मेयर कपमा आधारभूत तहका खेल सम्पन्न



कोहलपुर (बाँके),कोहलपुरमा जारी आठौँ मेयरकप तथा सत्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगितामा आधारभूत तहका खेल सम्पन्न भएका छन् । कोहलपुर नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको ‘आठौँ अन्तर आवि÷मावि मेयर कप रनिङ शिल्ड तथा १७ औँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगिताको दोस्रो दिन आधारभूत तहका खेल सम्पन्न भएका हुन् ।

प्रतियोगिताका सदस्यसचिव दिलिप ओलीका अनुसार आधारभूत तहतर्फका एथ्लेटिक्स, छात्र÷छात्रा भलिबल, कबड्डी लगायतका खेल सम्पन्न भएका हुन् । आधारभूततर्फ १०० मिटर, २०० मिटर र १०० ह् ४ रिले र लङजम्प र आधारभूततर्फ छात्रा भलिबल सम्पन्न भएको छ । छात्र भलिबलको फाइनल हुन बाँकी छ । आठौँ मेयर कप तथा सत्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत दोस्रो दिन भएको बेला पुरुष १५०० मिटर दौडमा गोरखा युनाइटेड पब्लिक स्कूल प्रथम र महिलातर्फको कृष्ण माविले जितेको छ ।

यसैगरी, माध्यमिक तह तर्फका खेल पनि सुरु भएको उनले जानकारी दिए । प्रतियोगिताको तेस्रो दिन (आज) बिहान सात बजे कबड्डी र छात्रछात्रा भलिबलको फाइनल खेल हुने उनको भनाइ छ । यस्तै एथ्लेटिक्स, कबड्डी र तेक्वान्दोका खेलसमेत हुने सदस्यसचिव ओलीले बताए ।
नगर खेलकुद विकास समितिको सञ्चालन र व्यवस्थापनमा भइरहेको प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी र मार्सल आर्टस् विधामा खेल भइरहेका छन् । पहिलोपटक चेस खेलसमेत समावेश गरिएको छ ।

प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।
प्रतियोगिताको मुख्य आकर्षणका रुपमा उत्कृष्ट विद्यार्थीलाई नगद् ५१ हजार पुरस्कार रहेको छ । आठौँ अन्तर आवि÷मावि मेयर कप रनिङ शिल्ड तथा १७ औँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगितामा कूल ५३ विद्यालय सहभागी छन् । प्रतियोगितामा कूल २ हजार १ सय ६७ खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिता माघ १९ गतेसम्म सञ्चालन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रबार