माओवादीभित्र बढ्दो गुटबन्दी : खगराजलाई दलको नेता बनाउन सांसद्नै चाहँदैनन्



शेरबहादुर ऐर । कैलाली ।

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलमा १३ महिनादेखि विवाद छ । १२ माघ २०८० मा संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई नेता चयन गरिएपछि माओवादीभित्रको विवाद सतहमा आएको थियो । भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णयमा धामीसहित संसदीय दलका उपनेता अक्कलबहादुर रावल, प्रदेश सभा सदस्य शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए ।

त्यो समयमा खगराज समूहमा रमेशसिंह धामी, जानकीदेवी कुँवर र झपटबहादुर साउँद मात्रै देखिए । तर, अहिले ओली भट्ट समूहमा छन् । जसका कारण अहिले भट्ट र धामी पक्षमा पाँच–पाँच जना सांसद छन् । संसदीय दलको नेता धामीलाई बनाएको पाँच महिनापछि असारको पहिलो साता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए ।

प्रचण्डले भट्टलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलका नेतामा पुनस्र्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्ध बनाउन निर्देशन दिएका थिए । त्यो निर्देशन संसदीय दलले कार्यान्वयन गरेन । दोस्रोपटक प्रचण्डले आफू प्रधानमन्त्री हुँदा सबै नेताहरूलाई बालुवाटार बोलाएर दलको नेता खगराजलाई बनाउन निर्देशन दिए । त्यो पनि लागू भएन । केन्द्रले २ भदौमा दलका नेता धामीलाई स्पष्टीकरण सोध्दै तत्काल दलको नेता खगराजलाई बनाउन निर्देशन दिएको थियो । तर, त्यो निर्देशन पनि कार्यान्वयन भएन ।

१३ भदौमा प्रचण्डले सुदूरपश्चिममा संसदीय दलको नेता खगराजलाई बनाउन चौथोपटक निर्देशन दिए । धनगढीमा बसेको पार्टीको परामर्श बैठकपछि अध्यक्ष प्रचण्डले तत्काल खगराजलाई दलको नेता बनाउन निर्देशन दिएका थिए । उक्त निर्देशनको छ महिना बितिसक्दा पनि दल नेता फेरिएनन् ।

पटकपटकको निर्देशन कार्यान्वयन नभएपछि माओवादी केन्द्रीय समितिको छैटौँ बैठकले खगराजलाई दल नेता बनाउन दिएको निर्देशन अनुमोदन गरेको थियो । ‘मिति २०८१–३–१२ चलानी नम्बर २४४ को यस केन्द्रीय कार्यालयबाट सुदूरपश्चिम प्रदेशसभा दल नेतासम्बन्धी जारी गरिएको निर्देशनलाई केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक (पुस २१–२३) ले अनुमोदन गरेको हुँदा उक्त निर्णयलाई यथाशीघ्र कार्यान्वयन गर्न-गराउन निर्देशन गरिएको छ,’ २९ माघमा प्रचण्ड र महासचिव देव गुरुङले सुदूरपश्चिम इञ्चार्ज पोखरेललाई पठाएको सर्कुलरमा भनिएको थियो । १२ असार २०८१ मा अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले प्रदेश इञ्चार्ज गिरिराजमणि पोखरेललाई लिखित निर्देशन दिँदै भट्टलाई दल नेता बनाउन भनेका थिए ।

आठ महिनादेखि निर्देशन कार्यान्वयन नभएपछि बुधबार प्रचण्डले माओवादी केन्द्रका सबै प्रदेश सांसदलाई खुमलटार बोलाएका थिए । बुधबारको छलफलमा पनि प्रचण्डले खगराजलाई दल नेता बनाउने निर्देशन कार्यान्वयन गर्न भनेका छन् । ‘अघिल्लो पटकभन्दा यसपटक अध्यक्षज्यूले दल नेता खगराजलाई बनाउन कडा शब्दमा निर्देशन दिनुभएको छ,’ माओवादी सुदूरपश्चिमका एक प्रदेश सभा सदस्यले भने, ‘दल नेता धामी पक्षका साथीहरूले खगराजलाई दल नेता बनाउँदा आफ्नो पनि व्यवस्थापन हुनुपर्ने सर्त राखेका थिए । तर, अध्यक्षज्यूले माओवादीमा सर्त राख्न नमिल्ने बताउनुभयो ।’ ती प्रदेश सभा सदस्यका अनुसार प्रचण्डले आफू २० गते धनगढी आइरहेको बताउँदै त्यसअघि नै दल नेता खगराजलाई बनाउन निर्देशन दिएका छन् ।

धामी पक्षका प्रदेश सभा सदस्यहरूले भने पार्टीको निर्देशन कार्यान्वयनमा समस्या नभए पनि खगराजको कायैशैलीमाथि प्रश्न उठाएका थिए । ‘स्वभाविक रुपमा पटकपटक निर्देशन भएकाले यसपटक पनि दल नेता फेर्न अध्यक्षज्यूले भन्नुभएको छ,’ प्रदेश सभा सदस्य ओमविक्रम भाटले भने, ‘जुन व्यक्तिलाई दल नेता बनाउनुपर्ने हो, उहाँले हामीसँग एकपटक छलफल पनि गर्नुभएको छैन । उहाँले सबै मिलाउने वातावरण त सृजना गर्नुपर्छ भनेर हामीले अध्यक्षज्यूलाई अनुरोध गरेका थियौँ ।’ भाटका अनुसार दल नेता परिवर्तन गर्दा अन्य नेताहरूको व्यवस्थापन हुनुपर्ने माग पनि अघि सारेको बताए ।

‘उहाँ (खगराज भट्ट)लाई दलको नेता नै चाहिएको हो भने इन्चार्ज फेरौँ भन्ने हाम्रो प्रस्ताव थियो,’ भाटले भने, ‘विना मगर, त्रिलोचन भट्ट वा लक्ष्मीदत्त जोशीमध्ये कुनै एकलाई प्रदेशको इञ्चार्ज बनाएपछि हामी दल नेता फेर्न तयार छौं भनेका थियौँ ।’ उनका अनुसार प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेलबाटै गुटबन्दी हुँदा पार्टीमा पनि समस्या आएको हो ।

गुटबन्दीले बढ्दो कलह

माओवादीको सुदूरपश्चिम प्रदेशमा पार्टीभित्र भएका गुट र उपगुटको लडाइँले अहिले कलह बढ्दै गएको छ । संसदीय दलका नेता धामी उपमहासचिव वर्षमान पुन पक्षका हुन् । पुनले धामीलाई दलको नेता बनाउन भूमिका खेलेको चर्चा सुदूरपश्चिममा छ । सोही कारण अध्यक्ष प्रचण्डको निर्देशन नमान्नुमा पुनको भूमिका पनि महत्वपूर्ण रहेको सुदूरपश्चिमका माओवादी नेता बताउँछन् ।

प्रदेश इञ्चार्ज गिरीराजमणि पोखरेल वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहमा छन् । पोखरेललाई इञ्चार्जबाट हटाउनका लागि धामी पक्षका प्रदेश सभा सदस्यले पटकपटक अध्यक्ष प्रचण्डलाई अनुरोध गरेका छन् । तर, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ त्यसमा सहमत छैनन् ।

खगराज भने जनार्दन शर्मा समूहमा छन् । भट्ट पहिले बाबुराम भट्टराई समूहमा थिए । विगतदेखि नै खगराज प्रचण्डनिकट नभएका कारण पनि दल नेतामा उनको पुनरागमन सहज नभएको माओवादीकै नेताहरू बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १६ गते शुक्रबार