केपी ओली कप फुटबलमा ९ टोलीले प्रतिस्पर्धा गर्ने



काठमाडौँ ।

केपी ओली कप फुटबल प्रतियोगितामा ९ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । दुई विदेशीसहित ९ टोलीले तेस्रो संस्करणको प्रतियोगिता खेल्ने आयोजक राष्ट्रिय युवा संघले जनाएको छ ।

प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म काठमाडौँ र ललितपुरमा हुँदैछ । प्रतियोगितामा आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको उज्वेकिस्तानको ब्ल्याक बुल्स र भुटानको ट्रान्सपोर्ट युनाइटेड विदेशी टिमको रूपमा छन् । यस्तै नेपालबाट तीन विभागीय टोली त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब र एपीएफ एफसीसँगै मच्छिन्द्र एफसी, न्युरोड टिम (एनआरटी) र संकटा एफसीले प्रतिस्पर्धा गर्नेछन् । आयोजकको टिम केपी एफसी पनि सहभागि हुनेछ ।

प्रतियोगिताको टाई सिट केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ । ए डिभिजनका अन्य क्लबसँगै अन्य विदेशी टोलीको पनि सहभागिताको चर्चा भएपनि अन्तिममा ९ टिमले मात्र खेल्ने भएको हो । यसअघि प्रतियोगिताको मिति सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा आयोजकले १० टोली सहभागि हुने बताएको थियो । प्रतियोगिताको क्वार्टरफाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान र सेमिफाइल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।

खेल तालिका सार्वजनिक

केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको पहिलो खेलमा फागुन ११ गते विभागीय टोली एपिएफले उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको सामना गर्नेछ । प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लबले विभागीय डर्बी पुलिस क्लबको सामना गर्ने तालिका छ । क्वार्टरफाइनलको दोस्रो खेलमा भने आयोजक केपी ओली एफसीले खेल्नेछ ।

उसले बुढासुब्बा च्याम्पियन न्यूरोड टिम–एनआरटीसँग खेल्ने तालिका रहेको छ । पहिलो खेलको विजेताले फागुन १३ गते संकटासँग खेल्नेछ । १३ गते नै मछिन्द्रले एफी ट्रान्सपोर्ट युनाइटेडसँग खेलेपछि सेमिफाइनल समिकरण पुरा हुनेछ। केपी ओली कपमा फागुन १२ र १३ गते डबल हेडर हुनेछन् ।

सेमिफाइनल खेल १४ र १४ आयोजना गरिएको आयोजक राष्ट्रिय युवा संघले जानकारी दिएको छ। विजेतालाई १५ लाख पुरस्कार राशी रहेको प्रतियोगिताको उपविजेताले पाँच लाख पाउनेछन् । विधागत रुपमा उत्कृष्ट खेलाडीले पनि पुरस्कार पाउनेछन् ।

सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा साँझ पाँच बजे हुनेछ । त्यसअघिका सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । फाइनल खेल फागुन १९ गते हुनेछ । प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ तथा उपविजेताले पाँच लाख रूपैयाँँसहित ट्रफी पाउनेछन् । यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रूपैयाँँ पाउनेछन् । मछिन्द्रले यसअघि भएको दुवै संस्कणको उपाधि जितेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ७ गते बुधबार