पवन शर्मा । जाजरकोट ।
गृहमन्त्री रमेश लेखकले जाजरकोटमा पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गरेका छन् । भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापनाका कार्यहरूलाई व्यवस्थित गर्न सरकारले स्थापना गरेको उक्त कार्यालयको उद्घाटन गर्दै मन्त्री लेखकले भूकम्प प्रभावित क्षेत्रमा शीघ्र पुनर्निर्माणका लागि सरकारले विशेष प्राथमिकता दिएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले भूकम्पबाट क्षति भएपछि नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण पुनस्र्थापना प्राधिकरण, प्रदेश सरकार, स्थानीय तह एकै साथ चल्नु पर्ने बताए । उनले विस्तृत परियोजना (डिडिए) छिटोछरितो गरिने बताए । डिडिएको काम समयमा सम्पन्न गरी पुनर्निर्माणको कामलाई अघि बढाउन सरकार लागि परेको बताए । भूकम्पले घर भत्किएपछि पुनर्निर्माण पूर्व गरिने डिडिएका लागि जाजरकोटमाा ५० जना र रूकुमपश्चिममा ४८ जना प्राविधिकले काम गरि रहेको बताए । फिल्डमा खटिएका प्राविधिकको कमी भएपछि सरकारले थप गर्ने बताए ।
मन्त्री लेखकले जाजरकोट जिल्लामा अलपत्र परेको योजनाहरूका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा छिटोछरितो सम्पन्न गर्न जाजरकोटी जनताको गुनासोलाई सम्बोधन गर्ने बताए । सरकार जनताको अवस्था परिवर्तन गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ । कार्यक्रममा जाजरकोट र रूकुम पश्चिमका जनप्रतिनिधिहरू, प्रशासनिक अधिकारी, सुरक्षाकर्मी, समाजसेवी तथा नागरिकहरूको उपस्थिति थियो । जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रहरूमा पुनर्निर्माणको गति तीव्र पार्न सरकारले जाजरकोटमा कार्यालय स्थापना गरेको छ ।
सरकारले पुनर्निर्माणका लागि आवश्यक बजेट, जनशक्ति तथा आवश्यक स्रोतसाधन परिचालन गर्ने प्रतिबद्धता जनाएको छ । स्थानीयबासीहरूले पनि नयाँ कार्यालय स्थापना भएसँगै पुनर्निर्माण कार्यलाई अझ सहज बनाउने अपेक्षा गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्