कोहलपुरका मेयर आचार्यले सीडीओलाई भने ‘भ्रष्ट’, मेयरलाई सीडीओको जवाफ– प्रमाण लिएर आइज !



वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँके जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएको एक वर्ष नबित्दै सरुवा भई जान लागेका सहसचिव खगेन्द्रप्रसाद रिजाललाई कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले गम्भीर आरोप लगाएका छन् । नगर प्रमुख आचार्यले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रजिअ रिजालले एसईईको परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग ‘राम्रै सौदाबाजी’ र ‘अनुचित चलखेल’ गरेको आरोप लगाएका हुन् । उनले प्रमुख जिल्ला अधिकारीलाई ‘नैतिक रूपमा भ्रष्ट’ भएको आरोप पनि लगाएका छन् ।

परीक्षाहरू सञ्चालन गर्दा केन्द्र निर्धारण गर्ने क्रममै विद्यार्थीलाई चिट चोराउन मिलोमतो हुनेगरी केन्द्र तोक्ने गरिएको आरोप लाग्दै आएकोमा नगर प्रमुखको उक्त आरोपपछि सामाजिक सञ्जालमा क्रियाप्रतिक्रियाहरू बढेका छन् । अधिकांशले नगर प्रमुख आचार्यको आरोपमा सत्यता हुनसक्ने आशय प्रकट गर्दै प्रमुख जिल्ला अधिकारीप्रति आलोचनात्मक प्रतिक्रिया जनाएका छन् भने केहीले प्रजिअ एक्लैले केन्द्रहरू तोक्दा चलखेल गर्न नसक्ने बताएका छन् ।

यद्यपि नगर प्रमुखको उक्त आरोपले एसईई परीक्षा नजिक आइरहेका बेला परीक्षा केन्द्र तोक्दैदेखि जिम्मेवार निकायहरूले मर्यादित परीक्षाविरुद्ध मिलेमतो गर्ने गरेको विषय सतहमा आएको छ । नगर प्रमुख आचार्यले स्टाटसमा लेखेका छन्, ‘केही गलत प्रवृत्तिका पात्रसँगको अनुचित साँठगाँठ र हिमचिमले कोहलपुरको मर्यादित परीक्षा प्रणालीमा धक्का दिन जुन कोसिस गर्नुभयो इतिहासले धिक्कार्ने नै छ ।’

उनले सिडिओले अधिकारको चरम दुरुपयोग गरी सौदाबाजी गर्दै विभिन्न विद्यालयका परीक्षा केन्द्रहरू हेरफेर गर्ने बहानामा ‘अनुचित चलखेल’ गरेको आरोप लगाएका छन् । माध्यमिक शिक्षा उर्तीर्ण (एसईई) परीक्षा सञ्चालनका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक र जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सदस्यसचिव रहेको समिति हुन्छ । उक्त समितिले केन्द्र निर्धारण, केन्द्राध्यक्ष तोक्ने र परिक्षा निरीक्षक (गार्ड)हरू परिचालनको व्यवस्थापन मिलाउने काम गर्छ ।

नगर प्रमुखले सिडिओले परीक्षाका केन्द्रहरू तोक्ने क्रममा निजी विद्यालयसँग मिलेमतो गरेको आरोप लगाएका हुन् । नगर प्रमुख आचार्यसँग उनले लगाएको आरोपबारे थप बुझ्न टेलिफोनमा सम्पर्क गर्दा फोन उठेन । म्यासेजमा समय माग्दा पनि प्रतिउत्तर आएन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग मातहत सरुवा भई जान लागेका बाँकेका प्रजिअ रिजालले भने नगर प्रमुखले आधारहीन आरोप लगाएर चरित्रहत्या गर्न खोजेको प्रतिक्रिया दिएका छन् । उनले नगर प्रमुख आचार्यले केही परीक्षा केन्द्रका सम्बन्धमा आफूसँग चासो राखेको बताउँदै ती केन्द्रहरू मेयरले भनेअनुरुप नभएकोले आक्रोश पोखेको हुनसक्ने बताए ।

मिसन टुडेसँग कुरा गर्दै प्रजिअ रिजालले भने, ‘मैले त नियमअनुसार समितिका सदस्यहरूले ल्याउनुभएको प्रस्तावमा छलफल गरेर निर्णय गरेको हुँ । पछिल्लो परिपत्रमा तराइका परीक्षा केन्द्रहरू तोक्दा सकेसम्म अघिल्लो वर्षकै विद्यालयमा नपर्नेगरी गर्नु भन्ने आएको रहेछ । त्यही अनुसार सिफारिस गरेर पठाइएको हो ।’ रिजालले परीक्षा केन्द्र तोक्ने सम्बन्धमा स्थानीय तहसँग समन्वय गर्नुपर्ने आवश्यकता पनि नरहेको बताए । उनले ८ कक्षासम्मको परीक्षाका लागि स्थानीय तहको अधिकार क्षेत्र भएपनि एसईईमा शिक्षा विकास तथा समन्वय इकाईको भूमिका बढी हुने बताए ।

‘यद्यपि उहाँ (नगर प्रमुख आचार्य)सँग यसबीचमा कुराकानी पनि भएको हो । उहाँ प्रायः बाहिर रहनुहुन्थ्यो । टेलिफोनमा केही केन्द्रका सम्बन्धमा उहाँले चासो व्यक्त चाहीँ गर्नुभएको हो । नियमअनुसार गर्दा उहाँले भनेजस्तै भएन होला । त्यसो भन्दैमा अनुचित साँठगाँठ गरेको भनेर मेयरजस्तो मान्छेले चरित्र हत्या त गर्न मिलेन नि । कि त प्रमाण दिनुप¥यो,’ प्रजिअ रिजालले भने । उनले नगर प्रमुखको आरोप फिर्ता नभएमा कानुनी कारबाहीमा जानेतिर सोचिरहेको बताए । उनले भने, ‘म कानुनी कारबाहीमा जानेतिर पनि सोचिरहेको छु । फेरि केलाई चलायो भने आफ्नै मुखमा छिटा भन्छन् नि त्यस्तै भएर यसमा ध्यान दिने कि नदिने भन्ने पनि सोचिरहेको छु ।’

विवादित भएर जान्छन् बाँकेका प्रशासक

बाँके आएका प्रमुख जिल्ला अधिकारी र प्रहरीको जिल्ला नेतृत्व विवादित भएर जिल्लाबाट बिदा हुने गरेका छन् । रिजालअघि प्रजिअ रहेका श्रवणकुमार पोखरेल पनि एकजना सांसदसँगको विवादका कारण सरुवा भएर जानुपरेको थियो । उनी अघि सिडिओ रहेका विपीन आचार्य पनि धार्मिक सद्भाव कायम राख्नमा उचित भूमिका खेल्न नसकेको भन्दै गृह मन्त्रालय तानिएका थिए ।

यता बाँके प्रहरीका यसअघिका प्रमुख एसपी सुभाषचन्द्र बोहरा तस्करहरूबाट रकम असुल्ने गरेको आरोप लागेपछि सरुवामा परे भने सशस्त्र प्रहरी ३० नम्बर गण नेपालगन्जका प्रमुख रहेका एसपी विमल डाँगी मातहतका सशस्त्र प्रहरीले सर्वसाधारणमाथि कुटपिट गरेपछि सरुवा भएर गए ।

यसरी जिल्लामा आएका प्रशासकहरू बिदा हुँदा भने कुनै न कुनै आरोप खेपेर फर्किन्छन् । प्रशासकहरू सरुवामा पर्नुका पछाडि नागरिकसँग केही न केही विषयमा विवाद हुनु र आफ्नो जिम्मेवारी बहन गर्न नसक्नु प्रमुख कारणको देखिने गरेका छन् । सरुवा भएर जान लागेका सिडिओ रिजालको संगत पनि शक्तिशाली तथा पैसावालहरूसँग हुने गरेको, नागरिकसँग रुखो व्यवहार गर्ने गरेको, असली समस्या समाधानमा भन्दा औपचारिकतामा मात्रै सीमित हुने गरेको आरोप लाग्दै आएको थियो । उनले जिल्लामा सम्झिनलायक सुधारको काम गरेको उदाहरण छैन ।

प्रजिअ रिजालले केही महिनाअघि नेपालगन्जमा इ–रिक्सा व्यवस्थापनका लागि मुख्य सडकमा इ–रिक्सा सञ्चालन बन्द गर्ने बताए । तर, रिक्सा चालकहरूको विरोध हुने भएपछि उक्त निर्णय कार्यान्वयन गरेनन् । नेपालगन्जमा अनधिकृत र मापदण्ड विपरीतका एम्बुलेन्सहरूको बेथिति बढेको भन्दै नागरिक तहबाट र एम्बुलेन्स चालकहरूले नै प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छन् । तर, यसमा सुधारको प्रयाससम्म रिजालले गरेनन् ।

यसैगरी नेपालगन्ज मेडिकल कलेजका कर्मचारीको आन्दोलन व्यवस्थान र सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिले अनुमति नलिएर अस्पताल सञ्चालन गर्न लागेको तथा मेडिकल कलेजमा अनधिकृतरूपले सञ्जिवनीको बोर्ड लगाइएको विषयमा पनि उनले आँखा चिम्लेर बसे ।

यसबाहेक कार्यालयमा पुग्ने सेवाग्राहीलाई सेवाप्रवाहमा सहजीकरणमा पनि उल्लेखनीय काम गरेनन् । उल्टै नागकिहरूले गुनासो राख्दा रुखो व्यवहार सहनुपरेको गुनासो गर्ने गरेका छन् । अहिले सरुवा भएर जानै लाग्दा कोहलपुरका नगर प्रमुखले गम्भीर आरोप लगाएपछि उनको बिदाइ पनि सुखद भएन ।

यस्तो छ नगर प्रमुखको स्टाटस

सिडियो साब तपाईँलाई धन्यवाद !

बाँके जिल्लाका सिडिओ साबको सरुवा भएको खबर छ । सरुवा भई जादाँजाँदै कक्षा १० को एसईई परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग राम्रै सौदाबाजी गर्नु भएछ ।

राज्यको महत्वपूर्ण निकायको एउटा अधिकार प्राप्त व्यक्ति नैतिक रूपमा भ्रष्ट भयो भने समाज कसरी चौपट हुन्छ भन्ने कुराको राम्रो उदाहरण पनि दिन सफल हुनु भएकोमा बधाई छ । अझै लामो समय निजामती सेवामा रहने र माथिल्लो भूमिकामा पुग्ने निश्चित छ, त्यसको लागि शुभकामना पनि छ । तर केही गलत प्रवृत्तिका पात्रसँगको साँठगाँठ र हिमचिमले कोहलपुरको मर्यादित परीक्षा प्रणालिमा धक्का दिन जुन कोशिस गर्नु भयो इतिहासले धिक्कार्ने नै छ ।

अधिकारको चरम दुरुपयोग गरी सौदाबाजी गर्दै विभिन्न विद्यालयका परीक्षा केन्द्रहरू हेरफेर गर्ने बहानामा जुन खालको अनुचित चलखेल गर्नु भयो, तपाईँँको यो चलखेलले हामीलाई मद्दत हैन निरुत्साहित गर्ने निश्चित छ । तपाईँ खै कस्तो प्रलोभनमा पर्नु भयो विस्तारै खुल्दै जाला, तर सिङ्गो अभिभावकलाई भ्रममा राख्ने र विद्यार्थीको भविष्य चौपट हुने गरी गरिने यस्ता धुर्त निर्णयको हामी सामना गर्ने नै छौँ ।

हामी शिक्षामा लगानी, शैक्षिक प्रणालीको सुधार, मर्यादित परिक्षा सञ्चालन र गुणस्तरीय शिक्षाप्रति संवेदनशील, जिम्मेवार र जवाफदेही छौँ । त्यसैले यो वा त्यो रूपमा हाम्रो हुर्मत लिन कसैले प्रयत्न नगर्न सुझाव छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १७ गते शनिबार