धनगढी ।
‘टीकापुर साहित्य महोत्सव’को दोस्रो संस्करण फागुन २४ देखि २६ गतेसम्म आयोजना हुने भएको छ । दोस्रो संस्करण नेपालका प्रथम नाटककार तथा सुदूरपश्चिमका राष्ट्रिय गौरव पहलमानसिंह स्वाँर विशेष हुने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘पहलमानसिंह स्वाँर साहित्य विशेष संस्करण’ नाम दिइएको महोत्सव लेखक तथा अध्येता हरि शर्माको विद्वत् प्रवचनबाट थालनी हुनेछ ।
टीकापुरबासीले पहिलोपटक नेपाली कला साहित्यका बहुप्रतिभाशाली विद्वान् व्यक्तित्व अभि सुवेदीको विद्वतासँग साक्षात्कार गर्ने अवसर प्राप्त गर्नेछन् । महोत्सवमा जम्मा २१ बहस सत्र रहनेछन् । जसमा आख्यानकार नारायण ढकाल, केशव दाहाल, बुद्धिसागर, सरस्वती प्रतीक्षा, प्रगति राई, सगुना शाह, रञ्जना निरौला, सुमन वर्षा घिमिरे, प्रभा बराल आदिले नेपाली आख्यानका विविध विषयमा बहस गर्नेछन् ।
गैरआख्यानकार विन्दु सुवेदी, युवराज नयाँघरे, प्रतीक ढकाल, मोहन मैनाली, घनश्याम खड्काले नेपाली गैरआख्यान र जीवन–दर्शनबारे विचार–विमर्श तथा विश्लेषण गर्नेछन् । समालोचक लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारी, डा. व्रतराज आचार्यका साथै सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति अम्मरराज जोशी तथा धनञ्जय तिमिल्सिनाले नेपाली साहित्यमाथि आलोचनात्मक विचार प्रस्तुत गर्नेछन् ।
नेपाली काव्य विधामाथि कवि श्यामल, विप्लव प्रतीक, सीमा आभास तथा सुदूरपश्चिमका प्रतिभाशाली युवा कविहरू देवव्रत, खेम बतास, बिपी अस्तु, हेमन्त शिशिर र कल्पना जोशीले बहस गर्नेछन् । चर्चित अभिनेत्री केकी अधिकारी तथा अभिनेता विजय बरालको उपस्थिति पनि महोत्सवको मुख्य आकर्षणका रूपमा रहनेछ ।
त्यसैगरी, नाटक विधातर्फ सुनील पोखरेल, घिमिरे युवराज, पशुपति राई र सुशीला तामाङले आफ्ना धारणा राख्नेछन् । निर्देशक प्रदीप भट्टराई र अभिनेता तथा फिल्म निर्माता रवीन्द्रसिंह बानियाँले नेपाली चलचित्र क्षेत्रबारे बहस गर्नेछन् ।
दोस्रो संस्करण ‘पहलमानसिंह स्वाँर साहित्य विशेष संस्करण’ भएकाले अग्रज साहित्यकार पहलमानसिंह स्वाँरका सम्बन्धमा उनकी नातिनी ईश्वरी स्वाँर, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशी तथा स्वाँरमाथि शोध र अध्ययन गरिरहेका विज्ञहरूले स्वाँरको व्यक्तित्व, कृतित्व र योगदानबारे विशेष प्रकाश पार्नेछन् ।
महोत्सवको तेस्रो दिन ‘टीकापुरको विकास ः अवसर र चुनौती’ शीर्षकमा टीकापुरका मेयर रामलाल डगौरा थारू, पूर्वमेयर तपेन्द्र रावल तथा वीरेन्द्र विद्या मन्दिर शैक्षिक गुठीका अध्यक्ष नवराज रावलले बहस गर्नेछन् । ‘किन ओझेलमा छन् दलितका मुद्दा ?’ शीर्षकमा सांसद सन्तोष परियार, अभियन्ता रिता परियार तथा डा. रणबहादुर रावलबिच छलफल हुनेछ । ‘संघीय सरकारको नीतिमा सुदूरपश्चिमम’ शीर्षकमा कैलालीबाट प्रतिनिधित्व गर्ने सांसद ईश्वरी न्यौपाने, गरिमा शाह र कैलाश चौधरीले बहस गर्नेछन् ।
महोत्सवको पहिलो दिन हुने काव्य सन्ध्यामा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी वर्तमान समयका चर्चित र सशक्त कविहरू श्यामल, विप्लव प्रतीक, सीमा आभास, रोशन परियार, अविनाश भट्टराई, एस लामा, शान्तिप्रिया वन्दना, शान्ति शर्मा, प्रभा भट्टराई, प्रोज्ज्वल अधिकारी, रसिक राज, कल्पना जोशी, देवव्रत, खेम बतास र हेमन्त शिशिर आदिले कविता वाचन गर्नेछन् । महोत्सवको दोस्रो दिन हुने गजल सन्ध्यामा चर्चित तथा लोकप्रिय गजलकारहरू संगीता थापा, प्रदीप रोदन, पुष्पराज आचार्य, रूपक बनबासी, सुमन स्मारिका, अमला अधिकारी, मुना बोहराजस्ता गजलकारहरूले महफिल जमाउनेछन् ।
त्यसैगरी, तेस्रो दिन संगीत सन्ध्या हुनेछ जसमा सुदूरपश्चिमका लोकप्रिय कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन् । टीकापुर महोत्सव संयोजक तथा लेखक महेशविक्रम शाहले भने, ‘महोत्सवका सम्पूर्ण गतिविधिका माध्यमबाट विभिन्न साहित्यिक परम्परा र आवाजहरूको संरक्षण र प्रवद्र्धनमा योगदान पुग्छ ।’ टीकापुर साहित्य महोत्सव आयोजनाको मुख्य प्रवद्र्धक सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालय रहेको छ भने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान यस महोत्सवको प्रवद्र्धक रहेको छ । सहप्रवद्र्धक टीकापुर नगरपालिका र जानकी गाउँपालिका रहनेछन् ।
दोस्रो संस्करणका लागि नेपाल पर्यटन बोर्ड, राष्ट्रिय वाणिज्य बैंक, बुद्ध एयर, यती एयर, होटेल सिद्धार्थलगायत विभिन्न राष्ट्रिय संघसंस्थाहरूले प्रायोजन तथा सहकार्य गरेको विज्ञप्तिमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्