कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुरमा शनिबारदेखि सुरू भएको तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपमा राइजिङ स्टार फुटबल क्लब नवलपरासीले जित हासिल गरेको छ । आइतबार सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा भारतको साहारा फुटबल क्लबलाई पेनाल्टी सुटआउट ४–३ गोल अन्तरले हराउँदै नवलपरासी विजयी भएको हो । खेल अवधिभर दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरेका थिए ।
खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । दोस्रो हाफमा समेत दुवै टोली गोल गर्न असफल रहे । निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटमा कुनैपनि गोल गर्न नसकेपछि पेनाल्टीमा गएको थियो । पेनाल्टीमा भने राइजिङ स्टार फुटबल क्लब नवलपरासी भाग्यमानी ठहरियो । गोलकिपर प्रतिक सुनारको उत्कृष्ट प्रदर्शनबाट नवलपरासीले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
आफ्नो टिमलाई जिताउन सुनारले साहाराका दुईवटा पेनाल्टी बचाएका थिए । नवलपरासीका गोलकिपर सुनारले भारतको साहारा क्लबका परविन सुनारको पहिलो पेनाल्टी बचाएका थिए । त्यसपछि पाँचौँ नम्बरमा आएका साहारा फुटबल क्लबका नरभुसन शाहको पेनाल्टी रोकेका थिए । साहाराका हिरेन्द्र सिंहको पेनाल्टी भने बारमा लागेर बाहिरिएको थियो । साहाराको तर्फबाट कप्तान हरि कठायतसहित सुजन गुरुङ र दिपेनसिंह ठकुरीले मात्रै गोल गर्न सफल भए ।
यस्तै भारतको साहारा फुटबल क्लबका गोलकिपरले समेत नवलपरासीका खेलाडीका दुई वटा पेनाल्टी रोकेपनि आफ्नो टिमलाई जिताउन सकेनन् ।
उनले राइजिङ स्टार फुटबल क्लब नवलपरासीका हरिहर बुढा मगर र अमित भुजेलको पेनाल्टी रोकेका थिए । साहारा फुटबल क्लबका गोलकिपर नवलपरासीका सुजित बुढाथोकी, रोशन दोङ, चेतन थारू र रुपेश क्षेत्रीको पेनाल्टी रोक्न असफल रहे । खेल अवधिभर उनले दर्शनीय खेल प्रदर्शन गरेका थिए ।
दोस्रो खेलमा राइजिङ स्टार फुटबल क्लब नवलपरासीका गोलकिपर सुनार म्यान अफ द म्याच घोषित भए । उनले नगद पाँच हजार रूपैयाँ प्राप्त गरेका छन् । म्यान अफ द म्याच घोषित सुनारलाई कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मणराज पौडेलले पुररस्कार प्रदान गरेका हुन् । उनले कोहलपुरमा आयोजित फुटबल प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा भूमिका खेलेको बताए ।
म्यान अफ द म्याच घोषित सुनारले आफ्नो टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेल्न पाउँदा खुसी लागेको बताए । खेलमा राइजिङ स्टार फुटबल क्लब नवलपरासीका कप्तान विनोद केवटले पहिलो खेलमा जित हासिल गरेको भन्दै टिमका सदस्यहरूलाई धन्यवाद प्रकट गरे । जितपछि मिसन टुडेसँग कप्तान केवटले भने, ‘पहिलो खेल जितेका छौँ । खुसी छौँ । सबै खेलाडीले राम्रो खेल प्रदर्शन गरे । विशेष योगदान गोलकिपरको रह्यो । अब आगामी खेलको तयारीमा लाग्छौँ ।’
टोलीको जितपछि मिडियासँगको कुराकानीमा राइजिङ स्टार फुटबल क्लब नवलपरासीका कोच सन्दिप केसीले टोलीले पहिलो खुट्किलो पार गरेको बताए । उनका अनुसार अब तीन दिन ग्याप छ । ‘सबैको खेल हेरेर दोस्रो खेलमा रणनीतिक रूपमा जित्ने गरेर खेल्नेछौँ’ । कोच केसीले दोस्रो खेलमा केही परिवर्तनसमेत गर्ने संकेत गरे । आयोजकको व्यवस्थापन निकै राम्रो भएको भन्दै फुलबल प्रतियोगिता स्तरीय रहेको उनको भनाइ थियो ।
गोल्डकपको पहिलो दिन सम्पन्न पहिलो क्वाटर फाइनलमा आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लबले विजयी बनेको थियो । शनिबार सम्पन्न खेलमा लुम्बिनी फुटबल एडेकेमीलाई २–० गोल अन्तरले हराउँदै आयोजक टिमले विजयी भएको हो । गोल्डकपको तेस्रो दिन सोमबार दिउँसो ३ः०० बजे कोहलपुरस्थित तेह्र बिगाह खेल मैदानमा प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँ र राईनो फुटबल क्लब गण्डकीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ ।
घानाको अफ्रिकन राष्ट्र घाना फुटबल क्लब, भारतको साहारा फुटबल क्लबसहित प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, कांक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्लब गण्डकी प्रदेश र कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको सहभागिता रहेको छ ।
कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रूपैयाँ र द्वितीय हुने टिमले चार लाख रूपैयाँ पुरस्कार पाउनेछन् । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्