मोबाइलले जोड्दै प्रेम सम्बन्ध



‘त्यतिबेला केटाकेटी सँगै पढ्न मिल्ने विद्यालय एमपी स्कुल थियो । त्यहाँ पढ्ने एक जना केटा र एकजना केटी स्कुल समयमा भागेर बाँके बगियामा बसेको भेटिएछन् । त्यसपछि ती केटीलाई कम्मरमा बाँधेर कुवामा लट्काएर सजाय दिइरहेको मैले देखेको थिएँ ।’

वीरेन्द्र जैसी । नेपालगन्ज ।

ती किताबहरूमा भेटिने
सुकेका फूल र मगमगाउँदा चिरकटाहरू

किताब माग्ने, हातबाट झर्ने र तिनलाई उठाउने निहुँमा
बन्ने गर्दथे जुन सम्बन्धहरू
ती अब के हुन्छन्…!

भारतीय कवि गुलजारले कुनैबेलाका सम्बन्ध बन्ने तरिकाका विषयमा लेखेको नेपालीमा अनूदीत यो हृदयस्पर्शी कवितांशले संकेत गरेझँै अहिले सम्बन्ध स्थापित हुने माध्यमहरूमा भारी परिवर्तन आएको छ । अझ प्रेम सम्बन्ध स्थापना हुने माध्यमहरू समेटिएर मोबाइलमा थुप्रिएका छन् ।

नेपालगन्जमा अहिलेपनि दुईवटा माध्यमिक तहका विद्यालय छात्राहरू मात्रैका लागि र एउटा कलेज महिला मात्रैको लागि सञ्चालनमा छन् । यसको कारण यहाँका केही अभिभावकहरू अहिले पनि आफ्ना छोरीहरू केटा मान्छेसँग नजिक नहोउन् भन्ने चाहने भएकोले त्यस्ता अभिभावकलाई छोरीहरू विद्यालय पठाउन प्रोत्साहित गर्नु हो ।

यसलाई केटा र केटीबीचको सम्बन्धलाई हाम्रो समाजले कसरी बुझ्छ भन्ने विषयको एक प्रतिनिधिमूलक उदाहरण मान्न सकिन्छ ।
नेपालगन्जको इतिहासका जानकार सनत रेग्मी आफ्नो बाल्यकालको एउटा घटना स्मरण गर्दै भन्छन्, ‘त्यतिबेला केटाकेटी सँगै पढ्न मिल्ने विद्यालय एमपी स्कुल थियो । त्यहाँ पढ्ने एक जना केटा र एकजना केटी स्कुल समयमा भागेर बाँके बगियामा बसेको भेटिएछन् । त्यसपछि ती केटीलाई कम्मरमा बाँधेर कुवामा लट्काएर सजाय दिइरहेको मैले देखेको थिएँ ।’

दुई फरक यौनिकता भएका व्यक्तिहरूको रोजाइमा हुने प्रेम सम्बन्धलाई भन्दा पारिवारिक सम्बन्धबाट सृजित सम्बन्धलाई प्रश्रय दिने यहाँको समाजले उमेर पुगेका केटाकेटीको प्रेम सम्बन्धलाई पनि खुलेर स्वीकार गर्ने अवस्था अझै बनिसकेको छैन । यद्यपि समाजको पुरानो मान्यता भत्किँदै गएर केटाकेटीबीचको प्रेम सम्बन्धमा खुलापन आइरहेको नेपालगन्जका स्थानीय स्वामीदयाल गुप्ता बताउँछन् । उनी भन्छन्, ‘प्रेम सम्बन्धबाट कसैले विहे गरिहाल्यो भने केही समय रिसाएपनि पछि मान्यता दिने क्रम बढेको मैले पाएको छु, ।’

केटाकेटीबीचको प्रेम सम्बन्धप्रतिको समाजको बुझाइमा आइरहेको सुस्त परिवर्तनलाई धेरै पछि छोडेर सूचना प्रविधिले तीव्र परिवर्तन ल्याइरहेको छ । विशेषगरी प्रेम सम्बन्ध स्थापना हुने माध्यम र फरक यौनिकता भएका व्यक्तिहरू सम्पर्कमा आउने माध्यमहरूको सहज उपलब्धता यसमा आएको उल्लेखनीय परिवर्तन मान्न सकिन्छ ।

नेपालगन्जको महेन्द्र पार्कमा भेटिएका महेन्द्र र मनिषा (नाम परिवर्तित)को जोडीले आफूहरू एक वर्षअघि सामाजिक सन्जाल फेसबुकबाट सम्पर्कमा आएको र अहिले प्रेम सम्बन्धमा रहेको बताए । उनीहरूको प्रायः भेट म्यासेन्जर, ह्वाट्सएप, भाइबर लगायतका म्यासेजिङ एपहरूमै हुन्छ । महेन्द्रले भने, ‘कहिलेकाहीँ मात्रै यसरी भेटघाट गर्छौँ । नभए मोबाइलमै कुराकानी भइरहन्छ, भेटिराख्नुपर्ने आवश्यकता पनि पर्दैन ।’ मनिषा ले भनिन्, ‘सुरु सुरुमा मेरो एक साथीले फेसबुके जोडी भनेर जिस्काउँथी । अहिले आफूहरूको एकअर्काप्रतिको बुझाई देखेर उसले तारिफ गर्छे ।’

महेन्द्र र मनिषाले सामाजिक सञ्जालमा झुक्याइने र फसाइने संभावना बढी हुने भएकोले भेटघाटपछि मात्रै सही निर्णय लिन भने सुझाव दिए । ‘मान्छेमा भर पर्ने कुरा हो । सबै मान्छे ठिक हुन्छन् भन्ने हुँदैन । एकपटक पनि नभेटिकन मोबाइलमै कुरा भएको आधारमा विश्वास चाहीँ गरिहाल्नुहुँदैन,’ मनिषाले भनिन् ।

‘चाइल्डसेफनेट’ले नेपालका सातवटै प्रदेशका १६ देखि २४ वर्ष उमेर समूहका पाँच हजार तीन सय सहभागीमाझ गरेको एक सर्वेक्षणमा सहभागीमध्ये ४०.५ प्रतिशतले आफ्नो विगत वा वर्तमानमा अनलाइन माध्यमबाट अन्तरंग सम्बन्ध रहेको खुलाएका छन् । यसले मानिसहरू प्रेम तथा अन्तरंग सम्बन्धका लागि इन्टरनेटको माध्यमबाट जोडिन थालेको पुष्टि हुन्छ ।

कुनैबेला चिठ्ठिपत्र आदानप्रदानबाट स्थापित हुने प्रेम सम्बन्धहरू, पत्रपत्रिकामा छापिने व्यक्तिगत परिचयसहितको कोलम, रेडियोको फोन इन कार्यक्रम, मोबाइल फोन र सामाजिक सञ्जाल हुँदै अब डेटिङ एपको बाटोसम्म पुगिसकेका छन् । गुगलमा डेटिङ एप र तिनको नेपालमा प्रयोग भनेर सर्च गर्दा एक दर्जन बढी एपहरूको लिस्ट प्राप्त हुन्छ । जसमा टिन्डर, बाडु, बम्बल लगायतका एपहरू प्रमुख छन् ।

डेटिङ एपहरूमा फोटो अपलोड गरेर, आफ्नो बारेमा छोटो जानकारी, काम, शिक्षा, उमेर, स्थान, रुचि लगायतका विवरण राखेर प्रोफाइल बनाउन मिल्छ । ती एपहरूमा भएका व्यक्तिहरूसँग जोडिएर कुराकानी गर्न र अन्तरंग सम्बन्धहरू स्थापित गर्न सक्छन् ।

यद्यपि यस्ता एपहरूको प्रयोग वा दुरुपयोगको विषयमा नेपालमा पर्याप्त अनुसन्धान हुन सकेका छैनन् । ‘चाइल्डसेफनेट’कै सर्भेक्षणमा सहभागी २५ प्रतिशतले आफूमाथि अनलाइनमै ब्ल्याकमेल र हिंसा भएको बताएका थिए ।
तर, यस्ता एपहरूको प्रयोग विश्वभरी नै बढीरहेको ती एपहरूको डाउनलोडको आधारमा अनुमान गर्न सकिन्छ । टिन्डर, बाडु, लिट्म्याच लगायतका एपहरू १० करोडभन्दा बढी पटक डाउनलोड भइसकेका छन् । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र टिकटकबाटै प्रेम सम्बन्ध स्थापना भएका केही जोडीहरू त सामाजिक सञ्जालमा इन्फ्लुएन्सरकै रुपमा चर्चित छन् । नेपालका आयुशसिंह ठकुरी र पाकिस्तानकी एलिजे जमाली टिकटकबाटै जोडिएका चर्चित जोडी हुन् ।

सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो, टेलिग्राम लगायतका एपहरूमा युवायुवतीहरू एकअर्कासँग सम्पर्कमा आउने र प्रेम सम्बन्ध स्थापित हुने गरेका उदाहरणहरू सार्वजनिक भइरहेका हुन्छन् ।
सामाजिक सञ्जाल तथा एपहरूमार्फत प्रेम सम्बन्ध जोड्दा विशेष ध्यान भने दिनुपर्ने सरोकारवालाहरूले सुझाव दिएका छन् । उनीहरूका अनुसार कुराकानी सुरु गर्दादेखि फोटा तथा भिडियोहरू शेयर गर्दा ध्यानपूर्वक गर्नुपर्छ । विश्वास गर्न हतार गर्नुहुँदैन । आफ्नो व्यक्तिगत जानकारी जस्तैः ठेगाना, फोन नम्बर पनि तुरुन्तै दिनुहुँदैन ।

जसलाई भेट्दै हुनुहुन्छ, उसको पहिचानको बारेमा पूरा जानकारी लिनुपर्छ । उनीहरूको सामाजिक सञ्जाल प्रोफाइल र अन्य जानकारी जाँच गरेर पनि व्यक्तिको बारेमा बुझ्न सकिन्छ । सकेसम्म पहिलो भेटघाट सार्वजनिक ठाउँमा गर्नुपर्छ । एक्लै नभेट्नु उपयुक्त हुन्छ । आफ्नो साथीभाइ वा परिवारलाई भेटको बारेमा जानकारी दिनु उत्तम हुन्छ ।

यदि कुनै कुराले तपाईंलाई असहज महसुस गराउँछ भने तुरुन्तै कुराकानी बन्द गर्नु उचित हुन्छ । सामाजिक सञ्जालमा मानिसहरूले आफ्नो बारेमा गलत जानकारी दिन सक्ने भएकोले सत्य कुरा पत्ता लगाउन प्रयास गर्नुपर्छ । यदि कसैले कुनै कुराको लागि दबाब दिन्छ भने मान्नु उचित नहुन सक्छ । कुनै पनि निर्णय आफ्नो विवेकले गर्नुपर्छ ।

प्रविधिमा आएका परिवर्तनसँगै उमेर पुगेका व्यक्तिहरू विपरीत लिंगीप्रति आकर्षित हुनु र प्रेम सम्बन्धमा जोडिनु स्वभाविक भएकोले अभिभावकहरूले पनि आफ्ना छोराछोरीको रुचिलाई सम्मान गर्नु जरुरी छ । अभिभावकले उनीहरूको सम्बन्धलाई सम्मान गरेर त्यसमा आइपर्न सक्ने नकारात्मक कुराहरूको बारेमा बुझाउने र विवेकको प्रयोग गर्न सिकाउनु जरुरी छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २ गते शुक्रबार