आर्थिकदेखि राजनीतिमा अर्थपूर्ण सहभागिता खोज्दै युवा



युवाहरू भन्छन्, ‘लोकतन्त्रलाई सुदृढ बनाउने, युवा आवाजलाई प्रतिनिधित्व गराउने, नयाँ विचार तथा प्रविधिको प्रयोगद्वारा निर्वाचन प्रणालीलाई सुधार गर्ने, दीर्घकालीन नीति निर्माणमा योगदान पु¥याउने लगायतका कार्य भए राजनीतिमा युवाहरूको अर्थपूर्ण सहभागिता हुने छ ।’

शेरबहादुर ऐर । कैलाली ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ ‘क’ मा २०७९ सालको निर्वाचनमा आंकाक्षी थिए ४० वर्षीय नेकपा (माओवादी केन्द्र)का नेता लक्षीराम आचार्य । सत्ता गठबन्धनबीचको तालमेलमा नेकपा एकिकृत समाजवादीको भाग परेपछि उनी उम्मेदवार हुनबाट वञ्चित भए । २०६२-०६३ मा भएको जनआन्दोलनमा प्रत्यक्ष संलग्न रहेका कैलालीको गौरीगंगा नगरपालिका–३ (साबिक चौमाला–९) कुचैनीका आचार्यलाई युवाहरूको अवस्था हेर्दा चिन्ता बढ्छ । ‘व्यवस्था बदलिएको छ । तर, युवाहरूको अवस्था अझै उस्तै रहेको छ’ उनी भन्छन् । व्यवस्था परिवर्तनका लागि लडेका उनी हाल देश र जनताको अवस्था हेरेर भन्छन्–‘सामाजिक, आर्थिक र राजनैतिक अवस्था हेर्दा अझै युवाहरूको समस्यामा सुधार हुन सकेको छैन ।’

आचार्यले शासन व्यवस्थामा धनवाला र डनवालाको हालीमुहाली बढ्दै जाँदा जनतामा निराशा बढ्दै गएको बताए । हाल नेकपा माओवादीको केन्द्रीय सदस्य रहेका आचार्य जनआन्दोलनका घाइते हुन् । ‘ओहो ! १९ वर्ष भएछ, मरेर बाँचेको । यस्तै छ । बाँचियो, यही खुसीको कुरो हो,’ उनले भने, ‘धेरै संघर्ष गरियो । केही हासिल भयो । शासन व्यवस्थामा अझै धेरै सुधार हुन बाँकी छ ।’ २०६२-०६३ सालको जनआन्दोलनताका उनी संयुक्त विद्यार्थी जनआन्दोलन परिचालन समिति कैलालीका संयोजक थिए ।

२०६२ चैत २८ गते धनगढीको क्याम्पस चोकबाट चौराहातिर आन्दोलनकारीको जुलुस बढ्दै थियो । जिल्ला प्रहरी कार्यालय कैलाली नजिकैको पुलमा प्रहरीले काँडेतार तेस्र्याएर बाटो अवरुद्ध पारेको थियो । त्यहाँ पुग्दा प्रहरी र आन्दोलनकारीबीच झडप भयो र गोली चल्यो । बारुद्को छर्रा लागेर आचार्यको कपाल जल्यो । भागाभाग भयो । आचार्यले त्यो दिन सम्झिँदै भने, ‘१०-१५ जना प्रहरीको समूहले घेरा हालेर कुट्नसम्म कुटे । नजिकैको बाँसको झाडीमा हाम फालेँ । बेहोस भएछु ।’

सात दिनपछि होस खुल्दा आफूलाई भारतको लखनउस्थित स्वामी विवेकानन्द हस्पिटलमा पाएको उनले सुनाए । उनी अहिले राजनीतिक अस्थिरता, बेरोजगारी, आर्थिक अभाव लगायतका कारण युवाहरू सत्तामा पुग्न नसकिरहेको बताउँछन् । कैलारी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष हुन् दिपेन्द्र बम । २०६२-०६३ को जनआन्दोलनमा सहभागी भएका उनी अहिले सरकारमा छन् । तर, अझै युवा क्षेत्रमा उनको भूमिका प्रभावकारी देखिन्न । कैलारी गाउँपालिका कृषि क्षेत्रमा आधारित क्षेत्र हो । तर, अहिले त्यहाँका युवाहरू कृषि खेति गरेर घरखर्चका लागि भारत जान बाध्य छन् ।

उनी भन्छन्, ‘प्रजातन्त्र स्थापनापछि गाउँ–गाउँमा शिक्षा, स्वास्थ्यको पहुँच पुगेको छ । युवाहरूमा जागरण पैदा भएको छ । युवाहरूको राजनीतिमा पहुँच बढेको छ । तर, ठूला उद्योग, कलकारखाना नहुँदा अहिले पनि युवाहरू बेरोजगार बन्नुपर्ने अवस्था रहेको छ । जसका कारण विदेश पलायन हुनुपर्ने अवस्था रहेको छ ।’

निर्वाचन कार्यालय धनगढीका अनुसार राजनीतिक अस्थिरता तथा अविश्वास, जानकारीको अभाव, रोजगारी तथा आर्थिक समस्याहरू, युवा उमेर समूहप्रति ध्यान नदिने प्रवृत्ति, परम्परागत सोच र परिवारको प्रभाव लगायतका कारण अझै पनि संघ, प्रदेश र स्थानीय तहमा युवा सहभागिता हुन सकेको छैन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा २१ देखि ४० वर्ष उमेर समूहका ३९ दशमलव ६५ प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका थिए भने २०७९ सालको स्थानीय तह निर्वाचनमा २१ देखि ४० वर्ष उमेर समूहका ४० प्रतिशत जनप्रतिनिधि निर्वाचित भएको तथ्यांकमा उल्लेख छ ।

स्थानीय तहको २०७४ मा भएको निर्वाचनबाट ३५ हजार ४१ जनप्रतिनिधि चयन भएकोमा २१ देखि ४० वर्ष उमेर समूहका १३ हजार ८९३ अर्थात् ३९ दशमलव ६५ प्रतिशत थियो । उक्त निर्वाचनमा एक लाख ४८ हजार ३६२ उम्मेदवार युवा उम्मेदवार सङ्ख्या ५७ हजार सात सय एक थियो भने प्रदेश सभाका पाँच सय ५० पदमध्ये २५ देखि ४० वर्ष उमेर समूहका एक सय ३० अर्थात् २३ दशमलव ६० प्रतिशत युवा जनप्रतिनिधिको प्रतिनिधित्व थियो र प्रतिनिधि सभातर्फ दुई सय ७५ पदमध्ये २५ देखि ४० वर्ष उमेर समूहका ३६ अर्थात् १३ दशमलव १० रहेको थियो ।

२०७४ मा राष्ट्रिय सभाका ५९ पदमध्ये ३५ देखि ४० वर्ष समूहका चार अर्थात् ६ दशमलव ८० प्रतिशत युवाको प्रतिनिधित्व थियो । निर्वाचन आयोगका अनुसार २०७९ को निर्वाचनमा प्रतिनिधि सभाका एक सय ६५ र प्रदेश सभाका तीन सय ३० सिटमा देशभरबाट पाँच हजार छ सय ३६ जना उम्मेदवार थिए । तीमध्ये ४० वर्ष र सोभन्दा मुनिका युवा उम्मेदवारहरूको सङ्ख्या एक हजार सात सय ६६ अर्थात् ३१ दशमलव ३३ प्रतिशत थियो । तर, देशभर बलियो संगठन भएका प्रमुख दलहरूले भने युवालाई उम्मेदवार बनाएका छैनन् । ठूला दलले युवालाई उम्मेदवार नबनाएका कारण अधिकांश ठाउँमा युवा उम्मेदवारहरू मुख्य प्रतिस्पर्धामा आउन नसकेको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहमा निर्वाचन २०७९ बाट निर्वाचितमध्ये ४० प्रतिशत युवा छन् । तर, संसदमा भने त्यतिकै सङ्ख्यामा युवा प्रतिनिधित्व नहुने गरेको आयोगको तथ्यांकमा रहेको छ । निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले यसपटक प्रतिनिधि सभा र प्रदेश सभामा परेको युवा उम्मेदवारी विगतभन्दा कमजोर रहेको बताए । ०७४ को निर्वाचनमा पाँच हजार एक सय ९० ले उम्मेदवारी दिएकोमा एक हजार आठ सय नौ युवा थिए भने यसपटक पाँच वर्ष अघिको भन्दा कम उम्मेदवारी परेको उनको भनाई छ ।

प्रतिनिधि सभा सदस्यका लागि दुई हजार चार १२ जना उम्मेदवार रहेकोमा सात सय ५९ जना युवा थिए भने प्रदेश सभा सदस्यतर्फ तीन हजार दुई सय २४ उम्मेदवारमध्ये एक हजार सात जना युवा उम्मेदवार थिए । उनले भने, ‘उम्मेदवारी दिएकामध्ये करिब आधाको सङ्ख्यामा स्वतन्त्र उम्मेदवार थिए । यसबाट राजनीतिक दलले युवालाई उम्मेदवारका रूपमा अघि सार्न विश्वास नगरेको पुष्टि हुन्छ ।’
प्रतिनिधि सभा सदस्यका सात सय ५९ युवा उम्मेदवारमध्ये तीन सय ५६ जना स्वतन्त्र उम्मेदवार थिए भने दलबाट टिकट पाएका युवाको सङ्ख्या चार सय तीन थियो । उनले भने, ‘तर प्रमुख राजनीतिक दलले भने औंलामा गन्न सकिने सङ्ख्यामा मात्रै युवालाई उम्मेदवार बनाएका छन् ।’

प्रदेशसभा सदस्यतर्फ भने ठूला दलले पनि तुलनात्मक रूपमा धेरै युवालाई उम्मेदवार बनाएका थिए । प्रदेशसभा सदस्यका लागि तीन हजार दुई सय २४ उम्मेदवारमध्ये एक हजार सात जना युवा थिए । त्यसमध्ये प्रमुख दलहरू नेकपा एमालेले १७, नेपाली कांग्रेसले १५ र नेकपा (माओवादी केन्द्र)ले २१ जना ४० नकटेका युवालाई उम्मेदवार बनाएका थिए ।

प्रदेश सभा सदस्यमा जनता समाजवादी पार्टीले ३५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७४, लोकतान्त्रिक समाजवादी पार्टीले २१, नेकपा एकीकृत समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले २८, नेपाल मजदुर किसान पार्टीले ४८ र मंगोल नेसनल अर्गनाइजेसनले ७१ युवालाई उम्मेदवार बनाएका थिए ।

युवाहरू भन्छन्, ‘लोकतन्त्रलाई सुदृढ बनाउने, युवा आवाजलाई प्रतिनिधित्व गराउने, नयाँ विचार तथा प्रविधिको प्रयोगद्वारा निर्वाचन प्रणालीलाई सुधार गर्ने, दीर्घकालीन नीति निर्माणमा योगदान पु¥याउने लगायतका कार्य भए राजनीतिमा युवाहरूको अर्थपूर्ण सहभागिता हुने छ ।’

आज विशेष कार्यक्रम गर्दै सुदूरपश्चिम सरकार 

आज ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा कैलालीको धनगढीमा प्रदेश सरकारले विशेष कार्यक्रम आयोजना गर्दै छ । कार्यक्रमको शुभारम्भ गर्न धनगढीको शहिद गेटबाट सुदूरपश्चिम प्रदेश सरकारले प्रभात फेरि गर्दै छ । शहिद गेटमा शहिदहरूको स्मारिकमा माल्र्यापण गरि शुभारम्भ हुने ¥याली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगेर विशेष समारोह आयोजना गरिने छ ।

प्रदेश प्रमुख नजिर मियाँको प्रमुख आतिथ्यमा हुने समारोहमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरू, राज्यमन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू लगायतको सहभागिता रहने कार्यक्रम तय भएको छ । यस्तै, मंगलबार प्रजातन्त्र दिवसको अवसमार प्रदेश सरकार मातहात रहेका मन्त्रालयहरूले झण्डा तथा व्यानर सजाई कार्यालय सरसफाई गर्नुका साथै राती मन्त्रालय तथा कार्यालयहरूमा दिप प्रज्वलन गरि दिपावलीका रूपमा मनाइएको छ ।

यससँगै सरकारी कार्यालयहरूले आफ्नो वेवसाईट र डिप्ले बोर्डमा प्रजातन्त्र दिवसको शुभकामना सन्देश प्रकाशन गरेका छन् । विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनीया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा अन्य संघ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

संघियतासँगै प्रदेश सरकार गठन भएयता प्रदेश सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरूपमा दिवस मनाउँदै आएको थियो । तर, यस वर्ष मंगलबार र बुधबारमात्र दिवस मनाउने गरि कार्यक्रम तय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ७ गते बुधबार