कोहलपुर माविको वार्षिकोत्सव ‘गुणस्तरीय शिक्षामा जोड’ (फाेटाे फिचर)



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–११ मा रहेको सार्वजनिक शैक्षिक गुठी कोहलपुर माध्यमिक विद्यालयको वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ । कोहलपुर नरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले वार्षिकोत्सव तथा साधारण सभाको उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा बोल्दै उनले गुणस्तरीय शिक्षामा जोड दिएका थिए ।

‘विद्यालयलाई कोहलपुरका अन्य विद्यालय भन्दा फरक बनाउनुपर्छ ।’ उनले भने, ‘यो विद्यालय अरुको विद्यालय भन्दा फरक ढङ्गबाट अगाडि जानुपर्दछ ।’ नगरप्रमुख रावतका अनुसार विद्यालयमा रहेका विभिन्न समितिहरुले महत्वपूर्ण रहेकोले योजना बनाएर काम गर्नुपर्छ । ‘योजना सहित बनाएका कामहरुमा बजेट पास हुने सम्भावना बढि हुन्छ’ उनले भने, ‘अहिले भवनको डिपीपआर सहितको योजना
बनेको छ ।’ यसलाई पूर्ण बनाउनका लागि रकम उपलब्ध गराउने समेत उनले प्रतिबद्धता व्यक्त गरे । विद्यालय प्रशासन, अभिभावक र शिक्षक बीचको सम्बन्ध सुमधुर नभएमा विद्यालयको शैक्षिक क्षेत्रको विकासमा असर पुग्ने बताए ।

यस्तै कोहलपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख अनन्त कुमार पौड्यालले कोहलपुर माध्यमिक विद्यालयलाई नगरबासीको नगर विद्यालयको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । नगरबासीको नगर विद्यालयको रुपमा विकास भयो भने नगरबासीहरुको अपनत्व हुने भएकोले अझै तिव्र रुपमा विकास र समृद्धि हुन सक्ने उनले बताएका थिए ।

‘विद्यालयको सामाजिक परीक्षण, लेखा परीक्षण र विद्यालयको चल अचल सम्पतीको विवरण सम्बन्धी कामहरु हेर्दा यो विद्यालयमा पारदर्शिता, शुसासन कायम भएको देख्न र भेटाउन सकिन्छ । यसरी विद्यालयको साधारण सभा तथा वार्षिकोत्सवमा प्रस्तुत भएको पाइएको छैन’ उनले भने ।

यस्तै गुठी सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद लम्सालले विद्यालयको वरीपरी घेरबारको व्यवस्था गर्नका लागि नगरपालिका प्रमुख तथा नगर विकासका अध्यक्ष लुट बहादुर रावतसँग अनुरोध गरेका थिए । ‘अहिले संसद कोषबाट शौचालय निर्माणका लागि १० लाख आएको छ । त्यसको २० प्रतिशत नगरपालिकाले थप्नुपर्ने हुन्छ’उनले भने, ‘यसमा पनि कोहलपुर नगरपालिकाले पाँच लाख बजेट विनियोजन गरेको छ ।’ तर यहाँ विद्यालयमा भवनको अभाव भैरहेको बेलामा भवन निर्माण गर्नका लागि बजेटको माग समेत गरिएको उनको भनाई थियो ।

यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम सापकोटाले बालबाविकाको समस्यालाई मध्यनजर गर्दै बस सञ्चालनमा ल्याएको बताए । ‘टाढाबाट आउने बालबालिकाहरु समयमा नै विद्यालय नआउने समस्या थियो’ उनले भने, ‘त्यसको अन्त्य भैसकेको छ ।’ उनका अनुसार बालबालिकाहरुलाई शौचालयको समस्या थियो ।त्यसमा पनि संसद विकास कोष र नगरपालिकाले सहयोग गरेको छ । अब भवन र पर्खालको समस्या रहेको छ । यसको पनि छिट्टै समाधान हुने सापकोटाले दावी गरे ।

यस्तै वार्षिकोत्सवमा २०७५ र २०७६ का उत्कृष्ट कक्षा नसर्रीदेखि कक्षा १० सम्मका बालबालिकाहरुलाई पुरस्कार सहित सम्मान गरिएको थियो भने साँस्कृतिक कार्यक्रमहरु समेत गरिएको थियो ।

विद्यालयको नयाँ कार्यसमिति चयन

सार्वजनिक शैक्षिक गुठी कोहलपुर माध्यमिक विद्यालयको वार्षिकोत्सव तथा साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ । गुठी सञ्चालक समितिको अध्यक्षमा नारायण प्रसाद लम्साल निर्विरोध चयन भएका हुन् । जसको उपाध्यक्षमा तिल प्रसाद सापकोटा, सचिवमा शेषकान्त शर्मा, सह–सचिवमा श्याम सुुन्दर श्रेष्ठ र कोषाध्यक्षमा नरेश के.सी. निर्विरोध चयन भएका हुन् । यस्तै सदस्यहरुमा विष्णुकान्त आचार्य, झग्गु गिरी, भारती खनाल, धन प्रसाद धिताल, प्रकाश लामिछाने, कृष्णा कुमारी चालिसे निर्विरोध चयन भएका छन् ।

यस्तै विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रेशम सापकोटा निर्विरोध चयन भएका छन् । सदस्यहरुमा राम प्रसाद चापाँगाई, चन्द्रकला सुवेदी, मुकुन्द पौडेल, लक्ष्मी गुरुङ्ग, मन्जु सत्याल चयन भएका हुन् । जसमा शिक्षक प्रतिनिधि विजयसिंह गुरुङ्ग, पदेना सदस्य कर्ण बहादुर थापा र सदस्य सचिव खोमराज रमाली चयन भएका हुन् ।

यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा शान्ति श्रेष्ठ निर्विरोध चयन भएकी हुन् । जसमा सदस्यहरु राजु भुषाल, कमला अधिकारी(शर्मा)दिपा राना, दिप बहादुर वली र हर्कराज शर्मा र शिक्षकको तर्फबाट शंखर प्रसाद न्यौपानेलाई निर्विरोध चयन भएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन १ गते शनिबार