिक सहकार्यलाई बढावा दिनु हो ।
बीआरआई परियोजनाको मुख्य योजनाकार चीनका राष्ट्रपति सी जिनपिङ हुन् । उनले यस परियोजनालाई चीनको विदेश नीति र आर्थिक विकासको केन्द्रबिन्दु बनाएका छन् । बीआरआईलाई उनले समग्र वैश्विक शान्ति र सुरक्षा कुटनीतिको एक अंशको रूपमा प्रस्तुत गर्दै चीनले विकास र सहयोगका माध्यमबाट सुरक्षा सुदृढ गर्न चाहेको संकेत दिएका थिए ।
चीन सरकारले यस परियोजनालाई वन बेल्ट वन रोड (बीआरआई)को नामले परिभाषित गरेको छ । यो परियोजना चीनको पुरानो सिल्क रोडको मार्गलाई पुनः सक्रिय गर्दै विश्वभरका विभिन्न देशहरूसँग व्यापार र कनेक्टिभीटी बढाउने उद्देश्यले सुरु गरिएको हो । यो परियोजनामा अहिलेसम्म १४० भन्दाबढी देश आबद्ध भएका छन् । यस परियोजनाले एसिया, युरोप, अफ्रिका, दक्षिण अमेरिका र मध्य पूर्वका देशहरूलाई जोड्नेछ । यसले चीनलाई विश्वभरका विभिन्न क्षेत्रहरूसँग व्यापारिक, आर्थिक र कूटनीतिक सम्बन्ध थप सुदृढ गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
इसापूर्व १३० मा चीनको हान वंशको पालामा सिल्क रोड (रेशम मार्ग) सुरु भएको थियो । जसले चीनलाई सिआनबाट रोमन साम्राज्यसँग जोडेको थियो । त्यो मार्गले चीन, भारत, अरब, ग्रीस, रोम र समुन्द्रसँग जोडिएका धेरै देशलाई जोडेको थियो । त्यही रेशम मार्ग र एक्काइसौँ शताब्दीको सामुद्रीक रेशम मार्ग जोडेर ‘एक पेटी एक मार्ग’को धारणा चीनले ल्याएको हो । चीनले यसलाई कुनै सैनिक गठबन्धन नभएको पटकपटक बताउँदै आएको छ । चीनले पुरानो रेशम मार्गलाई आधुनिक सोचसहित ब्युँझाएर युरोप, अमेरिका र अफ्रिका तथा एसियासँग व्यापार गर्ने दीर्घकालीन सोच राखेको छ ।
चीनले बेल्टभित्र चीन र युरोप जोड्ने रेशम मार्गलाई राखेको छ भने रोडभित्र एसिया अफ्रिका जोड्ने सामुद्रीक रेशमी मार्गलाई राखेको छ ।
क) सडक र रेलमार्ग (ल्यान्ड रूट)
यसमा सडक र रेल नेटवर्क समावेश गरिएको छ । जसले चीनलाई युरोप, मध्य एसिया र दक्षिण एसियासँग जोड्ने छ । यो मार्ग चीनबाट मध्य एसिया, पश्चिम एसिया, र युरोपतर्फ जान्छ । यसलाई ‘सिल्क रोड इकोनामिक बेल्ट’ भनिन्छ । यसमार्गमा चीन, मंगोलिया, कजाकिस्तान, रूस, पाकिस्तान, भारत, अफगानिस्तान, इरान, तुर्की, इटली जस्ता देशहरू समावेश छन् ।
ख) मेरिटाइम सिल्क रोड
मेरिटाइम सिल्क रोड समुन्द्री मार्ग हो । यो रुट चीनको तटीय क्षेत्रबाट सुरु भएर, दक्षिण एसिया, दक्षिण पूर्व एसिया, पूर्वी अफ्रिका, मध्यपूर्व, र युरोपमा फैलिन्छ । यसलाई २१औँ शताब्दीको मेरिटाइम सिल्क रोड भनिन्छ । यस मार्गमा हिन्द महासागर, दक्षिण चीन सागर र अरेबियन सागरका प्रमुख पोर्टहरू समावेश हुनेछन् । प्रमुख बन्दरगाहहरू जस्तै पाकिस्तानको ग्वादर पोर्ट, श्रीलंका र केन्याको मम्बासा आदि बन्दरगाह प्रमुख रहेका छन् ।
२) आर्थिक प्रभाव
चीनको वन बेल्ट वन रोड परियोजनाले सिंगो विश्व तरंगित भएको छ । चीनको बीआरआई परियोजनालाई लिएर अनेक बहस भएका छन् । अनेक लेख लेखिएका छन् । काग कराउँदै गर्छ पीना सुक्दै गर्छ भनेजस्तै विरोध गर्नेले गरिरहेका छन् । कतिपय देश परियोजनामा जोडिएर पनि लाभ लिइसकेका छन् ।
बीआरआईमार्फत विश्वभरमा धेरै परियोजनाहरू सफलतापूर्वक सम्पन्न भैइसकेका छन् । कैयौँ देशहरूमा बन्दरगाह बनेका छन् । कतै फास्ट ट्रयाक रेल्वे रुट बनेका छन् । जसमध्ये चीन पाकिस्तान आर्थिक करिडोर, म्यान्मार चीन आर्थिक करिडोर, जाकार्ता वान्डुङ हाई स्पिड रेल्वे (इन्डोनेसिया) हङकङ–झुहाइ–मकाओ पुल, एडिस अबाबा–जिबुती रेल्वे (इथोपिया र जिबुती) पेइरियस बन्दरगाह (ग्रीस) मालदिभ्स सिनमाले पुल, केन्या मानक रेलवे (नैरोबी–मोम्बासा), लाओस–चीन रेलवे आदि लिन सकिन्छ ।
यस्ता धेरै परियोजनाहरू सम्पन्न भइसकेका छन् । कति परियोजना निर्माण क्रममा छन् । सम्पन्न भइसकेका परियोजनाले आधारभूत संरचना विकास व्यापार विस्तार र आर्थिक सहयोगमा ठूलो योगदान दिएका छन् । बीआरआईमार्फत चीनले विश्वभर आफ्नो भूराजनीतिक प्रभाव बढाउने अपेक्षा राखेको छ । अमेरिकाको शक्ति क्षीण हुँदै गइरहेको र अन्तर्राष्ट्रिय राजनीतिमा अमेरिकाले खाली गर्दै गएको शून्य ठाउँ भर्ने उद्देश्य राखेको चीनले विश्वव्यापी प्रभाव विस्तार गर्न बीआरआई जस्तो महत्वाकांक्षी परियोजना अगाडि बढाएको हो ।
बीआरआईको सफलता चीनको लागि फलामे च्युरा चपाउनु जत्तिकै कठिन छ । चीनलाई थाहा छ । उसले आफ्ना प्रत्येक पाइलामा चूनौती सामना गर्नुपर्नेछ । सानो असावधानी र महत्वाकांक्षाले मात्रै पनि उ लडखडाउन सक्छ । चीनलाई असफल बनाउन उसका विरोधी शक्तिहरू ज्यान फालेर लाग्नेछन् । चीनले निकै होशियारपूर्वक आफ्ना पाइला अघि बढाएको छ ।
चीनले बीआरआईमार्फत विश्वभर पूर्वाधार विकासमा जोड दिएको छ । चीनले एकातिर पूर्वाधार निर्माण गर्दैछ र अर्कोतिर ती देशमा व्यापार पनि गरिरहेको छ । लगानी पनि लगाइरहेको छ । बीआरआईमार्फत चीनले ठूलो सङ्ख्यामा रोजगारीहरू सृजना गरिरहेको छ जसले गर्दा चीनको अर्थतन्त्र चलायमान भएको छ ।
३) भौतिक संरचनामा प्रगती
बेल्ट एन्ड रोड इनिसिएटिभले विभिन्न भौतिक संरचनाहरू निर्माण गरेको छ । चीनले विभिन्न देशहरूमा सडक र रेलमार्ग निर्माण गरेको छ, जसले कनेक्टिभिटीलाई बढाउँछ । कतै नयाँ बन्दरगाह बनाइरहेको छ । धेरै हवाई अड्डाहरूको निर्माण र पुराना अड्डाको सुधार गरिएको छ । कतिठाउँमा जलविद्युत, कतै वायु ऊर्जा त कतै सौर्य ऊर्जा परियोजनाहरू निर्माण गरिएको छ । सूचना प्रविधि र डाटा नेटवर्कको क्षेत्रमा पनि परियोजनाहरू चलेका छन्, जसले डिजिटल कनेक्टिभिटीलाई बढावा दिएको छ ।
यी सब संरचनाको निर्माणबाट चीनले नयाँ–नयाँ व्यापारिक मार्गहरूको माध्यमबाट आफ्नो निर्यात र आयातलाई बढावा दिइरहेको छ । चीनले अन्तर्राष्ट्रिय व्यापारबाट अकुत रकम कमाएको छ । बीआरआई परियोजना अन्तर्गत चीनले आफ्नो कमाइको ठूलो हिस्सा लगानी गर्ने अवसर पाएको छ, जसले उसको आर्थिक वृद्धिमा योगदान पु¥याएको छ । बीआरआई परियोजना आफैँमा चिनियाँ ब्रान्ड बनेको छ । बीआरआई योजना जसरी अघि बढिरहेको छ त्यसले चीनलाई एक प्रमुख अन्तर्राष्ट्रिय शक्ति बनाउन सहयोग पु¥याएको छ ।
त्यसो त बीआरआईबाट चीन एक्लै लाभान्वित हुने होइन । चीनले जति पनि निर्माण कार्य गरिरहेको छ, त्यसबाट धेरै देश लाभान्वित भएका छन् । उनीहरूले आफ्नो पूर्वाधारमा सुधार गरेका छन् । धेरै देशले चीनको बीआरआई परियोजनाबाट आफ्नो देशका सडक, रेलवे र ऊर्जा परियोजनाहरूमा व्यापक सुधार गरिरहेका छन् ।
एउटा देशको अर्को देशसँगको कनेक्टिभिटी बढ्ने र व्यापार सञ्जालहरू फैलिनाले अन्य देशहरूको आर्थिक वृद्धि र रोजगारका अवसरहरू पनि बढेका छन् । विकासशील देशहरूले चीनबाट आएको वित्तीय सहयोग र प्रौद्योगिकीको फाइदा उठाएका छन् । बीआरआई देशहरूका बीचमा थप कूटनीतिक र आर्थिक सम्बन्ध पनि प्रगाढ बनाएका छन्, जसले भविष्यमा परस्पर सम्बन्ध मजबुत हुने अपेक्षा गर्न सकिन्छ । बीआरआई मार्फत चीनले विश्वभर पूर्वाधार विकास आर्थिक सहयोग बढाउँदै आफ्नो भूराजनीतिक प्रभाव विस्तार गर्दै आएको छ ।
४) राजनीतिक प्रभाव
चीन अन्तर्राष्ट्रिय राजनीतिको एउटा उदाउँदो शक्ति हो । विश्वमा चीन अब बेवास्ता गर्न नसकिने देश हो । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । चीनले विश्वव्यापी व्यापार र निवेशमा ठूलो योगदान दिएको छ । चीन संयुक्त राष्ट्रसंघमा सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्र हो । चीनले विश्व बैँक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठनलाई दबाब दिने सामथ्र्य राख्दछ । चीनले प्रविधि क्षेत्रमा ठूलो छलाङ हानेको छ ।
चीन विश्वकै महत्वपूर्ण सैन्य शक्ति भएको देश हो । चीनको सैन्य प्रभाव विश्वव्यापी छ । चीन अमेरिकासँग हरेक मोर्चामा प्रष्ट र स्पष्ट वार्ता गर्ने ताकत राख्दछ । चीन युद्वलाई प्राथमिकता दिँदैन् । उ जहिले पनि वार्ता सहकार्य साझेदारी र सम्बन्ध सहजीकरणमा ध्यान दिन्छ । विश्वको राजनीतिलाई सन्तुलनमा राख्न चीनको उदयले महत्वपूर्ण भूमिका खेलेको छ । अन्तर्राष्ट्रिय राजनीतिमा चीनको बढ्दो महत्व र प्रभावलाई कसैले पनि नजरअन्दाज गर्न सक्दैन् । चीनले बीआरआईमार्फत ठूलो रकम निवेश गरेको छ ।
चीनले बीआरआईमार्फत आफ्नो बजार विस्तार गर्न व्यापारिक मार्गहरू खोल्न र आफ्नो उत्पादनहरूलाई विश्वभर पु¥याउन खोजिरहेको छ । बीआरआईको आडमा चीनले आफूलाई आर्थिक रूपमा बलियो बनाउने उद्देश्य राखेको छ । बीआरआईले चीनलाई विभिन्न देशहरूसँग प्रत्यक्ष रूपमा जोड्न मद्दत गरेको छ । चीनले धेरै देशहरूसँग बीआरआईमार्फत सम्बन्ध सहज बनाउन सकेको छ । चीनले कति देशमा विकासका पूर्वाधारहरू निर्माण गरिदिएर ती देशसँग आपसी सम्बन्ध मजबुत बनाएको छ ।
५) निर्माण क्रममा देखिएका चूनौती र जटिलताहरू
चीन र भारत विश्वका उदाउँदा शक्ति हुन् । चीनले अघि बढाएको बीआरआईप्रति अमेरिका, युरोप जस्तै भारत पनि सकारात्मक छैन् । यसका पछाडी धेरै कारण छन् । चीन र भारत एसियाका दुई ठूला राजनीतिक र आर्थिक शक्ति हुन् । उनीहरू बीचमा धेरै कुरामा प्रतिस्पर्धा छ, बेमेल छ र युद्ध लडेका तिता सम्झनाहरू छन् । चीनले बीआरआईको आडमा हिन्द महासागरमा आफ्नो प्रभाव बढाउन खोजेको भारतको बुझाइ छ । पाकिस्तानमा चीनको बढ्दो उपस्थिति र ग्वादर बन्दरगाहको विकासलाई भारतले आफ्नो सुरक्षाको लागि खतराको रूपमा लिएको छ ।
चीनको परियोजना भारतको हितमा नहुन सक्छ, खासगरी परियोजनामा जुन पाकिस्तानको माध्यमबाट चीनलाई भारतको उत्तरपश्चिम सीमामा जोड्ने काम गर्छ । यसले आफ्नो सुरक्षामा गम्भीर चूनौती दिएको भारतको बुझाइ छ । भारतको चित्त दुखाइको भित्री कारण पाकिस्तान चीनको सहयोगले माथि जाने हो कि भन्ने हुन सक्छ । राजनीतिमा एक थोक भनिन्छ र अर्कैथोक बुझ्नु पर्ने हुन्छ ।
अमेरिकाको धारणा पनि चीनप्रति सकारात्मक देखिँदैन् । बीआरआईलाई चीनको ‘सामरिक विस्तारवाद’को रूपमा हेर्दछ । अमेरिकाले बीआरआईले चीनलाई विश्वभर आफ्नो रणनीतिक प्रभाव फैलाउने मौका दिएको ठान्दछ । बीआरआई अन्तर्गत चीनले अफ्रिका, एसिया र युरोपमा प्रमुख इन्फ्रास्ट्रक्चर परियोजनाहरूमा लगानी गरेको छ, जसलाई अमेरिका चीनको रूपमा आलोचना गर्दछ । बीआरआईले चीनलाई अफ्रेकी देशहरूको आर्थिक निर्भरता बढाउन र राजनीतिक रूपमा आश्रित गराउन सघाउने अमेरिकी बुझाइ रहेको छ । अमेरिका र अस्ट्रेलिया बीआरआईलाई चीनको रणनीतिक प्रभुत्वको एक औजारको रूपमा हेर्छन् ।
चीनले सन् २०२२ मा बोआओ फोरममा ग्लोबल सेकुरिटी इनिसियटिभ (जिएसआई)को कुरा उठाएको थियो । चीनको विश्वव्यापी सुरक्षा र भूराजनीतिक प्रभाव बढाउने रणनीतिको एउटा हिस्सा मान्दछ जिएसआईलाई अमेरिकाले । चिनियाँ राष्ट्रपतिले बोआओ सम्मेलनमा पहिलोपटक जिएसआईको प्रस्ताव राखेका थिए । उनले विश्वव्यापी सुरक्षा र सहयोगलाई बढावा दिनुपर्ने मान्यता अनुरुप यो परियोजना अघि सारेको बताएका थिए । उनले साझा सुरक्षा, समृद्धि र शान्तिको आधारमा विश्वको विकास नयाँ शिराबाट गर्नुपर्ने कुरा औँल्याएका थिए । जिएसआईले विश्वव्यापी सुरक्षा चूनौतीहरू, बहुपक्षीय सहयोगलाई ध्यान दिने कुरामा उनले जोड दिएका थिए ।
अमेरिकाले अघि सारेको इन्डोप्यासिफिक रणनीति (आईपिएस) र क्वाड (अमेरिका जापान अष्ट्रेलिया र भारत) समूहको औचित्यमाथि प्रश्न गर्दै चीनले जिएसआई अवधारणा अघि सारेको धेरैको बुझाइ रहेको छ । जिएसआईले अन्तर्राष्ट्रिय द्वन्द्वका मूल कारण हटाउने, विश्वव्यापी सुरक्षाको प्रत्याभूति गर्ने, शासनमा सुधार सहकार्य र पारस्परिक सहयोग जस्ता कुरालाई मूल मुद्दा बनाएको छ । हतियारको व्यवस्थापन देशको सार्वभौमिकताको सम्मान जस्ता धेरै बुँदाहरू जिएसआईमा समेटिएका छन् ।
बीआरआईले चीनलाई आर्थिक विस्तार र व्यापार विस्तारमा सहयोग गर्नेछ जबकि जिएसआईले विश्वमा सुरक्षा र स्थिरता बढाउनेछ भन्ने चीनको बुझाइ हो । बीआरआईले चीनलाई विश्वभरमा आर्थिक प्रभाव बढाउन मद्दत गर्नेछ भने जिएसआईले चीनलाई विश्वभर आफ्नो राजनीतिक र सामरिक प्रभाव बढाउन मद्दत गर्नेछ । यी दुवै परियोजना एक अर्कामा परिपूरक छन् । चीन बीआरआई र जिएसआईबाट विश्वभर आफूलाई एउटा शक्तिको रूपमा स्थापित गर्न चाहन्छ ।
भारत, अमेरिका, युरोप, जापान, अष्ट्रेलिया चीनका यी योजनासँग तर्सिएका छन् ।
उनिहरूले चिनियाँ परियोजनालाई आफ्नो भूराजनीति, आर्थिक र सामरिक चासोलाई ठेस पु¥याउने ठान्दछन् । यिनीहरूले चीनको पहललाई आफ्नो हितमा प्रतिकुल देख्छन् र यसले विश्वभर चीनको प्रभुत्व बढाउने चिन्तामा छटपटिन्छन् । अमेरिकाले त चीनले बीआरआई र जिएसआईमार्फत विश्वभर आफ्नो प्रभाव बढाएर अमेरिकी नेतृत्वलाई चूनौती दिएको ठान्दछ । युरोप, जापान, अस्ट्रेलियाको चासो र सरोकार पनि व्यापारको एकाधिकारमा चिनियाँ हस्तक्षेप नै मन नपर्नुको एक कारण मान्न सकिन्छ ।
चीन लगातार अघि बढिरहेको छ । नेपोलियनले ठिक भनेका थिए । चीन सुतेको सिंह हो यसलाई नबिउँझाउ । उनले चीनको ऐतिहासिक सांस्कृतिक र आर्थिक क्षमतालाई संकेत गरेका थिए । यस्तो लाग्छ चीन अहिले ब्युँझिएको सिंह हो । चीन पहिलेभन्दा अझ शक्तिशाली बनेको छ । चीनले विश्वभर नै आफ्नो आर्थिक राजनीतिक र सामरिक प्रभाव बढाएको छ । चीन कसैले चाहेर रोक्न नसकिने शक्तिको रूपमा देखिएको छ । उसले भोलिको व्यापार, विश्वव्यवस्था र सुरक्षा कस्तो हुनुपर्छ भनेर एकपछि अर्को खाका बनाइरहेको छ ।
चीन आफूले बनाएको बाटोमा हिँडेको छ । चीनले बनाइरहेका परियोजना सम्पन्न गर्न देखिएको सबैभन्दा प्रमुख चूनौती भनेको आर्थिक चूनौती हो । बीआरआई अन्तर्गत विभिन्न देशहरूमा लगानी गर्नका लागि ठूलो रकमको आवश्यकता पर्छ । कतिपय देशहरूले ऋण तिर्न नसक्दा वित्तीय अस्थिरता उत्पन्न भएको छ । बीआरआई परियोजना कार्यान्वयन क्रममा देखिएको अर्को समस्या भनेको हरेक देशका राजनीतिक र कूटनीतिक जटिलताहरू हुन् । कतिपय देशहरूको आन्तरिक राजनीतिक अस्थिरता र क्षेत्रीय बिबादहरूले गर्दा कतिपय परियोजनाको कार्यान्वयनमा अवरोध आएको छ ।
उदाहरणका लागि पाकिस्तान र भारतका बीचको कूटनीतिक तनावले बीआरआई परियोजनामा असर पु¥याएको छ ।
बीआरआईले पूरै पृथ्वीलाई फन्को मार्छ । यस क्रममा धेरै समस्या देखिएको सेक्टर भनेको प्राकृतिक र भौगोलिक चूनौतीहरू हुन् । परियोजनाहरूको निर्माणमा भौगोलिक अवरोध जस्तै पर्वतीय क्षेत्रहरू, मरुभूमि र नदीहरूका कारण निर्माण प्रक्रियामा जटिलता देखिएका छन् । ठूला भौतिक संरचना निर्माण गर्दा ठूलो भूमिको जरुरत पर्दछ । सडक निर्माणमा जंगल कटान गर्नुपर्छ । कतै बस्ती भएर, कतै खेतीयोग्य जमिन भएर सडक मार्ग बनाउनु पर्छ । बीआरआई निर्माणमा सामना गरिएको अर्को चूनौती पर्यावरणीय असर हो । केही परियोजनाहरूले पर्यावरणमा नकरात्मक असर पु¥याउने डर छ, जस्तै हरियालीको क्षति, जलवायु परिवर्तनको असर र जैविक विविधताको हानि आदि ।
विश्वभरका मानिसको सोच्ने तरिका चिन्तन गर्ने तरिका र कुनै पनि परियोजनालाई हेर्ने नजरिया फरक हुन्छ । बीआरआई निर्माणमा देखिएको अर्को प्रमुख समस्या भनेको सामाजिक असन्तुष्टि पनि हो । केही देशमा स्थानीय समुदायले चीनको लगानी र परियोजनाका कारण असन्तुष्टि जनाएका छन् । खासगरी, भूमि अधिग्रहण र काम गर्ने अवस्थासम्बन्धी समस्याहरू उठेका छन् । कतिपय देशहरूले त बीआरआईको ठाडो विरोधसमेत गरेका छन् । चीनले धैर्यतापूर्वक अरुका कुरा सुन्दै आफ्ना कामहरू अघि बढाइरहेको छ ।
६) बीआरआईको भविष्य
बीआरआई चीनको महत्वाकांक्षी परियोजना हो । चीन भोलिको विश्व महाशक्ती हो । चीनले आज जति पनि काम गरिरहेको छ, त्यो भोलि आइपर्ने चूनौती सामना गर्ने किसिमले आफूलाई तयार पारिरहेको छ । चीन आफ्ना भाबी दिनहरू सहज छैनन् भन्ने बारेमा प्रष्ट छ । उ आइपर्ने जस्तासुकै चूनौतीहरू सामना गर्न र प्रतिकार गर्न आफूलाई भित्रभित्रै तयारी गरिरहेको छ ।
चीनले बीआरआई परियोजनामा ठूलो निवेश गरेको छ । उ यात्रामा धेरै अघि पुगिसकेको छ । अब फर्किएर पहिलेकै बिन्दुमा पुग्नु आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै हो चीनको लागि । यात्रा सुरु गरिसकेपछि गन्तव्य त भेट्नैपर्छ । चाहे जस्तो सुकै चूनौती सामना गर्न किन नपरोस् ? बीआरआई परियोजना अन्तर्गत धेरै ठाउँमा काम भैइरहेका छन् । काम गर्दा धेरै ठूलो रकम खर्च भएको छ । चीनले गरेको खर्चले धेरै देशको खर्च बढेको छ ।
निर्माण भइरहेका परियोजनाहरू आर्थिक रूपमा दिगो हुने हुन वा होइन् ढुक्क हुने स्थिति छैन् । चले त ठिकै छ । नचले के गर्ने नि । कतै अनावश्यक परियोजनाकै कारण ती देश ऋणमा त डुब्ने होइनन् । प्रश्नहरू पनि छन् । चीन आर्थिक रूपमा सबल भइरहे त कुनै समस्या नहोला पनि । चीन आफैँ लडखडायो भने उसले बनाएका परियोजना के होलान् । प्रश्न छन, उत्तर छैनन् । बीआरआईले भूराजनीतिक प्रतिस्पर्धा चरम बिन्दुमा पु¥याएको छ । यस्तै रहे अमेरिका र चीनबीच कुनै पनि बेला द्वन्द्व मच्चिन सक्छ ।
बीआरआई परियोजनाहरू कार्यान्वन गर्दा वातावरणीय क्षति पुग्छ भनिएको छ । बीआरआईको भविष्य सहभागी देशहरूको आर्थिक र राजनीतिक अवस्था, चेनका नीतिहरू र विश्वव्यापी भूराजनीतिक घटनाक्रमहरूमा निर्भर रहन्छ । चीनले बितेका दशकहरूमा चमत्कारिक विकास गरेको छ । चीनको इतिहास निकै समृद्व रहेको छ । चिनियाँहरू महान संरचना निर्माणमा विश्वास गर्दछन् । कुनै पनि कुराको योजना बुन्नु र त्यसलाई सफलतामा पु¥याउनु उनीहरूको जिनमा लेखिएको छ जस्तो लाग्दछ । त्यसैले पनि चीन आफैँले अघि सारेको बीआरआई परियोजनालाई टुङ्गोमा पु¥याउन उसले जस्तो सुकै त्याग गर्न पनि पछि पर्दैन भनेर विश्वास गर्न सकिन्छ ।
निश्कर्ष
बीआरआई चीनको लागि एक महत्वाकांक्षी र रणनीतिक परियोजना हो जसले विश्वव्यापी शक्ति बन्ने चीनको लक्ष्यलाई प्रतिविम्बित गर्दछ । बीआरआईले चीनलाई विश्वव्यापी रूपमा आफ्नो आर्थिक र राजनीतिक प्रभाव विस्तार गर्ने अवसर प्रदान गरेको छ । यसले चीनलाई नयाँ बजारहरूमा पहुँच पु¥याउने, प्राकृतिक स्रोतहरू सुरक्षित गर्ने र आफ्नो भूराजनीतिक स्थिति सुदृढ गर्ने क्षमता उपलब्ध गराएको छ । बीआरआई परियोजना हेर्दा जति आकर्षक छन् त्यत्ति नै जोखिमपूर्ण छ ।
यो परियोजनाले भूराजनीतिक जटिलताहरू बोकेको छ । पर्यावरणीय चिन्ताहरू ओगटेको छ । विश्लेषकहरू बीआरआईको सफलता वा असफलताले चीनको विश्वव्यापी भूमिका र प्रतिष्ठामा ठूलो प्रभाव पार्ने बताउँछन् । बीआरआईको भविष्य अनिश्चित छ तर यसले विश्वव्यापी अर्थतन्त्र र भूराजनीतिलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको तर्क छ । बीआरआईको पछाडी चीनका आर्थिक, भूराजनीतिक र रणनीतिक उद्देश्यहरू जोडिएका छन् । जसले साकार हुने मौका पाए भोलिको विश्व व्यवस्थाको रूप, रंग र नक्सा अहिलेको भन्दा धेरै फरक हुनेछ ।
प्रतिक्रिया दिनुहोस्