राष्ट्रिय घर निर्माण महोत्सवको आयोजना गरिदैँ



काठमाडौँ ।

नेपालमा पहिलो पटक राष्ट्रिय घर निर्माण फेस्ट (महोत्सव) २०८१ आयोजना गरिने भएको छ । स्किल सेवाले नेपालमा पहिलो पटक राष्ट्रिय घर निर्माण महोत्सव गर्न लागेको हो । नयाँ घर निर्माणका लागि आवश्यक सम्पूर्ण सेवाहरू एउटै छत मुनि समेटेर प्रदान गर्ने उद्देश्यका साथ हुन गइरहेको यो महोत्सव निर्माण सम्बन्धी मापदण्ड तथा अत्याधुनिक प्रविधिको चर्चा गरिनेछ ।

यस महोत्सवको प्रमुख उद्देश्य नागरिकहरूलार्ई घर निर्माण सहजीकरणको एकीकृत प्लेटफर्म उपलब्ध गराउनु रहेको स्किल सेवाले जनाएको छ । महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद्, नगरपालिकाका अधिकारी, उद्यमी, विद्यार्थी र इच्छुक जनसमुदायका प्रतिनिधिहरू सहभागी हुनेछन् । जसमा विभिन्न निर्माण सम्बन्धित कम्पनीहरू र बैंकको स्टल पनि रहने आयोजक स्किल सेवाले जनाएको छ ।

आगामी फागुन १५, १६ र १७ गते बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा हुने महोत्सवमा करिब पाँच हजारभन्दा बढीको सहभागिता हुने आंकलन गरिएको छ । कार्यक्रमबाट लाभ उठाउन आह्वान गर्दै कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष रमेश तिमिल्सिनाले भने, ‘हरेक व्यक्तिको लागि आफ्नो घर जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो त्यसैले यस सम्पत्तिलार्ई भरपर्दो, सुरक्षित र दिगो बनाउनु अत्यावश्यक छ ।’

महोत्सवले आधुनिक विचार, प्राविधिक दक्षता र लगानीको उचित व्यवस्थापन मार्फत घर निर्माणका नवीनतम अवधारणाहरूलार्ई व्यवहारमा उतार्न सहयोग पु¥याउने अपेक्षा राखिएको छ । स्किल सेवाका अनुसार महोत्सव मार्फत कम्पनीले घर निर्माण गर्दा खर्च कम गर्ने उयायहरूको बारेमा बताउने छ । जसमा कस्तो खालको सिमेन्ट, इटा, डन्डी, ग्लास, टायल्स प्रयोग गर्ने बारे समेत सिकाउने छ ।

प्रदर्शनीमा आधुनिक र पारम्परिक डिजाइन, खुला स्थानको सदुपयोग, ऊर्जा बचत तथा हावापासको उचित व्यवस्थापनका साथै गुणस्तरीय विचारहरूको प्रस्तुति हुने छन् । यसका अतिरिक्त, लगानी जुटाउने र साझेदारीका अवसरहरू समेत उजागर गरिने छन् जसले समग्र आवास निर्माण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा राखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ९ गते शुक्रबार