युद्धविरामपछि सेना समायोजन भयो । सेना समायोजनमा धेरै साथीहरूले स्वेच्छिक अवकास रोज्नुभयो । म भने नेपाली सेनामा आबद्ध भएँ । त्यहाँ आठ वर्ष सेवा गरेँ । अहिले भने पार्टीको कार्यकर्ताको रूपमा सामान्य जीवन बिताइरहेको छु । पहिलाको र अहिलेको पार्टी फरक छ । पुरानो लयमा फर्किनुपर्छ ।
मेरो नाम नवराज केसी ‘विधान’ हो । म हाल बाँकेको कोहलपुर नगरपालिका–११ मा बसोबास गर्दै आएको छु । म जन्मिएको चाहिँ दैलेख, २०४० सालमा । मैले माध्यमिक तहसम्मको अध्ययन गरेको विद्यालय महेन्द्र मावि हो । निम्न माध्यमिक तहमा पढ्दादेखि नै गाउँमा जनयुद्धको माहोल थियो ।
गाउँमा हतियारधारीहरू आवातजावत गरिरहन्थे । गाउँमा पनि घरदेखि चौतारासम्म जनयुद्धकै विषयमा कुरा हुन्थ्यो । हाम्रो गाउँ त पुलिसको गस्ती र माओवादीको हर्कत भइरहने ठाउँ थियो । पहिला पहिला त नयाँ मान्छे देख्दापनि डर लाग्थ्यो । गाउँमा युद्धकै विषयमा चियोचर्चो भइरहन्थ्यो ।
हामी बाल्य अवस्थामै थियौँ । जनयुद्ध भनेका छन् । ठूला ठूला कुरा गरेका छन् । के रैछ भन्ने कौतुहलता हुन्थ्यो, मनमा । माहोल यस्तो थियो, विस्तारै जनयुद्धप्रति झन् कौतुहलता बढ्न थाल्यो । आफूसँगैका साथीहरू आज एउटा भोलि एउटा गर्दै माओवादीमा जान थाले ।
स्कुलका साथीहरू जान थाले । आफूपनि लहलहै लागियो । म पार्टीमा अल्पकालीन रूपमा २०५७ सालदेखि नै लागिसकेको थिएँ । पूर्णकालीन रूपमा २०५८ सालमा भूमिगत भएको हो । कलिलो उमेरमै कापी कलम झोलामा बोकेर जनयुद्धमा सामेल भएको कुरा सम्झिँदापनि भावुक हुन मन लाग्छ । म लगायतका साथीहरू भूमिगत हुँदा त्यतिबेला हाम्रो गाउँमा ‘एकीकृत जन अभियान’ भन्ने सञ्चालन भएको थियो । सो कार्यक्रमका लागि हामीलाई लगियो ।
पहिला त धेरै डर लाग्थ्यो । घरदेखि कहिल्यै बाहिर नगएको मान्छे । कतिबेला मरिने हो डरैडरमा हिड्नुपर्ने अवस्था थियो । भित्र गएपछि व्यवहार राम्रै भयो । भूमिगत भएका मानिसहरू अनुशासित थिए । पूर्णकालीन भएको धेरै समयपछि हो, युद्ध किन भएको रहेछ । लक्ष्य, उद्देश्य के रहेछ भन्ने थाहा पाएको ।
भित्र त धेरै प्रकारका मोर्चा हुँदा रहेछन् । म भने सुरुदेखि नै सैन्य मोर्चामा सहभागी भएँ । स्काउट छापामार भन्ने गरिन्थ्यो । त्यसैमा लागियो । स्काउटमा हामी सात जना थियौँ । तीमध्ये केही कमरेडले सहादत् प्राप्त गरिसकेका छन् । केही साथीहरू अहिलेपनि जिउँदै छन् । जतिजति समय बित्दै गयो । जनयुद्धप्रति त्यति लगाब बढ्दै गयो । पछि युद्ध लड्नुपर्छ परिवर्तन गर्नुपर्छ भन्ने क्रान्तिकारीपन आयो । एक विन्दुमा आएर परिवर्तनको अन्तिम विकल्प भनेकै माओवादी रहेछ भन्ने लाग्यो । हाम्रो एउटै लक्ष्य थियो, मृत्यु या मुक्ति ।
जनयुद्धमा गएपछि हाम्रो प्रमुख कार्यभार नै युद्ध लड्ने थियो । जनयुद्धमा सामेल भएर युद्ध लडेको भनेको दैलेखमै हो । जहाँ पहिलोपटक लडाइमा सामेल भए । म सैन्य मोर्चामा युद्ध लडेको भनेको दैलेखमै हो । त्यतिबेला हामीले एक एनजीओको कार्यालयमा आक्रमण गरेका थियौँ । त्यहाँ गोली हान्ने बन्दुक पड्काउने काम भएन । कार्यालय कब्जा मात्रै गरेका थियाँै । मैले गोली नै चलाएर लडेको भनेको दाङमा हो, २०५८ मंसिर ८ गते दुश्मनसँग औपचारिक युद्ध लडेको ।
त्यहाँ मैले आफैँले गोली पड्काएको थिएँ । त्यसपछि लगत्तै अछाममा गइयो, २०५८ फागुन ४ गतेका दिन । त्यहाँ हाम्रा धेरै साथीहरू घाइते हुनुभयो । धेरैलाई गोली नै लाग्यो । एकजना सुर्खेतका एभरेष्ट कमरेड हुनुहुन्थ्यो । उहाँको खुट्टामा गोली लागेको थियो । अरु पनि घाइते भए । उहाँलाई मैले बोकेर ब्यारेकमा ल्याएँ । औषधी गरेपछि सञ्चो भयो । लडाइका क्रममा कस्ता कस्ता संयोग छन् । ती कुरा अहिले सम्झिदापनि डर लाग्छ । कतिजना आफ्नै अगाडि मरेका छन् । कतिको चिच्यावट सुन्दापनि आँखाबाट आँशु खस्थ्यो ।
म आफूपनि धेरैपटक मृत्युको मुखमा पुगेर फर्किएको छु । म युद्ध लड्ने क्रममा पहिलोपटक घाइते भएको म्याग्दी आक्रमणको बेला हो । त्यतिबेला हामी नेपाली सेनाको ब्यारेक आक्रमणका लागि गएका थियौँ । त्यतिबेला मलार्ईं करेन्ट लाग्यो । भित्र छिर्नु भन्दा अघि मैले काँडेतार छामेको थिएँ । करेन्ट थिएन । पछि मात्रै नेपाली सेनाले करेन्ट छोडेको रहेछ । हातमा करेन्ट लाग्दा म त बेहोस नै भएछु । पछि साथीहरू सुनाउँथे मेरो शरिरमा कपडा नै थिएन रे ।
हामीसँग मेडिकल टोली पनि हुन्थ्यो । एकजना डाक्टर हुनुहुन्थ्यो । मलार्ईं करेन्ट लागेपछि उहाँले मेरो कपाल तानेको सम्म याद छ । अरु याद छैन मलार्ईं केही पनि । त्यसपछि के भयो मलार्ईं केही पनि थाहा छैन । त्यसपछि मलार्ईं बोकेर म्याग्दीबाट रुकुमको मैकोट भन्ने ठाउँमा पु¥याइएछ । त्यहाँ आउँदा मेरो होस् खुलेको हो ।
लडाइको क्रममा मलार्ईं गोली लागेको भनेको बाँकेको राप्ती सोनारीस्थित कुसुममा हो । लडाइको क्रममा दायाँ हातमा गोली लागेको थियो । अहिलेपनि त्यसको प्रभाव छ । बेला बेला दुखिरहन्छ । युद्धको क्रममा कतिपटक लडाइ लडियो यादै छैन । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मै पुगिएको छ ।
पूर्वका धेरै मोर्चाहरूमा समेत लडाइ लडियो । सिराहाको लहान, बर्दियाको रम्भापुर, धनगढी कारागार, चिसापानी कैलाली । कोहलपुरमै पनि भएका लडाइमा धेरैपटक लडियो । यहाँका टेलिफोन टावर फालियो । भरैयामा शिविर भन्ने साथी सहिद हुनुभयो ।
अन्तिम युद्ध कालीकोटको पिली हो । दश वर्षे जनयुद्धको अन्तिम लडाइसमेत रहेको कालीकोटको पिली आक्रमण मैले लडेको अन्तिम युद्ध हो । जहाँ म मरेर पनि बाँचेको छु ।
त्यतिबेलाको अवस्थाबाट बाहिर उम्केर जिउँदो हुन पाउँदा जीवन भनेको संयोग रहेछ भन्ने लाग्छ । त्यहाँ म मरेर पनि बाँचेको छु । कसरी भने, त्यहाँ हामीहरूले ‘सी’ आकारमा घेरा हाल्ने हाम्रो रणनीति थियो । सोही अनुसार मान्म क्षेत्रमा हामीले खाली राख्ने भनेका थियौँ । दाहा र गेला भन्ने गाउँमा ठूलो खोला छ ।
म त्यतिबेला त्यहाँ कम्पनी कमाण्डरको भूमिकामा थिएँ । मेरो मातहतमा थियो टोली । कम्पनीको सङ्ख्या धेरै थियो । त्यहाँको कमाण्डर नै म भएका कारण एकदमै होस् पु¥याएर काम गर्नुपर्ने अवस्था थियो ।
प्लाटुन अगाडि र पछाडि थियो । कम्पनी बीचमा थियो । त्यहाँ धेरै भिर छ । ग्रिनेट हान्ने आदेश थियो । राती दुई बजेतिरको कुरा हो । उताको टोलीले ब्यारेक कब्जा गरिसकेको रहेछ । केही सङ्ख्यामा आर्मीहरू भागेर हामी भएतिरको ठाउँमा आएछन् । त्यहाँ घट्ट थियो । त्यहीँ घट्ट ओत लागेर बसिरहेको थिए । त्यहाँ खोला थियो । रातीको समय भएकोले झन् आवाज ठूलो आउँथ्यो । बसिरहेको समयमा एक्कासी एक हूल नेपाली सेना दौडिदै आए । उनीहरू म भएको ठाउँमा आए । मैले पनि डे«स लगाएको थिएँ ।
उनीहरूले हाम्रै साथी रहेछ भन्ने सोचेछन् । दौडिदै ए साथी जाउँ भने । मलाईं पनि उनीहरूले करिब २० मिटरको दूरीसम्म धकेलेर लगे । मैले सेट बोकेको थिएँ । ओकेटोके जस्तो । त्यो हल्लिएछ । आवाज आयो । आवाज आएपछि ‘आबुई माओवादी रहेछ’ एउटाले भन्यो । त्यसपछि मैले सिटी मारे । हाम्रो टोली एकैपटक आइहाल्यो । सुर्य कमरेडले एलएमजी पड्काएपछि उनीहरूको कब्जाबाट म निस्किएँ । उनीहरू सोरिएर खोलामा आए । हाम्रो घेरामा परे । पछि हामीले आत्मसर्मपण गर्न भन्यौँ । उनीहरूले आत्मसर्पण गरे । पछि १९ जनालाई विभिन्न हातहतियारसहित कब्जामा राख्यौँ । उनीहरू हामीसँग धेरै समय रहे । पछि भान्सामा काममा राख्यौँ ।
सैन्य जीवनमै अंकुराएको प्रेमको पालुवा
मेरो जनयुद्धकै क्रममा प्रेम सम्बन्ध र विवाह भयो । मेरो विवाहको प्रसंग रमाइलो छ । मेरो अन्तरजातीय विवाह हो । उहाँको घर बर्दिया हो । उहाँ थारू समुदायको हुनुहुन्छ । म चाहिँ पहाडी भएँ । रामजानकी केसी चौधरी ‘सुशिला’ हो उहाँको नाम । उहाँ मभन्दा अघि नै भूमिगत भइसक्नु भएको रहेछ । म भूमिगत नहुँदा नै हाम्रो ठाउँमा देखेको थिएँ । पछि म पनि भूमिगत भएपछि हाम्रो औपचारिक चिनजान भयो ।
पहिलोपटक महिलाहरूले बन्दुक बोकेको देखेर म त छक्कै परेको थिएँ । लाग्यो, ओहो महिलाहरू समेत बन्दुक बोकेर आएका छन् । त्यसपछि झन् मलार्ईं युद्धमा होमिने आँट आएको हो । पछि हामी पार्टीको कामको सिलसिलामा एउटै जिल्लामा भयौँ । कहिले काहिँ भेटघाट भइरहन्थ्यो । पछि भेरी कर्णाली उपब्यूरो थपिएको थियो । ‘वि’ कम्पनी भएको थियो । त्यसमा हामी दुवै जना एउटै समूहमा थियौँ । त्यसले हाम्रो दैनिक जसो भेट भइरहन्थ्यो । अछाम मोर्चामा दुवै जना सामेल भएका थियौँ ।
त्यसपछि पार्टीको आदेशमा दुवै जना छुट्टिने परिस्थिति सिर्जना भयो । म पार्टीको कर्तव्यको सिलसिलामा पूर्वतिर गइयो । सल्यानको घुइयाबारीबाट हामी छुटेका थियौँ । हामी भारतीय बाटो हुँदै पूर्व लाग्यौँँ, उहाँ पश्चिम लाग्नु भयो । भेट हुँदा युद्धमा सामेल हुँदा हुँदै बुझ्दा बुझ्दै माया पलाएको हो । त्यसपछि हामी विस्तारै अघि बढ्यौँ । पछि म पश्चिम आएपछि उहाँलाई प्रस्ताव राखेँ ।
हाम्रो विषयमा हल्ला चलिरहेको थियो । कुरा क्लीयर गर्नुपर्छ भन्ने भयो । त्यस्तो माहोल साथीहरूले मिलाएका हुन् । सोधे के हो खास कारण भनेर, दुवै जना सहमत भयौँ । हाम्रो चिठीको माध्यमबाट सम्पर्क भइरहन्थ्यो । पछि कमण्डरलाई जानकारी गरायौँ । औपचारिक प्रेम सम्बन्धमा रहेको सात महिनापछि जाजरकोटमा जनवादी विवाह भयो २०६१ सालमा । त्यतिबेला आठ जोडीको सँगै विवाह भएको थियो । सामान्य रूपमा विवाह भयो । विवाहपछि उहाँ बर्दिया आउनुभयो ।
२०६२ मै बच्चा जन्मियो । पछि युद्धविराम भयो । युद्धविरामपछि सेना समायोजन भयो । सेना समायोजनमा धेरै साथीहरूले स्वेच्छिक अवकास रोज्नुभयो । म भने नेपाली सेनामा आबद्ध भएँ । त्यहाँ आठ वर्ष सेवा गरेँ । अहिले भने पार्टीको कार्यकर्ताको रूपमा सामान्य जीवन बिताइरहेको छु । पहिलाको र अहिलेको पार्टी फरक छ । पुरानो लयमा फर्किनुपर्छ ।
(माओवादीका पूर्वलडाकु ‘विधान’सँग मिसन टुडेका लागि शुभाकर विश्वकर्माले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस्