बैतडी ।
बैतडीदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । विभिन्न स्थानमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार जयपृथ्वी नगरपालिका–७ तमैल बजार नजिकै सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध छ ।
छविसपाथिभेरा गाउँपालिकाको बालुवाटारमा पनि पहिरो आउँदा सडक अवरुद्ध भएको डीएसपी भण्डारीले बताए । यस्तै बित्थडचि गाउँपालिकाको क्षेत्रमा पनि पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध भएको स्थानमा सडक सुचारु गर्नका लागि काम भइरहेको बताइएको छ । बिहीबार रातिदेखि बझाङसहित सुदूरपश्चिमका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।
यस्तै, महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । सडक अवरुद्ध हुँदा बिहानैदेखि तराइबाट जिल्ला सदरमुकामका लागी छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधन बाटोमै थन्किएका छन् ।
यात्रु बाटोमै अलपत्र परेका महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीले जानकारी दिए । सोही ठाउँमा गत माघ दोस्रो साता पनि पहिरो गएको थियो । उक्त ठाउँमा केही समयअघि सडक मर्मत सम्भार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्