शिवु खनाल । दाङ ।
वन डढेलो रोकथामका लागि दाङमा विशेष अभियान सुरु गर्न थालेको छ । यस जिल्लाका अधिकांश वन डढेलो उच्च जोखिममा रहेकाले डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीले विशेष अभियान सञ्चालन गर्न थालेको हो । हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्यधिक बढ्ने गरेको छ ।
यसरी हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति हुने गर्छ । वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्न वन डढेलो सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्लेले बताए । उनले सुक्खा याममा मानवीय कारणबाट हुने डढेलो रोक्न सचेतना अभियान सञ्चालन गर्न थालिएको बताए ।
सो कार्यक्रमअन्तर्गत गाउँ–गाउँमा सचेतना सामग्री वितरण, माइकिङ, रेडियोबाट सूचना सामग्री प्रसारण, पोस्टर टाँस्ने, फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गर हटाउने तथा जलाउने लगायतका कार्य गर्ने कार्यक्रम रहेको बताए । डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीले सामुदायिक वन, समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायसँग अन्तक्र्रिया गर्दै सप्ताहव्यापी रूपमा कार्यक्रमलाई अगाडि बढाउने योजना रहेको सिनियर डिभिजनल वन अधिकृत वाग्लेले बताए ।
राजमार्ग सडक तथा भित्री सडक छेउछाउको पात पतिङ्गर हटाउने, सरसफाइ गर्ने र पूर्वतयारीका कार्यक्रमलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ । वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन आग्रह गरिएको छ । स्थानीयबासी, जनप्रतिनिधिलगायत सरोकार पक्षलाई यस अभियानमा जोडिन आग्रह गरिएको छ । जिल्लाको अधिकांश सामुदायिक वन डढेलोको उच्चजोखिममा रहेकाले सबैलाई सतर्क र सुरक्षा अपनाउन आग्रह गरिएको छ । वनजंगलमा सुक्खा मौसमको समयमा लाग्ने आगलागी तथा डढेलोबाट हुन सक्ने नोक्सानी र डढेलो लाग्नै नदिने उपायबारे सरोकारवालासँग तत्कालै बृहत् छलफल गरि अगाडि बढ्ने योजना रहेको वाग्लेले बताए ।
डढेलोले गर्दा हुने क्षति, प्रभाव, डढेलोबाट वन जोगाउन खेल्नुपर्ने भूमिका र चुनौतीका विषयमा व्यापक रूपमा सुसूचित गरिएको जनाइएको छ । मानवीय कारणले ९६ प्रतिशत डढेलो लाग्ने भएकाले सचेतना कार्यक्रमलाई प्राथमिकता दिइएको छ । उनले भने, ‘डढेलो लाग्नै नदिने उपायबारे सरोकारवालासँग तत्कालै बृहत् छलफल सकिएपछि पनि अन्य सचेतना कार्यक्रम डढेलोको जोखिम रहने समयभरी जारी रहने छ । सुरक्षा निकायसँग सहकार्य गरी वनमा लाग्ने डेढेलो नियन्त्रण गर्न टोली परिचालन गर्ने तयारी छ ।’ सुक्खा मौसम भएकाले लमही नगरपालिकाको सामुदायिक वनमा डढेलोको समस्या देखिन थालेको सो कार्यालयले जनाएको छ । घाँस राम्रो पलाउने, चितुवा, बाँदरले दुःख दिँदैनन् भन्ने धारणाले गर्दा वनमा आगो लगाउने समस्या छ ।
वन्यजन्तुको सिकारका लागिसमेत कतिपयले वनमा जानाजान आगो लगाउने गर्दा वन विनाश हुने गरेकाले यस्ता प्रवृत्तिको रोकथाममा लाग्न डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका वरिष्ठ वन अधिकृत उपेन्द्र अर्यालले आग्रह गरे ।
गोठाला तथा केटाकेटीले मनोरञ्जनका लागि वनमा आगो बाल्दा, वन नजिकका खेतबारीमा झारपात डढाउँदा आगो बाल्ने र ननिभाउने गर्नाले वनमा डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका सहायक वन अधिकृत हरी पौडेलले बताए । राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुलउपर गरी तीनवर्ष कैद वा ६० हजार रूपैयाँसम्म जरिवाना हुने वा दुवै सजाय हुने प्रावधान छ ।
यसैगरी देउखुरीमा रहेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले वन डढेलो रोकथामका लागि विशेष अभियान सञ्चालन गरेको छ । वन डढेलोको उच्चजोखिममा भन्दै संरक्षणका लागि विशेष अभियान सञ्चालन गर्न थालिएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले जानकारी दिए । वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्नका लागि ‘वन डढेलो सचेतना कार्यक्रम सञ्चालन लागिएको अध्यक्ष रिजालले बताए । उनले डढेलोबाट वन जोगाउन सबै व्यक्ति सचेत हुन आवश्यक रहेको बताए । डढेलोले जनधन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने हुँदा यसको रोकथाममा स्थानीय सरकार, उपभोक्ता, वन हेरालु र वन उपभोक्ताको उपसमिति, नेपाली सेनासँग सहकार्य गरी अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए ।
डढेलो लाग्न नदिन पूर्वतयारी
बाँकेका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्न नदिन र लागेमा नियन्त्रणका लागि पूर्वतयारी सुरु भएको छ । डिभिजन वन कार्यालयबाट डढेलो लाग्ने सम्भावित वन क्षेत्रमा नियमित रूपमा अनुगमन गर्ने, ‘फायरलाइन’ बनाउने, पातपतिङ्गर सङ्कलन गरेर जलाउनेलगायत काम भइरहेका डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले जानकारी दिए । ‘फायर एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्माण गरिरहेका छौँ, केही दिनमा यो तयार हुन्छ’, उनले भने ।
उनका अनुसार रु ३० लाखमा निर्माण भएको सो एम्बुलेन्समा एक पटकमा छ हजार लिटर पानी राख्ने क्षमता हुन्छ । एम्बुलेन्समार्फत डढेलो लागेका क्षेत्रमा एक सय फिटसम्म पानी पु¥याएर आगो नियन्त्रणमा लिन सकिने उनले जानकारी दिए । गत वर्ष बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनका करिब पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो ।
डिभिजनल वन अधिकृत गुप्ताले डढेलो नियन्त्रणका लागि करारमा १५ अग्नि हेरालुलाई नियुक्त गरिएको जानकारी दिँदै १८ वटा सामुदायकि वनका समूहलाई परिचालन गरिएको बताए । उनले वनमा डढेलो लाग्न नदिन प्रचारप्रसारको काम भइरहेको उल्लेख गर्दै सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको बताए ।
‘समुदायस्तरमा डढेलो लाग्न नदिने उपाय, लागेमा अपनाउनुपर्ने विधिलगायत विषयमा सचेतनामूलक जानकारी दिइएको छ । डढेलोका विषयमा सामुदायिक वनका समूहसँग आवश्यक छलफल र सहकार्य भइरहेको छ’, उनले भने ।
वनमा डढेलो नियन्त्रणका लागि चक्ला वन क्षेत्रमा सात जना अग्नि नियन्त्रक नियुक्त भएको जनाउँदै गुप्ताले वारुण यन्त्र खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्