दिव्या सेकेण्डरी स्कुलमा फुड फेस्टिवल



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ स्थित दिव्या सेकेण्डरी स्कुलमा फुड फेस्टिवल तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । दिव्या सेकेण्डरी स्कुलको आयोजनामा फुड फेस्टिवल तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । फुड फेस्टिवलको कोहलपुर नगरपालिका वडा नम्बर ६ का वडाअध्य कृष्ण थारूले सरस्वतीको फोटामा अबिर ग्रहण र पानसमा बत्ती बालेर उद्घाटन गरे ।

उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर ६ वडा अध्यक्ष श्रीकृष्ण थारूले फुड फेस्टिवलले विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा जोड दिने बताए । उनका अनुसार स्कुलहरूले यस्ता प्रकारका कार्यक्रम निरन्तर गर्नुपर्छ । उनले भने, ‘विद्यार्थीहरूले विभिन्न परिकार बनाएका छन् । आफैँ बनाउनु राम्रो हो । यस्ता कार्यले आत्मनिर्भर बनाउन भूमिका खेल्छ,’ वडा अध्यक्ष थारूले भने ।

दिव्या सेकेण्डरी स्कुलका सञ्चालक समितिका सदस्य र प्रबन्ध निर्देशक अनुप शाहीले गुणस्तरीय शिक्षा स्कुलको प्राथमिकता रहेको बताए । उनका अनुसार विद्यार्थीहरूको भविष्यका लागि स्कुलले समय सुहाउँदो क्षमता विकास गराइरहेको छ । ‘सबैलाई भन्न चाहन्छु । हामीलाई विश्वास गर्नुहोस् । हामी तपाईंका बालबालिकालाई सक्षम नागरिक बनाउने छौँ,’ उनले भने ।

सञ्चालक समितिका सदस्य रामप्रसाद न्यौपानेले फुड फेस्टिवल विद्यार्थीहरूको क्षमता प्रदर्शन गर्ने माध्यम भएको बताएका थिए । उनका अनुसार यस्ता प्रकारका कार्यक्रम वर्षेनी गरिरहनुपर्छ । दिव्या सेकेण्डरी स्कुलका प्रिन्सिपल नारायण पंगेनीका अनुसार विद्यार्थीहरूको समूह बनाएर परिकार बनाउन दिइएको थियो । स्कुलले प्रति समूह पाँच हजारका दरले परिकार बनाउन आर्थिक सहयोग गरेको बताए । शिक्षक र विद्यार्थी मिलेर परिकार बनाएको र सबैभन्दा राम्रो परिकार बनाउनेलाई पुरस्कृत गरिएको उनले बताए ।

‘चार वटा समूह विभाजन गरिएको हो । ती मध्ये उत्कृष्ट टिम छनौट गरियो । सबैभन्दा बढी कमाउनेले पाँच हजार फिर्ता गरेका छन् । बाँकी उनीहरूको कमाइ हो ।’ प्रिन्सिपल पंगेनीले भने । स्कुलका सञ्चालक समितिका अध्यक्ष लोकनाथ पौडेलको अध्यक्षतामा सम्पन्न फेस्टिवलमा २०८० को वार्षिक परीक्षामा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । यस्तै उक्त अवसरमा कक्षा नर्सरीदेखि कक्षा दशसम्म विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति देखाएका थिए । 

 

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १७ गते शनिबार