एचआईभी रोग सम्बन्धी सडक नाटक प्रदर्शन



कोहलपुर ।

अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा समाज सेवा संस्था नेपालले नेपालगन्ज बसपार्कमा सडक नाटक प्रदर्शन गरेको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा एएचएफ नेपालको सहयोगमा संस्थाले बिहीबार सडक नाटक प्रर्दशन गरेको हो ।

समाज सेवा संस्था नेपालका अध्यक्ष बिनोद थापाले नागरिकले अहिले पनि कन्डम कसरी प्रयोग गर्ने भन्नेबारे धेरैलाई जानकारी समेत नभएको बताए । उनले शारीरिक सम्बन्ध राख्ने व्यक्तिलाई कुनै सर्ने रोगहरू लागेको भए कन्डमको प्रयोग नगरी यौन सम्पर्क गर्दा पार्टनरलाई एचआईभी र एड्स जस्ता रोग सर्ने जोखिम हुने जानकारी दिए ।

कन्डमको प्रयोग गरिएपनि कन्डम लगाउने सही तरिका, कन्डमको प्रयोग गर्ने तरिका सही ढंगले हुन नसक्दा त्यसबाट हुनसक्ने क्षतिका बारेमा खासै चासो र परामर्श नहुँदा त्यसबाट प्रयोगकर्ताले अपेक्षा गरेजस्तै सुरक्षा भने नभइरहेको उनको भनाइ छ । एचआईभी एड्स, यौनरोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कन्डमको प्रयोग गर्नुपर्ने, कन्डम प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी लागयतका विषयमा जानकारी दिएको उनले बताए ।

सहवासको बेलामा वीर्य निस्कँदा कन्डममै जम्मा हुने र महिलाको पाठेघरमा पुग्न नदिई गर्भ रहनबाट रोक्ने काम गर्ने उनको भनाइ थियो । कार्यक्रममा कलाकारहरूले एचआईभी र एड्स सम्बन्धी जनचेतनामूलक सडक नाटक समेत प्रदर्शन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २ गते शुक्रबार