२०५२ फागुन १ गते माओवादीले सशस्त्र युद्ध सुरु गरेको ३० वर्ष पुगेको छ । युद्धकै बलमा २ सय ४० वर्ष लामो एकात्मक राजतन्त्रात्मक शासनसत्ताको अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू छ । जनयुद्धको क्रममा करिब १७ हजार नागरिकले ज्यान गुमाए । कैयौँ अंगभंग भए, घाइते भए । तर, जनयुद्धको घाउ अझै उस्तै छ । पीडितले उचित न्याय पाउन सकेका छैनन् ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
२०५५ भदौ २० गते कमानसिंह पुन सधै झैँ स्कुल गएका थिए । कोहलपुर नगरपालिका–१२ मसुरीखेलका पुन ज्ञान ज्योति मावि चप्परगौडीमा पढ्थे । बिहानै घरबाट पढ्न भनेर निस्किएका उनी घर फर्किएनन् । छोरा घर नफर्किएपछि परिवारले सोधीखोजी ग¥र्यो । सँगै पढ्ने साथीभाइलाई सोध्दा नेपाली सेनाले पुनसहित चारजनालाई विद्यालयबाटै अपहरण गरेको अशुभ खबर सुनाए । छोरा अपहरणको खबरले आमा गौतमी पुन स्तब्ध भइन् । उनलाई मुटु नै चुडिएको जस्तो त्यतिबेला भयो, जतिबेला उनका छोरासहित अपहरण गरिएका तीन जना फर्किए भन्ने सूचना उनले पाइन् । नभन्दै छोरा कोहलपुर नगरपालिका–२ स्थित एनसीसिएन नजिकै मृत भेटिए ।
गैर माओवादी पुनलाई बाल्य अवस्थामै राज्य पक्षले माओवादीलाई सघाएको आरोपमा अपहरण गरी हत्या गरेको थियो । उनी जनयुद्धको क्रममा ज्यान गुमाएका बाँके जिल्लाका प्रथम सहिद हुन् । पुन मात्रै होइन उनकी बहिनी दमन्ती पुनले समेत माओवादी जनयुद्धकै क्रममा ज्यान गुमाएकी थिइन् । उनलाई राप्ती सोनारीको ढकेरीमा राज्यपक्षले हत्या गरेको थियो । जनयुद्धमा छोराछोरी गुमाएकी गौतमीको घाउ अझै आलै छ ।
जनयुद्धको शब्द सुन्दापनि उनको आँखाबाट आँसु आउँछन् । जीवनको उत्तराद्र्धमा रहेकी गौतमीसँग छोराछोरीका केवल सम्झना मात्रै जीवित छन् । बुढेसकालमा एक्लो जीवन बिताइरहेकी उनी हाल राम्रोसँग बोल्न सक्दिनन् । प्रष्टसँग सुन्नसमेत नसक्ने उनको एउटै चाहना छ, ‘जुन युद्धका कारण छोराछोरीले अनायास ज्यान गुमाए । त्यही व्यवस्थामा उनीहरूका सन्तानको सुरक्षाको जिम्मा राज्यले लिनुपर्छ । उनीहरूलाई रोजगारी दिनुपर्छ । पीडितले उचित न्याय पाउनुपर्छ ।’
जनयुद्धमा बुवा गुमाएकी बाँकेका प्रथम सहिद् पुनकी छिमेकी सावित्रा पुन उनीहरूलाई विद्यालयबाटै अपहरण गरिएको र पछि हत्या गरिएको बताउँछिन् । उनका अनुसार अपहरणमा परेका तीन जना भाग्न सफल भएका थिए । पुनलाई भने राज्य पक्षले निमर्मतापूर्वक हत्या गरेको थियो । पुनले भनिन्, ‘उहाँ माओवादी हुनुहुन्थेन । विद्यार्थीका कार्यक्रममा सहभागी भइरहनुहुन्थ्यो । सानै हुनुहुन्थ्यो, विद्यार्थी । बिचरा अनायासै मारिदिए । पार्टी र राज्यले उहाँको परिवारलाई उचित ध्यान दिन सकेको छैन ।’
जनयुद्धकै क्रममा बाँकेको कोहलपुरमा गिरफ्तारीमा परेका पात्र हुन्, बर्दियाका ज्ञामप्रसाद चालिसे ‐आयाम) । २०२७ चैत २१ गते जन्मिएका उनी २०५२ मा सुरु भएको जनयुद्धमा विद्यार्थीकालमै सामेल भएका थिए । २०५८ मंसिर २६ गते कोहलपुर बसपार्क अगाडिबाट चालिसे गिरफ्तारीमा परेका थिए । ६२ दिनको चरम यातनापछि बर्दिया जिल्लाको बेतहनी जंगलमा माघ २८ दिन निर्ममतापूर्वक हत्या गरिएको अवस्थामा उनलाई सार्वजनिक गरिएको थियो ।
तत्कालिन शाही नेपाली सेनाको गिरफ्तारीमा पर्दा चालिसे तत्कालिन माओवादीका बाँके बर्दिया जिल्ला इन्चार्ज थिए । तत्कालीन क्रान्तिकारी विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका चालिसे केन्द्रीय उपाध्यक्षसम्म भए । संगठनको बर्दिया जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष हुँदै पार्टी राजनीतिमा सक्रिय थिए । पार्टीको भेरी कर्णाली ब्यूरो सदस्य हुँदै जिल्ला इन्चार्ज रहेको बेला उनको हत्या भएको चालिसेका भाइ हरि चालिसे बताउँछन् ।
उनका अनुसार त्यतिबेला सहिद चालिसेको नाम ‘हाइप्रोफाइल’ थियो । उनी निकटहरू भन्छन्, नेपालगन्ज मेडिकल कलेज नेपालगन्जबाट कोहलपुर ल्याउन उनले मुख्य भूमिका खेलेका थिए । बाँके र बर्दिया जिल्ला इन्चार्ज रहेका चालिसेले जारी गरेको एउटा विज्ञप्तिले मेडिकल कलेज कोहलपुर आउने अवस्था बनेको थियो ।
उनको परिवार अहिले कोहलपुर– ५ मा बसोबास गर्दै आएको छ । आयामको नाममा त्यहाँ टोलको नामसमेत घोषणा गरिएको छ, टोलको नाम हो, ‘आयामनगर’ । आयाम प्रतिष्ठान नेपाल नाम संस्थामार्फत उनको नाममा सामाजिक कार्य गर्दै आएको भाइ हरि बताउँछन् । ‘हामीले जनयुद्धमा अभिभावक गुमायौँ । उहाँको हत्यापछि हाम्रो परिवारले धेरै दुःख पायो । उहाँहरूको रगतकै कारण आजको व्यवस्था प्राप्त भएको हो । जनयुद्धका उपलब्धिहरूको संस्थागत गर्न आवश्यक छ,’ चालिसे भन्छन् ।
दिवसले बल्झाउँछ बिर्सदै गएको घाउ
शेरबहादुर ऐर । कैलाली ।
नेकपा (माओवादी केन्द्र)सहित विभिन्न कम्युनिस्ट पार्टीले आज (फागुन १) लाई ‘जनयुद्ध दिवस’ का रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गर्दै आएका छन् । विस २०५२ देखि २०६३ मंसिर ५ सम्म जनयुद्ध नेपालमा चलेको थियो । द्वन्द्वसँग सम्बन्धित मानवअधिकार कानुन तथा अन्तराष्ट्रिय मानवीय कानुनको थुप्रै उल्लंघन भएका थिए ।
द्वन्द्वका क्रममा थुप्रै निर्दोष मारिनुका साथै घाइते, अपाङ्गता तथा वेपत्तासँगै विस्थापित हुनुका साथै थुप्रै दुःख, पीडाका साथ त्यो समय कतिपय परिवारले खेप्नुपर्ने अवस्था रहेको थियो । २०६३ सालमा शान्ति प्रक्रिया भएपछि त्यसयता पनि थुप्रै मानिस द्वन्द्वको चपेटामा परेका छन् । द्वन्द्वकालमा विभिन्न ठाउँमा राखिएको विस्फोटक पदार्थका कारण शारीरिक अपाङ्गतासँगै घाइते तथा ज्यान गुमाउनुपर्ने शान्ति प्रक्रिया यता पनि भएका छन् ।
पार्टीले दिवसका रूपमा मनाउँदै गरेको भएपनि अझै द्वन्द्व प्रभावित परिवारहरूको पीडा भने समाधान हुन सकेको छैन् । अहिले पनि घरपरिवार भित्रबाट वेपत्ता भएका परिवारहरू समय–समयमा भन्छन्– ‘कि सास दे, कि त लास दे ।’ २०५५ मा घरमै बसेका श्रीमान्लाई १८ जनाको समूहले अपहरण गरी लगेको अछाम चौरपाटी गाउँपालिका–६ दुनिकी ४० वर्षीया काली विकले बताइन् ।
‘घरमा १८ जनाको ठूलै समूह आयो । खाना पकाउनुस् नत्र जे पनि हुनसक्छ भने । हामीले मजदुरी गरेर ल्याएको जति अन्न थियो, सबै पकाएर खुवायौँ । हामी भोलि पठाइदिन्छौँ भनेर मेरा श्रीमानलाई घरबाटै लिएर गए,’ उनले भावुक हुँदै भनिन्, ‘काखमा ६ महिनाकी छोरी खेलाइरहेका मेरा श्रीमान् १७ वर्ष भयो फर्किएका छैनन् । त्यतिखेर हाम्रो विवाह भएको चार वर्षमात्र भएको थियो ।’
कन्चनपुरको कृष्णपुर नगरपालिका–१, सुन्दरीफाँटाका लालबहादुर चौधरी अझै अस्पतालमा छन् । कहिले नेपाल त कहिले भारतको अस्पताल धाउँदैमा उनको धेरै खर्च भइसक्यो । सशस्त्र द्वन्द्वमा सुरक्षाकर्मीले पटक–पटक नियन्त्रणमा लिई यातना दिएका कारण उनी दीर्घ रोगी भएका हुन् ।
जनयुद्धको १० वर्षको असर अझै पनि गाउँबस्तीमै रहेको छ । कैलालीका शमशेर लुहार २०६४ सालमा विस्फोटनमा परी अपाङ्गता भएका छन् । गाउँमा खेत खन्न जाने क्रममा जंगलमा विछ्याइएको विस्फोटनले उनलाई शारीरिक अपाङ्गता बनाएको हो । उनी भन्छन्, ‘सरकारले १० वर्षे जनयुद्धबाट प्रभावित परिवारको त सम्बोधन गर्न सकेको छैन् । शान्ति प्रक्रियापछि माओवादीले विभिन्न स्थानमा राखेका विस्फोटन पदार्थबाट पनि परिवारले पीडा भोग्नुपरेको छ । यसबारे सरकारले ध्यान दिन सकेको छैन् ।’
सहिद परिवार र घाइतेले पाएनन् न्याय
नन्दराम जैशी । सुर्खेत ।
कर्णालीका सहिद परिवार र घाइतेले न्याय नपाएको माओवादी जनयुुद्धमा सहभागी व्यक्तिहरूको भनाइ छ । जुुम्ला हिमा गाउँपालिकाका सहिद परिवार अम्मराज शाहीले राज्य सहिद परिवार र घाइते अपांगता भएका परिवारप्रति जति उत्तरदायी हुनुुपर्ने हो त्यो नभएको तर्क गरे ।
‘आश्रित सहिद परिवार र घाइतेलाई भत्ता दिए भइहाल्छ भन्ने छ । जसले आफ्ना अभिभावक गुुमाएका छन् । महत्वपूूर्ण अंग गुुमाएका छन् । अंगभंग भएका छन् । उनीको जीविकोपार्जनदेखि शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता परिपूूर्ति गर्न राज्यले सोच्नुुपर्ने हो’ उनले भने, ‘व्यक्तिगत स्वार्थले कोही सहिद भएको छैन । सबैजना व्यवस्था परिवर्तनका लागि लड्नुभएको थियो । त्यसले गर्दा राज्यले दिनसक्ने सेवा सुुविधा दिनपर्छ । हजारौँ सहिद परिवार र घाइतेहरू अर्काको भरमा बाँच्नुपर्ने अवस्था छ ।’
माओवादी जनयुुद्धको क्रममा अम्मराज शाहीले आफ्नो बुुवा र दिदी गुमाएका छन् । २०५३ मा जनयुुद्धमा होमिएका उनका बुुवा २०५५ मा सहिद भएका थिए । भने २०६० सालमा गण्डक भिडन्तमा उनकी दिदी सहिद भएकी थिइन् ।
‘बुुवा बित्दा म ६ वर्षको थिएँ । दिदी बित्दा १२ वर्षको थिएँ । उहाँहरूको माया पाउन सकिनँ । बुुवालाई राम्रोसँग चिनेको पनि थिइनँ । कसैले तेरो बुुवाको हो भनेपछि हामी भाइबहिनी प्रचण्ड हुन् भन्थ्याँै’ उनले भने, ‘हाल मेरो घरमा आमा, श्रीमतिसहित ५ जनाको परिवार छ । घरको उत्पादनले परिवार पालिएका छन् । मेरो कमाइ मलाईं नै ठिक्क हुन्छ ।’
माओवादी जनयुुद्ध नेपालीका लागि ऐतिहासिक परिवर्तनको अवसर भएको उनको भनाइ छ । देशलाई विकास अग्रगमन, समृद्धिसँगै नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित गर्ने अवसरका रूपमा यो युुद्धलाई लिएको उनले बताए ।
यता, जनक्रान्ति घाइते तथा अपांग योद्धा संघ कर्णाली प्रदेश अध्यक्ष अर्जुुनकुुमार कटुुवाल (महान)ले माओवादी जनयुुद्ध आफैँमा एक ऐतिहासिक घटना भएको उल्लेख गरे ।
अहिलेसम्म भएका सबै उपलब्धिहरू जनयुुद्धकै जगमा टेकेर भएको भन्दै संघीयता, समावेशी, समानुुपातिक, धर्म निरपेक्षतासँगै पिछडिएको वर्गको हकमा अधिकार कार्यान्वयन गर्नु जनयुद्धको योगदान रहेको उनको तर्क छ ।
जनयुुद्धको बेला बटालियन कमाण्डर समेत रहेका उनी विभिन्न लडाइँँमा ४ पटक घाइते भएका थिए । मृत्युुलाई जितेका उनी करिब ४७ वटा युद्ध मोर्चामा सहभागी भएका थिए । घाइते हुदाँदेखि लडाइँमा विजयी हुँदाका क्षण सम्झिँदै उनले जनयुुद्धको मर्म र लक्ष्यअनुसार अधिकार प्राप्ति हुन नसकेको बताए ।
‘सहिद परिवारको हकमा क्षतिपूूर्तिसँगै सहिद घोषणा गरिँदा न्यायको अनुुभूति भएपनि द्वन्द्वका घाइते अपांगता भएकाको हकमा न्याय मिलेको छैन । न पार्टीबाट न त राज्यबाट’ उनले भने, ‘किनकी पार्टीले दस्तावेजमा घाइते अपांगता भएकालाई ज्यूूँदा सहिद भनेपनि पीडा अन्त्य भएको छैन । कतिपय डिप्रेशनको रोगी छन् भने कतिपयले उपचार नै पाएका छैनन् ।’
घाइते अपांगता भएकाहरूका बालबच्चाको पठनपाठन तथा पालनपोषणमा बिचल्ली भएको उनको भनाइ छ । दुुखदायी जीवन बिताउँदै कतिपयले उपचार नपाएर मृत्युुवरण गरेको उनले दाबी गरे । त्यसैले उनीहरूको उपचार र व्यवस्थापनमा राज्य गम्भीर बन्न जरुरी रहेको उनले बताए । ‘माओवादी पार्टीप्रति जनअपेक्षा अझै बाँकी छन्’ उनले भने, ‘राजनैतिक घटना परिघटनामा जुुन हिसाबले मुद्दाहरू अघि बढ्नुुपर्ने हो त्यो अनुसार बढ्न सकेको छैन । यसरी जनअपेक्षा पुुरा हुँदैन ।’
प्रतिक्रिया दिनुहोस्