जुन–जुन संस्था, कार्यालय, कम्पनी एवम् विद्यालय र विश्वविद्यालयहरूले उल्लिखित अवधारणाअनुसार जनशक्तिलाई वर्गिकरण गरेर काम गरे, त्यस्ता संघसस्था, कार्यालय र विद्यालय एवम् विश्वविद्यालयहरूले आफूलाई प्रगतिको बाटोमा हिँडाइरहेका देखिन्छन् । यसको अलावा, माथिको अवधारणा र विधिलाई मिचेर जोजसले जनशक्तिको परिचालन गरे, त्यस्ता संघसंस्था, कार्यालय र विद्यालयहरू बैँस नआउँदै बुढेसकाल लागेका रोगी र ख्याउटेजस्ता देखिएका छन् ।
जीतबहादुर शाह ।
व्यवस्थापनविद्हरूले कुनै पनि संस्थामा काम गर्ने मानिसहरूलाई चार किसिमले विभाजन गरेका छन्– पहिलो थरि, काम प्रति रूची र दक्षता दुवै नभएको । दोस्रो थरि, कामप्रति रूची भएको तर दक्षता नभएको । तेस्रो थरि, कामप्रति रूची नभएको तर दक्षता भएको । चौथो थरि, रूची र दक्षता दुवै भएको । पहिलो थरिलाई बेसरी नै काममा जोताउनु पर्छ, उसले नचाहेर पनि जोताउनु पर्छ, यसरी कि ऊ आत्तिएर काम छोडेर गइहाल्यो भने पनि संस्थाको निम्ति नराम्रो केही हुँदैन । बरु कुचोले बढार्नु पर्ने कसिङ्गर हावाले उडाएझैँ हाइसन्चो हुन्छ ।
कामप्रति रूची र दक्षता दुवै नभएको मान्छे संस्थामा बसिरहनु भनेको संस्थाको कार्यसम्पादन स्तर कमजोर बनाउनु हो र अन्ततः संस्थालाई धरासायी बनाउनु हो । त्यसरी नै काममा रूची भएको तर दक्षता नभएको मान्छेलाई पनि खुबसँग काममा जोताउनु पर्छ । तथापि यस्तो प्रकृतिको मानिसले काममा अल्छी गर्दैन, किनकि उसले काममा रूची राख्ने गर्दछ । काममा रूची राख्ने भएकै कारण ऊ काममा जति जति खट्दै जान्छ उसको दक्षता पनि क्रमशः सुधार हुँदै जान्छ ।
तेस्रो थरि मानिसहरू काममा रूची राख्दैनन् तथापि उनीहरूमा दक्षता भने हुन्छ । रूची नराख्नुमा उनीहरूले भोगेका असफलता र निराशाका कथाहरूले भूमिका निर्वाह गरिरहेका हुन्छन् । यस्ता मानिसहरूसँग कामको लामो अनुभव हुन्छ । लामो अनुभवकै कारण दक्षता पनि तुलनात्मक रूपमा बढी हुन्छ । तथापि नेतृत्व र व्यवस्थापनले उनीहरूको अपेक्षा पूरा गर्न नसकेको, उनीहरू विभिन्न समयमा नेतृत्व र व्यवस्थापनबाट पटकपटक अन्याय र होचो अर्घेलोमा परेको, लामो समय एउटै पदमा बसेर काम गर्नु परेको, भनेको स्थानमा जति जि हजुरी र चाकरी गर्दा पनि सरुवा हुन नसकेको आदि आदि कारणहरू हुन सक्छन् ।
यस्तो अवस्थामा नेतृत्व र व्यवस्थापन पक्षले उनीहरूलाई सम्मानजनक व्यवहार गर्नुपर्छ, उनीहरूमा भएको क्षमता, सीप र दक्षताको कदर र प्रशंसा गर्नुपर्छ । भेटघाट हुँदा होस् वा फोनमा कुरा गर्दा होस्, सिनियरहरूको सामु त्यस्ता मानिसहरूका सकारात्मक पक्षहरू उठाइदिनुपर्छ । उनीहरूप्रति नेतृत्व र व्यवस्थापनले गर्ने यस प्रकारको कामले उनीहरूबाट सहज किसिमले काम लिन सकिन्छ ।
चौथो थरि मानिसहरू काममा रूची र दक्षता दुवै भएका हुन्छन् । उनीहरूले कामलाई खानु, खेल्नु, सुत्नु जस्तै प्राकृतिक सम्झिन्छन् । यसले गर्दा उनीहरू कुनै पनि काम मन लगाएर गर्छन् र मन लगाएर काम गर्ने क्रममा स्वभावैले खुसी, उपलब्धि र दक्षता पनि पछिपछि लाग्ने गर्दछ । यसप्रकारका मानिसहरू चाहे कर्मचारी हुन् वा शिक्षक, तिनीहरू काम गरिरहेको संस्थाका लागि अमूल्य निधि हुन् । संस्थाको भविष्यलाई उज्ज्वल बनाउने काममा यस्तो काम गर्ने मानिसहरूको अद्वितीय भूमिका हुनेगर्दछ । यस्ता मानिसहरूलाई अनुगमन, निरीक्षण र मार्गनिर्देशन गरिरहनु पनि जरुरी हुँदैन । किनभने उनीहरू जिम्मेवारी, उत्तरदायित्व र कार्यकुशलताका हिसावले नेतृत्वभन्दा पनि अब्बल हुने गर्दछन् । बरु यस प्रकारको जनशक्तिलाई समयसमयमा प्रसंशा, सम्मान र पुरस्कार एवम् प्रोत्साहनका कार्यक्रमहरू उपलब्ध गराउने सवालमा कुनै पनि प्रकारको कञ्जुस्याइँ गरिनु हुँदैन । यस्ता मानिसहरूलाई कामको जिम्मा दिए पुग्छ । बेलाबेलामा कामको प्रगति कति भयो भनेर सोध्न सकिन्छ तर काम कसरी गरियो, कस्तो भयो जस्तो प्रश्नहरू सोधिरहनु पनि आवश्यक हुँदैन ।
जुन–जुन संस्था, कार्यालय, कम्पनी एवम् विद्यालय र विश्वविद्यालयहरूले उल्लिखित अवधारणाअनुसार जनशक्तिलाई वर्गिकरण गरेर काम गरे, त्यस्ता संघसस्था, कार्यालय र विद्यालय एवम् विश्वविद्यालयहरूले आफूलाई प्रगतिको बाटोमा हिँडाइरहेका देखिन्छन् । यसको अलावा, माथिको अवधारणा र विधिलाई मिचेर जोजसले जनशक्तिको परिचालन गरे, त्यस्ता संघसंस्था, कार्यालय र विद्यालयहरू बैँस नआउँदै बुढेसकाल लागेका रोगी र ख्याउटेजस्ता देखिएका छन् । कारण प्रष्ट छ, हाम्रो सरकार, हाम्रा संघसंस्था र हाम्रा विद्यालयहरूसँग जनशक्तिलाई वर्गिकरण गर्दा उल्लिखित विधि र तरिकालाई अपनाउने काम हुँदैन । यस्तो हुन्छ कि कहिलेकाही त सबै कर्मचारी भन्दा कमजोर कर्मचारी संस्थाको प्रमुख भएर आउँछ । जसलाई धेरै पहिलेदेखि उक्त संस्थामा काम गर्ने मानिसहरूले राम्रोसँग चिनिरहेका हुन्छन् । कस्तो मान्छे आउँदैछ भन्ने खबरले नै संस्थामा काम गर्ने मानिसहरूले अबदेखि कस्तो काम गर्नुपर्छ भन्ने कुराको अनुमान गरिसकेका हुन्छन् ।
कहिलेकाहीँ त यस्तो भइदिन्छ कि कामप्रति रूची पनि नहुने र दक्षता पनि नहुने मानिस संस्थाको हिरो भइरहेको हुन्छ भने कामप्रति रूची र दक्षता भएका मानिसहरू सुपरीवेक्षकहरूको नजर र चासोबाट बेखबर भइरहेका हुन्छन् । तोकिएको जिम्मेवारी एकातिर छोडेर पटकपटक हाकिम र नेतृत्वलाई भेट्ने, भेटको समयमा अन्य राम्रा कर्मचारी र जनशक्तिका टीकाटिप्पणीहरू हाकिमको कानमा भरिदिने काम रूची र दक्षता नभएका जनशक्तिबाट भइरहेको हुन्छ । बिचरा काममा लागिरहने, काम गर्न मन पराउने र तोकिएको जिम्मेवारी इमानदारीपूर्वक सम्पादन गर्न खोज्ने शिक्षक र कर्मचारीहरू त नजाने नेतृत्वको बहिखातामा छुटिरहेका हुन्छन् । कथंकदाचित बहिखातामा परिहाले भने पनि त्यहाँ उनीहरूको नाम सकारात्मक सुचीमा हुँदैन कि नकारात्मक सुचीमा थपिएको हुन्छ । किनभने यसरी सुचीमा थप्नेहरू नै काम नगर्ने वर्गका हुन्छन् । आफू काम नगर्ने समूहको भएपछि काम गर्ने समूहलाई काम गर्ने समूहको भन्ने त कुरै भएन । यसो भनियो भने त बदनाम उनीहरूको नै हुने गर्दछ, जसले आफूले काम नगरेर पनि सबैभन्दा राम्रो जनशक्ति आफैँ हुँ भनेर सुचीमा थप्ने काम गरिरहेका हुन्छन् ।
अहिले विद्यालय, कार्यालय र संघसंस्थामा काम गर्ने शिक्षक र कर्मचारीहरूलाई मूल्याङ्कनको दुुई–तीनवटा मापदण्ड बनाइएको हुन्छ । पहिलो सत्तासिन राजनीतिक पार्टीको समर्थक, दोस्रो विपक्षी राजनीतिक दलका समर्थक र तेस्रो जुनसुकै राजनीतिक दलको भएपनि मनग्गे भेटी चढाउन सक्ने । काम गर्ने मानिस कुन पार्टीको हो ? सत्ता पक्षको हो कि प्रतिपक्षको हो ? यो बारेमा चित्र आफँै बोल्छ भनेझैँ उनीहरू आफैँ बोल्छन् । किनभने राजनीतिक पार्टीप्रतिको आस्थाका आधारमा शिक्षक र कर्मचारीहरूले पेशागत संघसंगठन खोल्न पाउने कानुनले नै व्यवस्था गरेको छ ।
यत्ति भएपछि सरकारी कर्मचारीहरूले काम गर्नु र नगर्नुसँग उनीहरूको पजनीको खासै अर्थ हुँदैन । उनीहरू कुन पार्टीको हो र दाम चढाउने किसिमको हो कि होइन भन्ने पहिचानको आधारमा सबै काम हुने गर्दछ । सरुवामा कर्मचारीका संघसंगठनको अग्रणी हात हुने गर्दछ । तिनै अग्रणी हात हुनेहरूले मह काढ्नेले हात पनि चाट्ने नाममा कतिले त सम्पत्ति शुद्धिकरणमा उजुरी पर्नेगरी दामपैसा कमाइसकेको अवस्था पनि देखिन्छ ।
अहिले पनि ट्रेड युनियनिष्टहरू लत्तो छोडेर लागेका छन् अब आउने निजामति सेवाको विधेयक र विद्यालय शिक्षाको विधेयकमा राजनीतिक दल अनुसारका हालका जस्ता संघसंगठनहरू खोल्न पाउनुपर्छ भनेर । मलाई भने राजनीतिक आस्थाका आधारमा शिक्षक र कर्मचारीहरूलाई विभाजन गर्नु भनेको न्याय, सुशासन र निष्पक्षतालाई जरैदेखि उखेल्नु हो भन्ने लाग्छ । सत्तामा राज गर्नेहरूलाई फुटाऊ र शासन गर भन्ने सवालमा यसले केही राहत मिलेको होला अन्यथा खुसी मनले राष्ट्रको सेवामा लाग्ने मनसाय भएकाहरूका निम्ति ट्रेड यूनियनको यो पद्धति घाँडो भएको छ ।
सबै शिक्षकहरूको साझा सङ्गठनको रूपमा नेपाल शिक्षक युनियन चाहिन्छ, त्यसरी नै सबै कर्मचारीहरूको साझा सङ्गठनको रूपमा निजामति कर्मचारी युनियन भनेर पनि व्यवस्था गर्न सकिन्छ । यो भन्दा बढी व्यवस्था गर्न थालियो भने अनिष्ट हुने कुरा देशमा तीस वर्षको इतिहास साक्षी छ । कुनै कर्मचारी र शिक्षकको वर्गविशेषलाई प्रतिनिधित्व गर्ने र आवश्यकता अनुसार हकहितको पक्षमा उभिने संघसंस्थाहरू भनेर हाम्रो जस्तो देशका चाहिन्छन्, राख्दा हुन्छ ।
मैले एउटा आलेख पढ्दै गर्दा भेटेको थिएँ कि, शिक्षक र कर्मचारीहरूको नेतृत्व र व्यवस्थापन गर्दा प्रमुख रूपमा तीनवटा चरणहरूमा हेरिनुपर्दछ – पहिलो चरण, राम्रा जनशक्तिलाई आकर्षित गर्नु, दोस्रो चरण, राम्रो जनशक्तिलाई छनोट गर्नु र तेस्रो चरण छनोट भएको जनशक्तिलाई आवश्यकता अनुसार सहयोग, वृत्ति विकास र प्रोत्साहनको वातावरण दिनु । हाम्रो पद्धतिमा पहिलो चरणबाट नै गडबडी सुरु भएको छ । राम्रा मानिसहरूलाई आकर्षण गर्न नसकिरहेको अवस्था छ ।
देश र जनताको सेवा गर्ने सक्कली भाव भएको मान्छे कर्मचारी र शिक्षकमा आउने वातावरण नै छैन । आउने चाहना भएपनि त्यस्तो सेवाभाव भएको व्यक्ति छनोटमा नपर्ने गरी परीक्षा प्रणालीको विकास गरिएको छ । सेवामा प्रवेश गरेपछि त्यसप्रकारको सेवाभावलाई माथि उठाउनका लागि सेवामैत्री वातावरण छैन् विद्यालय र कार्यालयहरूमा । त्यस्तो सेवाभाव देखाउनेहरूलाई त पुराना काम गरिरहेकाहरूले नयाँ जोगीले धेरै खरानी घस्छ भनेर हतोत्साहित गर्ने वातावरणको निर्माण भइरहेको हुन्छ ।
अहिले सरकारी कर्मचारी र सरकारी शिक्षकहरू काम गर्ने किसिमको उत्साहित वातावरणमा देखिँदैनन् । किनभने काम गर्नेहरू ओझेलमा पर्ने र काम नगरेर पार्टीका झण्डा उचाल्नेहरू मालामाल हुने ग्रहहरू दाहिने परेका छन् । यसैको परिणामस्वरुप पुरस्कार पाउन लायक कुलमान जस्ता समग्रमा मुलुकलाई असल परिणाम दिने शिक्षक र कर्मचारीहरूलाई सरकारले निशानामा पारिरहेको अवस्था छ । सारभूतरूपमा काम नगर्नेहरूका निम्ति वातावरण उत्साहजनक छ । यसैको परिणामस्वरुप सरकारी कार्यालय र सरकारी विद्यालयहरूले आफ्नो होडिङ बोर्डमा जनमुखी प्रशासन वा गुणस्तरीय शिक्षा जे भने पनि क्रमशः साझा यातायात र नेपाल वायुसेवा निगमको बाटोमा लागिरहेको आभास भइरहेको छ । अन्तर्राष्ट्रियस्तरमा व्यवहारमा प्रमाणित भएका सिद्धान्तका पक्षधर व्यवस्थापनविद्हरू नै मुलुकभित्र बस्न नसक्ने स्थितिको सिर्जना हुन थालेको छ ।
चोरलाई चौतारो र साधुलाई सुलीको तरिका भित्रिएपछि यो भन्दा अरु हओस् पनि कसरी ? कोलम्वसले अमेरिका पत्ता लगाउनुभन्दा पहिले नै हाम्रो देशमा सुनका मूर्तिहरू बनाउने गरिन्थ्यो । त्यत्तिबेला अमेरिकामा मानव सभ्यताको समेत राम्रोसँग विकास नभएको अवस्था थियो । राजनीतिक भूगोलसँग कनेक्सनमा थिएन अमेरिका । तथापि आज हामीले हाम्रो मुलुकलाई अमेरिकासँग तुलना गर्ने कुनै त्यस्तो बेञ्चमार्क नै भेटिँदैन जो उस्तै उस्तै देखियोस् । यसको कारण एउटै हो उसले विश्वका दक्ष मानिसहरूलाई लिएर मुलुकको समुन्नतिमा लगायो । हामी भने राम्रा मान्छेलाई आफ्नो देशमा रोजगार र अन्य त्यस्तै अवसर दिन नसकेर अमेरिका लगायतका मुलुकतिर पठाउनमै गौरव महसुस गरिरहेका छौँ । मुलुक बनाउने भनेको त्यहाँको जनशक्तिले हो ।
जनशक्ति पनि दक्ष हुनु प¥यो । चाकरी र दलाली गर्ने एवम् यो दल र त्यो दल भनेर ढुङ्गामुढा गर्ने जनशक्तिले देश उँभो लाग्न सक्दैन् । हामीकहाँ भएको अहिले त्यही हो । केही भएको दक्ष जनशक्ति पनि कुलमानको जस्तै मूल्याङ्कनमा शून्यमा झर्नु पर्ने अवस्था छ । माथिको निर्देशनको पालना नगर्दा कहिले तराई कहिले हिमाल धाउनु पर्ने देखिन्छ । कहिलेकाहीँ त अतिरिक्त समूहको बरन्डा र बार्दली शाखा र फाँटहरूमा काम गर्नु पर्ने अवस्था छ । दक्ष जनशक्तिको अवस्था यस्तो भएपछि मुलुकको अवस्था त्यो भन्दा राम्रो हुने त कुरै भएन । बाँकी जो हजुरको मर्जी ।
प्रतिक्रिया दिनुहोस्