‘बा’, जागिर र यादहरू



एउटा चिठी आदानप्रदान हुन महिनौँ लाग्थ्यो तर त्यो बेला मुसिकोटको कृषि कार्यलयमा आवा सेट रहेछ अनि संयोग हाम्रो घर नजिकैको कपास विकास समितिमा पनि आवा सेट थियो । अनि म कपासमा गएर अनुरोध गरि ‘बा’ सँग बेला बेला खबर आदानप्रदान गर्थेँ तर उता ‘बा’को अफिसमा त्यो आवा नभएको हुँदा एकोहोरो खबर छोड्ने गर्थेँ । त्यहाँका स्टाफले ‘बा’लाई खबर छोडिदिन्थे । म आवा कक्षमा पसेपछि घण्टौँ भुल्थेँ । अहिलेका केटाकेटी मोबाइलमा भुलेझैँ ।

सतिश निरौला ।

हाम्रो ‘बा’ले लामो समय जागिरपछि अवकाश लिएको अड्डा कृषि बैंक हो । त्यसपूर्व ‘बा’ टिम्बर कर्पोरेसन बाँके र बर्दियामा केही वर्ष अस्थायी र स्थायी जागिर खानुभो । ‘बा’ यतिबेला सेवानिवृत्त जीवन, पारिवारिक बसाइ र आध्यात्मिक सत्सङ्ग गर्दै बिताउँदै हुनुहुन्छ । ‘बा’को जीवन साँच्चिकै एउटा फिल्मी कथा भन्दा कम छैन ।

‘बा’ बर्मा हालको म्यानमारको मिचिनामा जन्मनु भो । बाल्यकाल बर्मा मिचिना र लावरबारीकै सेरोफेरोमा बिते । ‘बा’का ‘बा’ अर्थात मेरा हजुरबा सुदूरपूर्वको जिल्ला ताप्लेजुङको चाङ्गेको रमाइलो बस्ती छोडेर उ बेला केही दाम कमाउने र सुखद भविष्यको खोजीमा दोस्रोे विश्वयुद्धमा ब्रिटिस सेनाका सहयोगी बनेर बर्मा पुग्नु भो ।

उतै घरजम भो । ९ भाई छोराहरू र तीन छोरीसहित एक दर्जन आफ्ना बालबच्चाका धनी हुनुभो । हजुरबुबाले मृत्युपूर्व आफ्नो जेठो छोरा मेरा बडा ‘बा’लाई आमा र भाइबहिनीहरू लिएर आफ्नै देश फर्किने आदेश गर्नुभएको थियो रे । त्यही आदेश तामिली गर्दै बडा ‘बा’ नेपाल फिर्नु भो । एकमहिना जहाजमा ऐरावती नदीको जलयात्रा गर्दै । त्यो यात्रामा मेरी जेठी फुपू विवाह भैसकेको कारण बर्मा मै छुट्नु भो । पछिल्लो समय इन्टरनेटको पहुँचका कारण फुपूसङ्ग भेट भैरहन्छ । बर्माबाट नेपाल फिर्दाका पनि लामै कथा छन् ‘बा’ हरूका ।

उबेला अहिले जस्तै सैनिक शासन नै थियो बर्मा देशमा । देश छोडेर नेपाल आउन सजिलो थिएन रे ! तर त्यही समयमा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले भारतीय रिफ्युजीहरूलाई बर्मा, बङ्गलादेश लगायत देशबाट फर्किन अपिल गरिछन् । अझ बर्माबाट फर्किनेलाई त ‘क’ श्रेणीको सुबिधासहित त्यही मौका छोपेर जे जतिमा बिक्छ त्यति मै आफ्नो सिरिखुरी बेचेर दलाललाई पैसा खुवाएर भारतीय शरणार्थीका रूपमा धेरै नेपालीहरू आएछन् त्यही हुलमा त्यसैगरी ‘बा’हरू पनि भारत पस्नु भो ।

‘बा’हरूलाई भारतको हस्तिनापुरमा कलोनी दिएर बसाइएछ । अनि हप्तामा केही पकेट मनि, जागिर र पढाइ लेखाइ सबै व्यवस्था गरिदिएको थियो इन्दिरा गान्धी सरकारले । तर, ‘बा’हरू त्यहाँको सुख र सुविधामा रमाउनु भएन । त्यहाँबाट भागेर उहाँहरू २०२७ सालमा बाँकेको खजुरा आइपुग्नु भो । आफ्नो देश त आइयो त्यसपछि त झन् संघर्षपूर्ण अवस्था सुरु भो । हाल खजुरा–२ गौघाटमा जङ्गल फाँडेर मानखोला किनारमा बस्यो बर्मेली बस्ती । जुन अहिले पनि बर्मेली टोल भनेर चिनिन्छ । ‘बा’का जागिरे याद लेख्न खोज्दाखोज्दै कलम त अर्कैतिर पो बगेछ । ‘बा’को जागिरे जीवनका ती यादहरू लिपिबद्ध गर्ने जमर्को गर्दै छु ।

‘बा’ले एकदशक बढी टिम्बर कर्पोरेसनको जागिर अवधि स्थायी दरबन्दीमा कार्यरत रहँदारहँदै राजीनामा दिएर कृषि बैंकको लेखापाल पद (खरदार)को परीक्षा दिनुभो । दह्रो आत्मविश्वास थियो सायद । त्यसैले स्थायी जागिर छोडेर नयाँ कामको लागि उभिनु भयो । संयोग त्यो हिम्मत र आत्मविश्वास परिणाममुखी नै भयो । ‘बा’ लिखित र मौखिक दुवै परीक्षामा पास हुनु भयो । त्यो बेला न त कुनै पहुँच थियो ‘बा’ को । न त आर्थिक चलखेल नै । तर, ‘बा’ पास हुनु भो र २०४५ सालमा ‘बा’को पहिलो पोस्टिङ भेरी अञ्चल अन्तर्गतको दैलेखमा रहेको कृषि विकास बैंक उपशाखामा भयो । ‘बा’को जागिर सुरु भो उतै । त्यसको केही महिनापछि हामी नि दैलेख सरुवा भैयो ‘बा’ सँगै ।

सुर्खेतसम्म रैना बस चढेर गएपनी त्यहाँबाट पैदल यात्रा सुरु भो । पहिलो दिन गुराँसे भन्दा अलि तल घोडाबास काटेर गाइबान्ना भन्ने ठाउँमा बास बसियो । उबेला खाना खाइदिएपछि बास बस्न फ्री । सिद्धपाइला, डुङ्गेश्वर हुँदै अगाडि बढ्दा लादेको उकालोले लोद फर्काएको थियो । निकै गाह्रो घोरेटो बाटो हिँड्दाहिँड्दै बाटोमा शरीर पहेँलो हुने ठाउँ नि थियो । ठ्याक्कै मान्छेलाई जन्डिस लागे जस्तो हुने । त्यहाँ सुनखानी भएकोले त्यस्तो हुन्छ भन्ने सुनिन्थ्यो ।

एकरात बाटोको बास र एकदिनको पूरा हिँडाइपछि हामी दैलेखको तर्ताङ पुगियो । ‘बा’को बसाइ (कोठा) त्यहीँ थियो । हामीसँगै ‘बा’ सँगैै खरिदारमा नाम निकाल्नुभएका बराल अंकल (खेमराज बराल, धौलागिरी)पनि सँगै जानुभएको थियो । बैनीहरू निकै साना थिए । अंकलले पालैपालो बोक्दै हामीलाई लैजानु भएको थियो । भरिया खोजेर डोकोमा बोकाएर लैजान खोज्नु भएको थियो ‘बा’ले तर हामीले मानेनौँ भरिया गन्हाउँछन् भनेर । अनि हामी अलिअलि हिँड्दै अलिअलि ‘बा’, मम्मी र अंकलले बोक्दै पु¥याउनु भो दैलेख ।

धेरै लामो बसाइ बसेनौँ हामी दैलेख । तर, छोँटै समयको बसाइ भएपनि दैलेख बस्दाको रमाइलो सम्झनाहरू स्कुलमा भुइँको स्लेट(ढुङ्गा)मा लेखेको, बराल अंकलले कापीमा पेन्सिल लेखेर कापी भरिएपछि पनि फेरि इरेजरले मेटेर कापी नच्यातिउन्जेलसम्म मेट्दै लेख्दै गर्न लाएको याद आउँछ ।

त्यसको केही वर्षपछी ‘बा’को सरुवा बुटवल भयो । सँगै हामी पनि सरुवा भैयो मणीग्राममा । डेरा थियो त्यहाँ । त्यहाँ पनि एकवर्ष झन्डै हामी बसियो । त्यो बेला दूरर्दर्शन च्यानलबाट महाभारत आउँथ्यो । हामी पढ्ने स्कुलमा महाभारत हेर्न कै लागि प्रत्येक आइतबार स्कुल ११ बजेपछि मात्रै लाग्थ्यो । एक घण्टा महाभारत हेर्ने विशेष छुट थियो हरेक आइतबार । यसपछि पनि बाँके बाहिर ‘बा’ तौलिहवा, मुसिकोट (रूकुम) र सुर्खेत सरुवा भएपनि हामी सरुवा भएनौँ । त्यो बाहेक ‘बा’ बाँकेको खजुरा र नेपालगन्जमा सरुवा हुनुभो । यसरी सायद झण्डै २० वर्ष सेवापछि ‘बा’ले उमेर हदका कारण स्वेच्छिक अवकाश लिनुभो ।

‘बा’ रूकुमको मुसिकोट हुँदाका केही रमाइला याद छन् म सँग । उ बेला सञ्चारको क्षेत्र निकै अप्ठ्यारो थियो । इन्टरनेट र फेसबुक अनि मोबाइलको त कुरा छोडौँ त्यो बेला टेलिफोन पनि पहुँचमा थिएन । एउटा चिठी आदानप्रदान हुन महिनौँ लाग्थ्यो तर त्यो बेला मुसिकोटको कृषि कार्यलयमा आवा सेट रहेछ अनि संयोग हाम्रो घर नजिकैको कपास विकास समितिमा पनि आवा सेट थियो । अनि म कपासमा गएर अनुरोध गरि ‘बा’ सँग बेला बेला खबर आदानप्रदान गर्थेँ तर उता ‘बा’को अफिसमा त्यो आवा नभएको हुँदा एकोहोरो खबर छोड्ने गर्थेँ ।

त्यहाँका स्टाफले ‘बा’लाई खबर छोडिदिन्थे । म आवा कक्षमा पसेपछि घण्टौँ भुल्थेँ । अहिलेका केटाकेटी मोबाइलमा भुलेझैँ । देशभर भैरहेको आवाको आदानप्रदान सुनिन्थ्यो त्यो सेटमा । बडो रमाइलो लाग्थ्यो मात्रै अढाई दशक अघिको त्यो परिवेश र अहिले सञ्चारको क्षेत्रमा नेपालले मारेको फड्को वास्तवमा अरु कुरामा त त्यस्तै सूचना र प्रविधिको यो क्षेत्रमा नेपालमा रिभोल्युसनरी चेन्ज भएकै हो जस्तो लाग्छ ।

हाम्रो ‘बा’ले झन्डै दुई दशक बढी सेवा गर्दै खरिदारबाट जागिरमा प्रवेश गरि अधिकृत तहबाट सेवा निवृत्त हुनुभएको थियो । ‘बा’को अवकाश प्राप्त जीवन अब सरल रूपमा बितिरहेको छ । ‘बा’लाई स्वस्थ्य जीवनको कामना ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १५ गते बिहीबार