जडीबुटीकै भरमा बिरामी



बझाङ ।

बझाङको उत्तरी भेगको एउटा दुर्गम गाउँ छ । जहाँ अहिलेसम्म पनि जडीबुटीकै भरमा उपचार गराउनुपर्ने बाध्यता छ । सामान्यदेखि जटिल बिरामी हुँदासम्म पनि गाउँमा कोही बिरामी भयो कि जटिबुटीको खोजी सुरु हुन्छ । तलकोट गाउँपालिका–३ को कृकिट्ने गाउँमा न त स्वास्थ्य चौकी छ । न त स्वास्थ्यकर्मी छन् । स्वास्थ्य उचारका लागि मान्छे बिरामी भयो कि स्वास्थ्य चौकी भन्दा पनि जङ्गलमा जडीबुटी खोज्न जानु पर्ने कृकिट्टे गाउँवासीको रहर होइन बाध्यता हो । कृकिट्टे गाउँमा जम्मा १८ परिवारको मात्रै बसोवास रहेको छ ।

ज्वरो, पखाला, रुघाखोकी, आँउ आदी लागेको खण्डमा वन जङ्गलमा पाइने, लालीगुँरासको फूल, गनाल्दो, कटुकी, टिमुर पानी आदी खाएर उपचार गर्नुपर्ने अवस्था कृकिट्टे गाउँको रहेको स्थानीय बताउँछन् । घर परिवारमा कोही बिरामी भएमा जडीबुटी गरेर नै ठिक पार्नु पर्छ । यदी स्वास्थ्यमा जटिल समस्या आएको खण्डमा मात्रै ४ घण्टाको जङ्गलको बाटो भएर वडा नम्बर ३ कै अर्को गाउँ रूपातोलासम्म पुग्नु पर्छ । गाउँमा एउटा स्टेचरसम्म पनि छैन । गाउँलेहरूले बिरामीलाई डोको काटेर पिठ्यूँमा बोकेर नै स्वास्थ्य चौकीसम्म बोकेर लैजानु पर्छ ।

पाँच वर्षअघि २०७६ सालमा तलकोट गाउँपालिकाको पहलमा एउटा सामान्य प्राथमिक स्वास्थ्य उपचार दिनका लागि टिनको टहरा निर्माण गरी कृकिट्टे स्वास्थ्य क्लिनिक स्थापना गरी उक्त क्लिनिकमा स्वास्थ्यका सामाग्रीहरू समेत उपलब्ध गराएको थियो । तर स्वास्थ्यकर्मी नभएकै कारण उक्त औषधी तथा उपकरण पनि सडेर खेर गएको यहाँका स्थानीय बासिन्दाको भनाइ छ । गाउँलेहरूले हरेक महिनाको १८ गते स्वास्थ्यकर्मी गाउँमा आएर गाउँलेहरूको रेखदेख तथा औषधी उपचारसम्म गर्ने भन्ने निर्णय समेत गरेका थिए । तर उक्त कार्य गर्नु र नगर्नुको अर्थ नै भएन । बिरामी कति बेला हुन्छन् ? पत्तो हुँदैन ।

महिनाको १८ गते स्वास्थ्यकर्मी आए नआएको अर्थ नै नहुने यहाँका स्थानीयको भनाइ छ । यहाँका नागरिकहरूको आयआर्जनको स्रोत केही पनि नभएका कारण आर्थिक रूपमा पनि कमजोर छन् । स्थानीय अस्मिता बोहराले भने, ‘सडक गाउँमा पुगेको छ । गाउँमा कोही बिरामी भएर जीपलाई बोलाएर बुकिङ गर्नु परे १० हजारभन्दा बढी भाडा तिर्नु पर्छ । त्यत्रो रकम तिर्न सक्ने क्षमता गाउँमा कसैको पनि छैन । त्यसैले गाउँमा कोही धेरै भैहाल्यो भने डोकोमा नै बोकेर स्वास्थ्य चौकीसम्म लिनु पर्ने बाध्यता यहाँको छ । यस विषयमा सबै जनप्रतिनिधि, कर्मचारी जानकार नै छन् । तर समस्या समाधानका लागि पहलसम्म गरेको पाइँदैन ।’

‘हामी दुखी गरिबहरूको समस्या कस्ले बुझिदिने ?’ उनीसँगै रहेकी जुनादेवि बोहराले मत माग्दाखेरी गाउँमा पुग्ने जनप्रतिनिधिहरू पछि गाउँमा फर्केरसमेत नहेर्ने गरेको गुनासो समेत सुनाइन् । उनले एकोहोरो हुँदै भनिन्, ‘गाउँमा स्वास्थ्यको मात्रै समस्या नभइ खानेपानीको पनि हाहाकार हुन्छ । ताक्लाकोट सडक खण्ड कटान गर्ने ठेकेदारले पाइप दिएर खानेपानी खान पाएका छौँ । त्यो पनि बिहान र बेलुकी मात्रै उपलब्ध हुन्छ । खानेपानी दुनिबन खोलाबाट ल्याएका छौँ ।

कहिले त सडकमा काम गर्नेहरू सडकमा नै पानी चाहिने भएका कारण पानी दिन नै मान्दैनन् । पहिला गाउँ नजिकै खानेपानीको मुहान थियो । अहिले सडकले उक्त मुहान पूर्ण रूपमा क्षति गरेका कारण खानेपानीको हाहाकार भएको हो । यो समस्याको समाधानका लागि बोलिदिने मानिससम्म छैनन् । गाउँका सबै जना सोझा साझा छन् । आफ्नै खेतबारीमा उब्जाएको अन्न र काम र मजदुरी गरेर जीविका चलाउनु पर्ने अवस्था यस गाउँको छ ।’

यता तलकोट गाउँपालिकाका स्वास्थ्य संयोजक नरजीत खड्काले उक्त गाउँ निकै दुर्गम रहेको बताउँदै यहाँका नागरिकहरूले रूपातोला आधारभूत स्वास्थ्य सेवा केन्द्र धाउनुपर्ने समस्या रहेको स्वीकार गरे । त्यताबाट पनि ठिक नभएको खण्डमा यहाँका नागरिकहरू धमेना स्वास्थ्य चौकीमा पुग्नुपर्छ ।

भौगोलिक हिसाबले निकै दुर्गम भएका कारण गाउँघर क्लिनिक आफूहरूले चलाउँदै आएको समेत उनको भनाइ छ । यस्ता समस्याहरू आमा समूहको बैठकमा पनि छलफल गर्ने गरेको खड्काले बताए । उनले इस्टेचर र अन्य समस्याका बारेमा आफूलाई जानकारी नआएको बताउँदै खड्काले उक्त गाउँमा स्टेचर उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे । साथै उनले उक्त गाउँको समस्या समाधानका लागि पालिकामा छलफल गरी अघि बढ्ने बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १५ गते बिहीबार