दाङ ।
पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीको स्रोत बन्दै गएका हुन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नुका साथै ऋण लिएर आयसोमबार्रन गर्न थालेका छन् । बेफुर्सदिला हुन थालेका अधिकांश महिलाले रकम झिक्ने र राख्ने गर्दा सहकारी संस्था फलदायी तथा नाफामुखी बन्दै गएका छन् ।
दाङको घोराही उपमहानगरपालिका–१३ वनगाउँमा रहेको ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध भएकी घोराही–१३ बगालेका निशा रोकाले अहिले व्यावसायिक रूपमा कृषि व्यवसाय गर्दै आएकी छिन् । सात वर्षदेखि सहकारीमा जोडिएर थोरै भए पनि बचत गर्नुपर्छ भन्ने बानीको विकास भएको किसान रोकाले बताइन् ।
‘संस्थामा बचत गरेको रकमले आफूलाई समस्या परेको समयमा निकालेर समस्या समाधान गर्न सकिन्छ’, उनले भनिन् । सहकारी संस्थामा मासिक रु एक हजार बचत गर्दै आएको उनको भनाइ छ । व्यावसायिक रूपमा कृषि व्यवसाय गर्न थालेको १२ वर्ष भएको बताउँदै उनले यहीबाट परिवारको जीविकोपार्जन हुँदै आएको बताउँछिन् । तरकारी समयमै उत्पादन गर्न सकियो भने आम्दानी हुने उनको भनाइ छ ।
आम्दानी धेरै हुने गरे पनि घर खर्च कटाएर मासिक ३०-३५ हजार बचत हुने बताइन् । उनले अहिले टमाटर बिक्री गर्दै आएकी छिन् । पछिल्लो समय टमाटरको भाउ केही घटेको उनी बताउँछिन् । ऋण आवश्यक परेको बेला सहकारीबाट नै लिने गरेको उनले बताइन् ।
उनी जस्तै सहकारीका अर्का सदस्य मनकुमारी घर्ती सहकारीमा आबद्ध भएपछि खुसी छिन् । आवश्यक परेको बेला सहुलियत ब्याजमा ऋण लिन पाइने उनी बताउँछिन् । उनले १० कठ्ठामा आलु, टमाटर, प्याज खेती गर्दै आएकी छिन् ।
उनले भनिन्, ‘दुःख नगरेर कृषिमा आम्दानी हुँदैन । आफैँ खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ ।’ २-४ रूपैयाँ आवश्यक परेको बेला अन्यसँग हात थाप्नुभन्दा आफैँ कृषि व्यवसाय गरेर आम्दानी राम्रो हुँदै गएको उनले बताइन् । उनले भनिन्, ‘खाली घरमा बस्नुभन्दा कृषि पेसा आम्दानीको राम्रो स्रोत रहेको छ’, उनले कृषि पेसाबाटै मासिक रूपमा रु १०-१५ हजार बचत गर्ने गरेको बताइन् । सहकारीमा जोडिएर कृषि व्यवसाय गर्नका लागि धेरै कुरा सिक्ने अवसर प्राप्त गर्दै आएको बताइन् । उनले आफू जस्तै अन्य दिदी बहिनीलाई कुनै न कुनै पेसा व्यवसायमा जोडिन आग्रह गरिन् ।
ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्थाका सचिव रामकली घर्तीले १२ वर्षदेखि सञ्चालनमा रहेको सहकारीमा महिला मात्रै आबद्ध हुँदै आएको बताइन् । हाल संस्थामा सात सय ५० जना सदस्य छन् । वडा सदस्यसमेत रहेकी उनले सहकारीका सदस्यले विभिन्न कृषिसम्बन्धी सहयोगहरू प्राप्त गर्दै आएको बताइन् । सहकारीले महिलामा आपसी सद्भाव, सहकार्य, सिकाइ आदानप्रदानका कुरामा महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताइन् ।
सहकारीबाट सहुलियतमा ऋण लगेर विभिन्न पेसा, व्यवसायमा जोडिएर स्वावलम्बन बन्न सफल भएको उनी बताउँछिन् । सदस्यहरूले मासिक रु दुई सयदेखि दुई हजारसम्म बचत गर्दै आएको उनको भनाइ छ । संस्थामार्फत रु एक लाख ५० हजारसम्म ऋण लगानी गरेको उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस्