नेपालगन्ज ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले कुम्हार तथा कसगर समुदायलाई माटोको भाँडा बनाउने अत्याधुनिक मेसिन वितरण गरेको छ ।
पुख्र्यौलीरूपमा माटोको भाँडा बनाउँदै आएका कुम्हार तथा कसगर समुदायलाई नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले १८ जनालाई माटोको भाँडा बनाउने अत्याधुनिक मेसिन हस्तान्तरण गरेका थिए ।
परम्परागत पेशाको संरक्षण गर्दै जीविकोपार्जनमा सहजीकरण गर्ने उद्देश्यले अत्याधुनिक मेसिन प्रदान गरिएको नगर प्रमुख विष्टले बताए । ‘यही पेशाले जीवन धानिरहनुभएका समुदायलाई पेशामा टिकाइराख्न तथा उहाँहरूलाई समय बचतसँगै मनग्य आम्दानी गर्न सजिलो होस् भन्ने उद्देश्यले मेसिन दिएका छौँ,’ विष्टले भने, ‘यसले पक्कै उहाँहरूलाई सहज हुनेछ ।’
यी मेसिनबाट जुनसुकै प्रकारका माटोको भाँडा बनाउन सकिन्छ । करीब ५० हजार लागतमा भारतको राजस्थानस्थित जयपुरबाट मेसिनहरू खरिद गरेर ल्याइएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । भाँडा बनाउने मेसिन पाएपछि कुम्हार र कसगर समुदाय खुसी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्