कोहलपुर (बाँके) ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाले आज ८औँ स्थापना दिवस मनाउँदैछ ।
आज एक औपचारिक समारोहकाबीच गाउँपालिकाले स्थापना दिवस मनाउन लागेको हो । गाउँपालिकाका सूचना अधिकारी जीवन न्यौपानेका अनुसार स्थापना दिवसको अवसरमा औपचारिक समारोहको आयोजना हुनेछ । स्थापना दिवस समारोहका प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समितिका बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीलाई आमन्त्रण गरिएको उनले जानकारी दिए । स्थापना दिवस समारोहमा प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।
दिवसको अवसरमा पालिकाका कर्मचारी, किसान, सामाजिक क्षेत्रमा योगदान पु¥याएका व्यक्ति तथा शिक्षकलाई सम्मान गर्ने कार्यक्रम रहेको सूचना अधिकारी न्यौपानेले बताए । उनका अनुसार पालिकामा कार्यरत कर्मचारीमध्येबाट एक जना महिला र एक जना पुरुषगरी दुईजना कर्मचारी, गाउँपालिकाकै उत्कृष्ट किसानको रूपमा एकजना, अपांंगता, बालबालिका, महिला र सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्ति, शैक्षिक क्षेत्रको प्रतिनिधित्व गर्दै केही शिक्षकलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी गाउँपालिकास्थित सम्पूर्ण राजनीतिक दलको समेत सहभागिता रहनेछ । औपचारिक समारोहमा हालसम्म गाउँपालिकाले प्राप्त गरेका उपलब्धि, भोगेका समस्या र चुनौतीका विषयमा गाउँपालिकाको तर्फबाट जानकारी गराउने कार्यक्रम रहेको छ । आगामी दिनमा गाउँपालिकाको समृद्धि र विकासका लागि के गर्न सकिन्छ भन्ने विषयमा सुझावसमेत माग गर्ने गाउँपालिकाको तयारी छ ।
दिवसको पूर्वसन्ध्यामा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । मैत्रीपूर्ण फुटबल खेल २–२ गोलको बराबरीमा सकिएको सूचना अधिकारी न्यौपानेको भनाइ छ । यस्तै, महिला कर्मचारीबीच घैँटो फोड खेल आयोजना गरिएको थियो ।
गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले ८औँ स्थापना दिवस भव्य रूपमा मनाउन लागिएको जानकारी दिए । उनका अनुसार औपचारिक समारोहकाबीच स्थापना दिवस मनाउन लागिएको हो । सो अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गर्नुका साथै विविध कार्यक्रम आयोजना गरिने अध्यक्ष पौडेलको भनाइ छ ।
राप्ती सोनारी गाउँपालिकाले हरेक वर्ष स्थापना दिवसको अवसर पारेर विभिन्न व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ । ७औँ स्थापना दिवसको अवसरमा गाउँपालिकाले संस्थापक अध्यक्ष लाहुराम थारू र संस्थापक उपाध्यक्ष धनीकुमारी खत्री, उत्कृष्ट कर्मचारी, सेवा निवृत्त कर्मचारी, शिक्षक लगायतलाई सम्मान गरेको थियो । भूगोल र जनसङ्ख्याका दृष्टिले देशकै सबैभन्दा ठूलो गाउँपालिका २०७३ फागुन २७ गते स्थापना भएको थियो । गाउँपालिकाले हरेक वर्ष फागुन २७ गतेको दिनलाई आफ्नो स्थापना दिवसको रूपमा मनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्