सुमन अधिकारी । रूपन्देही ।
तिलोत्तमा गोल्डकपको २३औँ संस्करण आउँदौ चैत ९ गतेदेखि सुरु हुँदैछ । अघिल्लो वर्ष आयोजना हुनु पर्ने सो संस्करण खेल आयोजना हुने मैदानमा मर्मत कार्य थालिएका कारण हुन सकेको थिएन । नेपालका चार मोफसलकै प्रतिष्ठित र पुरानो गोल्डकपमध्ये एक तिलोत्तमा गोल्डकप बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र रूपन्देही जिल्ला फुटबल संघको आयोजनामा हुँदै आएको छ । तिलोत्तमासहित आहारारा, खप्तड र विराट गोल्डकप मोफसलमा खेलाइँदै आएका पुराना गोल्डकप हुन् ।
तिलोत्तमा गोल्डकप आयोजनाका लागि बुटवलको एन्फा टेकिनकल सेन्टरको मर्मत, रंगरोगन तथा आवश्यक तयारीको काम तीव्र गतिमा अगाडी बढाइएको छ । प्रतियोगिता आयोजनाका बारेमा जानकारी दिन राखिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष लोक पुनले प्रतियोगितामा नेपाल, भारत र उज्वेकस्थानका ८ टिमको सहभागिता हुने जानकारी गराएका थिए ।
यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डष्ट्रिज प्रालिको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख १२ हजार २ सय २२ रूपैयाँ हात पार्नेछ भने उपविजेताले ६ लाख ६६ हजार ६ सय ६६ रूपैयाँ प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने सबैले जनही ३१–३१ हजार र ट्रफी हात पार्नेछन् भने सर्वश्रेष्ठ खेलाडीलाई एक थान मोटरसाइकल वा स्कुटर प्रदान गरिने रूपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए ।
साथै पत्येक खेलको म्यान अफ दि म्याचलाई ११ हजार १ सय ११ सहित ट्रफी प्रदान गरिने संघले जानकारी दिएको छ । बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने प्रतियोगिताको २२औँ संस्करण मनाङ मस्र्याङ्दी क्लब, काठमाडौँले जितेको थियो ।
कसले कति पटक जित्यो ?
तिलोत्तमा गोल्डकपको २२औँ संस्करण सम्पन्न हुँदासम्म १५ वटा टिमले यसको उपाधि उचाल्ने सौभाग्य प्राप्त गरेका छन् । जसमा तीन वटा उपाधि पाहुना टोलीले उचालेका छन् । तिलोत्तमा गोल्डकपको उपाधि जित्ने तीन वटा टिममा भारतको बम्बई फर्टिलाईजर मुम्बई र महिन्द्रा एण्ड महिन्द्रा तथा क्यामरुनको दाउफिन्स एफसी रहेका छन् ।
प्रतियोगिताको २०३३ सालमा आयोजित पहिलो संस्करणको उपाधि सिद्धार्थ खेलकुद परिषद् रूपन्देहीले जितेको थियो भने २२औँ संस्करणको (डिफेण्डीङ च्याम्पियन) विजेता मनाङ मस्र्याङदी क्लब रहेको छ । हालसम्म कालिका स्पोर्टिङ क्लब र महेन्द्र पुलिस क्लबले ३–३ पटक जितेर कप कब्जा गरेका छन् भने त्रिभुवन आर्मी क्लब र रूपन्देही ११ ले २–२ पटक जितेका छन् ।
यो प्रतियोगिता बम्बई फर्टिलाइजर भारत, जनकपुर चुरोट कारखाना, आरएनएसी, महिन्द्रा एण्ड महिन्द्रा मुम्बई, फ्रेन्ड्स क्लब, जावलाखेल युथ क्लब, सिएमसी संकटा, थ्रिस्टार क्लब काठमाडौँ, क्यामरुनको दाउफिन्स एफसी र मनाङ मस्र्याङदी क्लबले १–१ पटक जितेका छन् ।
प्रतियोगितामा सहभागिता
तिलोत्तमा गोल्डकप नेपालमा विदेशी क्लबहरूको लगातार सहभागिता हुने प्रतियोगिता हो ।
यस प्रतियोगितामा भारत तथा तेस्रो मुलुकका टिमहरूले सहभागिता मात्र जनाएका छैनन् उनीहरूले प्रतियातियोगिताको उपाधि समेत जित्दै आएका छन् । भारतको महिन्द्रा एण्ड महिन्द्रा, भारतीय रेल्वे, दार्जिलीङ फुटबल क्लब, बम्बई फर्टिलाईजर मुम्बई, गोखरपुर फुटबल क्लब, भारतीय गोर्खा क्लब, भुटान फुटबल क्लबले यो प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । जसमा बम्बई फर्टिलाईजर मुम्बई र महिन्द्रा एण्ड महिन्द्राले उपाधि समेत जितेका छन् ।
प्रतियोगितामा विशेषगरी नेपालका ‘ए’ डिभिजनका सबै नयाँ तथा पुराना क्लबहरूले भाग लिइसकेका छन् । प्रतियोगितामा नेपालको राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने चर्चित खेलाडीहरू खेलेका छन् । छिमेकी मुलुक भारतका शीर्ष एवम् प्रतिष्ठित क्लबहरूको निरन्तर सहभागिता रहँदै आएको छ ।
तयारीमा आयोजक
२३औँ तिलोत्तमा गोल्डकपको तयारीमा रूपन्देही जिल्ला फुटवल संघ दिनरात खटेको छ । प्रतियोगिता सञ्चालन गरिने एन्फा एकेडेमीको फुटबल मैदानलाई सम्याउने, दर्शकका लागि प्याराफिटको सुधार र रंगरोगन गर्ने तथा खेलाडीहरूका लागि चेन्जिङ रुम तथा सुरक्षाका लागि तारबारको प्रवन्ध गर्ने काम भैरहेको क्लबका सचिव शंकर मल्लाहाले जनाएका छन् ।
यता प्रतियोगितामा सहभागी हुने टिमहरूको फाइनल लिष्ट तयार गरी टाइसिटको टुङ्गो लगाउनेदेखि खेल सञ्चालनका लागि आवश्यक प्राविधिक कामहरू अन्तिम चरणमा पुगेको संघका अध्यक्ष लोक पुनले जनाएका छन् । खेल खेलाउने मैदान मर्मतका लागि भनेर अघिल्लो वर्षको प्रतियोगिता स्थगित गरिएको थियो । तिलोत्तमा गोल्डकप एन्फा एकेडेमीको मैदान बन्नु अगाडी बुटवल बहुमुखी क्याम्पस, प्रहरी तालिम केन्द्रको खेल मैदानमा हुने गर्दथ्यो ।
प्रतिक्रिया दिनुहोस्