अपांगता भएका ब्यक्तिलाई आयमूलक तालिम



कोहलपुर (बाँके) : जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर १५ मा अपांगता भएका व्यक्तिहरुको लागि आयमूलक तालिम सुरु भएको छ । समाज सेवा संस्था नेपालको आयोजनामा अपांगता भएका व्यक्तिहरुलाई आयमूलक तालिम सुरु भएको हो । कोहलपुर नगरपालिका वडा नम्बर १५ को आर्थिक सहयोगमा शुक्रबारदेखि सुरु भएको तालिमको कोहलपुर नगरपालिकाका कार्यबाहक नगरप्रमुख हरि कठायतले उद्घाटन गरेका थिए ।

उक्त तालिमको कार्यक्रममा बोल्दै उद्घाटन सत्रका प्रमुख अतिथिसमेत रहेको कठायतले कोहलपुर नगरपालिकाले अपांगता भएका व्यक्तिहरुलाई सीपयुक्त बनाउन विभिन्न तालिमका लागि बजेट विनियोजन गरेको बताए । उनका अनुसार अपांगता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउन नीतिगत रुपमा अघि बढ्न आवश्यक छ ।
‘हामी आएपछि अपांगता भएका बालबालिकाहरुलाई लक्षित गरेर बाल अस्पताल निर्माण गरिएको छ । अपांगता भएका व्यक्तिहरुको लागि सीपमूलक तालिम प्रदान गर्दै आएका छौँ । नगरबासीलाई आत्मनिर्भर बनाउने हाम्रो नीति छ । सोही अनुसार कार्यक्रमको आयोजना गरिएको हो’ कार्यबाहक नगरप्रमुख कठायतले भने ।

जिल्ला समन्वय समिति बाँकेका प्रवक्ता सन्त कुमार थारूले अपांगता भएका व्यक्तिहरुको रोजगारी र व्यवस्थापनका लागि कोहलपुर नगरपालिकाले योजना बनाउन आवश्यक रहेको बताए । समाजमा अपांगता भएका व्यक्तिहरुलाई हेर्ने नजर बदलिन नसकेको भन्दै उनीहरुलाई सम्मानजनक रुपमा बाँच्ने अधिकार सुनिश्चित गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।

कोहलपुर नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख वीरबहादुर विकले अपांगता भएका व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको बताए । विभिन्न कारणले अपांग हुन पुगेका नागरिकहरुलाई हौसला प्रदान गर्नुपर्ने उनले बताए ।‘राज्यले अपांगता व्यक्तिलाई हेरेको छ । सपांग व्यक्ति सरह काम गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाउन आवश्यक छ । सबैले आत्मबल बलियो बनाएर तालिम लिनुहोला ।’ शाखा प्रमुख विकले भने ।

कोहलपुर नगरपालिका वडा नम्बर १५ का वडा सचिव हरिकृष्ण थारूले अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरेर आयमूलक तालिमका लागि बजेट विनियोजन गरिएको जानकारी दिएका थिए । आयोजक समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाका अनुसार तालिम तीनदिनसम्म सञ्चालन हुने बताए । उनका अनुसार तालिममा ७६ जना अपांगता भएका व्यक्ति सहभागी हुनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २६ गते शनिबार