उपमेयर कप छात्रा क्रिकेट: बालशिक्षा, ज्ञानज्योति र बागेश्वरी विजयी



कोहलपुर ।

बाँकेको कोहलपुरमा जारी ७औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता–२०८१ को दोस्रो दिन तीन खेलहरू भएका छन् । कोहलपुर नगरपालिकाको आयोजना बुधबारदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिन बिहीबार तीन खेलहरू भएका हुन् । दोस्रो दिन भएका खेलमा बालशिक्षा मावि भरैया, ज्ञानज्योति मावि र बागेश्वरी स्कुल विजयी भएका थिए ।

दोस्रो दिनको पहिलो खेलमा बालशिक्षा मावि भरैयाले सेन्चुरी माविलाई ११७ रनको फराकिलो अन्तरले हराउँदै जीत हासिल गरेको हो । टस जितेर सेन्चुरी माविले पहिले फिल्डिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको बालशिक्षा मावि भरैयाले ४ विकेट गुमाउँदै १४३ रनको लक्ष्य सेन्चुरी माविलाई दिएको थियो । बालशिक्षा माविले दिएको १४३ रनको लक्ष्य पछ्याउँदै सेन्चुरी माविले ७.३ ओभरमा २६ रन बनाउँदै अलआउट भएको हो ।

बालशिक्षा मावि भरैयाकी सम्झना पुनले ३ ओभरमा ९ रन गुमाउँदै ५ विकेट समेत लिन सफल भइन् । उनी प्लेयर अफ द म्याच समेत बनेकी थिइन् । दोस्रो खेलमा ज्ञानज्योति माविले जनता माविलाई ३९ रनको अन्तरले हराएको हो ।
यस्तै दोस्रो खेल जनता मावि र ज्ञानज्योति माविबीच भएको थियो । ज्ञानज्योति माविले खेलको निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै ९० रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको जनता माविले ५१ रन बनाउँदै अलआउट भएको हो । ज्ञानज्योति माविकी सन्धा थापाले ३ ओभरमा ६ रन गुमाउँदै ४ विकेट लिएकी थिइन् । सो खेलमा उनी प्लेयर अफ द म्याच समेत बनिन् ।

यस्तै तेस्रो खेलमा बागेश्वरी स्कुलले ग्रिन पिस माविलाई ८ विकेटले हराएको हो । पहिले टस जितेर ग्रिन पिस माविले ब्याटिङ रोजेको थियो । बागेश्वरी माविलाई बलिङ निम्तो दिएको ग्रिन पिस माविले खेलको निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै बागेश्वरी माविलाई ६६ रनको लक्ष्य दिएको थियो ।

ग्रिन पिस माविले दिएको लक्ष्य पछ्याउँदै बागेश्वरी माविले ९.१ ओभरमा २ विकेट गुमाउँदै ६७ रनको लक्ष्य सहजै प्राप्त गरेको हो । बागेश्वरीलाई जित दिलाउन रेखा गुरुङले ४ विकेट लिएकी थिइन् । उनले प्लेयर अफ द म्याच समेत प्राप्त गरेकी हुन् । यसको साथै सेन्चुरी मावि, जनता मावि र ग्रिन पिस मावि नकआउट भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ९ गते शुक्रबार