अम्बिकाजी, यहाँको ‘भावदीप’मानारी चेतना कति छ ?



रमेश प्रभात
अध्यक्ष, अक्षर समूह चितवन 
के तपाई अम्बिका अर्याललाई चिन्नुहुन्छ ?
पाठकवृन्द, मैले अम्बिका अर्याललाई चिनेको धेरै भएको छैन । त्यसो त उनी नेपाली साहित्यका क्षेत्रमा मूलतः नारीवादी समालोचकको छवि बनाइसकेकी कुशल समालोचक हुन् । यहाँ म उनको समालोचनात्मक कृतिको सूची प्रस्तुत गर्नेवाला छैन । उनलाई सर्जकका रुपमा चिनाउन चाहेकाले म यहाँ त्यसकै बारेमा चर्चा गर्न चाहन्छु ।
समीक्षकका अतिरिक्त अम्बिका अर्याल सिर्जनाका क्षेत्रमा पनि उत्तिकै क्रियाशील स्रष्टा हुन् । वि.सं. २०७५ मा ‘अविश्रान्त’ उपन्यास लिएर पाठकसामु पहिलोचोटि स्रष्टाका रूपमा उभिएकी उनले त्यसको छ वर्षपछि ‘भावदीप’नामक मुक्तकसङ्ग्रह लिएर फरक पहिचानसहित आएकी छिन् । यसरी विधा परिवर्तन गर्न चाहनु वास्तवमा उनको रहर हो कि बाध्यता ?यो उत्तर खोज्ने जिम्मा विज्ञ पाठकलाई दिन्छु म ।
तपाई मुक्तक कत्तिको पढ्नुहुन्छ ?
पाठकवृन्द, तपाई साहित्यमा के के पढ्नुहुन्छ ? अनि मुक्तक कत्तिको पढ्नुहुन्छ नि ? मचाहिँ भेटेसम्म पढ्छु कविता होस् कि मुक्तक । कसको मुक्तक पढ्ने ? कुनै ढिठ छैन मेरो । पुरानो पुस्ताको सरुभक्त हुन् कि नयाँ पुस्ताको सूर्य लाकोजू हुन् कि अरु कोही । यही क्रममा यतिबेला मेरो हातमा ‘भावदीप’ नामक मुक्तकसङ्ग्रह छ ।
यतिबेला मेरो हातमा रहेको ‘भावदीप’ नामक मुक्तक कृतिका कृतिकार डा. अम्बिका अर्याल हुन् भने यो कृतिको प्रकाशक सङ्गम बुक्स पब्लिकेसन, काठमाडौँ हो । यो कृतिले डिमाइ साइजको जम्मा ९५ पृष्ठ ओगटेको छ ।
यसभित्र हरेक पृष्ठमा समान किसिमले तीन तीन वटाका दरले मुक्तकहरू राखिएका छन् । यसरी यसभित्र कूल २८५ वटा मुक्तकहरू बिनाचित्र राखिएका छन् । यस कृतिको आवरण रङ्गीन छ भने भित्री पृष्ठ श्याम श्वेत खालका छन् । मुक्तकको शीर्षक नराखिने भएकाले यसमा विषयसूची राखिएको छैन ।
साँच्चै, कवि लामो लेख्न छोडेर किन मुक्तक लेख्छ?
आफूले मुक्तक किन लेखेँ भन्नेबारेमा लेखकको अभिमत यस्तो छ, “मनमा अनेक तर्कना चलिरहन्छन् । त्यो कहिले परिस्थितिबाट जन्मिन्छ, कहिले चिन्तनबाट । यसो गर्छु, उसो गर्छु भनेर बनाएका योजना होइन, आफसे आफ मनमा उब्जिदिन्छ । अनि टुसुक्क बसेर हातमा मोबाइल खेलाउने अवसर मिल्नेबित्तिकै अक्षर बनेर पोखिन्छ” (लेखकीय) ।
अम्बिकाले आफ्नो लेखकीय मन्तव्यमा पाठकसँग लामो रचना पढ्ने र लेखकसँग लामो रचना लेख्ने फुर्सद नहुँदा मुक्तकको रचना हुने कुरा गर्छिन् । यो कुरा सोरै आना सत्य भने नहोला । आज पनि लेख्नेहरू लामो लामो रचनाहरू लेखिरहेकै छन्, पढ्नेहरू तिनै कृति पढिरहेका छन् । चाहे त्यो आख्यान होस् वा गैरआख्यान । मेरो विचारमा मनमा उब्जिएका भावनाका स–साना झिल्काहरूलाई टिप्न मुक्तक उपयोगी हुन्छ । सायद अम्बिकाले यो कृतिमा पनि त्यही गरेकी पो हुन् कि ?
के छ त अम्बिका अर्यालको ‘भावदीप’मा ?
काव्यात्मक बान्की हुने मुक्तक छोटो भएर पनि आफैँ पूर्ण साहित्यिक संरचना हो । भावनाको एक झोक्कालाई बिना भूमिका भन्ने यसको छरितो रूपले पाठकलाई च्वास्स छुन्छ । यति भएर पनि यसले लामो खालको घटनालाई भने अभिव्यक्त गर्न सक्तैन । यी सीमाका बाबजुद यस कृतिमा भएका विभिन्न मुक्तकमा विविध खालका सूक्ष्म भावहरू समेटिएका छन् । यहाँ उक्त कृतिमा समेटिएका केही मुक्तकहरूलाईसाक्ष्यका रूपमा प्रस्तुत गर्दै तिनमा के कस्तो भाव उतारिएको छ भन्ने छोटो चर्चा गरिएको छ ः
स्रष्टा अम्बिका अर्याल आफू नारी भएको र लामो समयसम्म नारीवादी समालोचनामा काम गरेकाले नारीकेन्द्री भाव उनका रचनामा आउनु स्वाभाविक हो । नारीसँग सम्बन्धित पनि विविध खालका भावहरू यो सङ्ग्रहमा पाइन्छ । हेरौँ नारीकेन्द्री विद्रोही भावको एउटा नमुना ः
कसैले देला र खाउँला भन्न पशु हैन नारी
कसैले लैजाला र जाउँला भन्न पशु हैन नारी
बनिसके अब त समान न्याय दिने तराजु पनि
अधिकार दिए लिन पाउँला भन्न पशु हैन नारी ।
(पृष्ठ, ९५)
माथिको साक्ष्यमा परापूर्व कालका नारीहरू पुरुषको आशामा बाँच्ने गरेको यथार्थ चित्रण गर्र्दै आजका नारी आफ्नो खुट्टामा आफैँ उभिने गरेको मूलभावलाई पशुसँग तुलना गर्दै पितृसत्ताको विरोध गरिएको छ । त्यस्तै आफ्नै सन्तानको पहिचनसमेत नारीसँग नरहने कुरालाई पहिचानको स्वर बनाएर यसरी उतारिएको छ ः
आखिर जातभित्र के छ खै सधैँ लुछाचुँडी गर्नुपर्ने
बाबा, बाजे, पतिका वंश गोत्र कहिलेसम्म सर्नुपर्ने
आहा ! कति सुनिन्छ आमाका महिमा हरेक मुखबाट
पहिचान सन्तानमा सार्न अझै कति आमाले मर्नुपर्ने ?
(पृष्ठ, ३३)
हो,बच्चा जन्माउनेचाहिँ आमाले तर थर भने बाबु, बाजेको हुने अमिल्दो पितृसत्तात्मक कामलाई माथिको साक्ष्यमा मार्मिक तरिकाले चित्रण गरिएको छ । त्यस्तै तलको साक्ष्यमा आजका कामकाजी नारीको समस्याको यसरी चित्रण गरिएको छ ः
घरभित्रै पनि कामको चाप छ
शीतलता छैन आफैँमा ताप छ
थकान बिसाउने रहर छ मनैमा
कर्तव्यले थमाएका अनेक राप छ ।
(पृष्ठ, ७५)
साँच्चै नारीलाई फुर्सद कतिबेला हुन्छ हँ ?माथिको साक्ष्यमा नारीलाई घरबाहिर मात्र नभएर घरमा पनि फुर्सद नहुने कुरालाई सुन्दर तरिकाले अभिव्यक्त गरिएको छ ।उनी नारीले भोग्ने भोगाइ मात्र नभएर नारीमा हुने प्रणयचेतका बारेमा पनि यसरी वाणी दिन्छिन् ः
म भीडमा एक्लै हुन्छु केवल तिमी नहुँदा
बेहिसाब नै याद गुन्छु केवल तिमी नहुँदा
नाइल झैँ तन्किन्छ समय पलभर नदेख्दा
विवशतामै जीवन तुन्छु केवल तिमी नहुँदा ।
(पृष्ठ, ७८)
माथिको साक्ष्यमा त्यसभन्दा अघिका साक्ष्यमा जस्तो विद्रोही भाव छैन । यसमा नारी र पुरुषको मेलको कुरा गरिएकोछ । प्रेमले सदा साथ चाहने र प्रेमीबिना एक्लो महसुस गर्ने कुरालाई मार्मिक तरिकाले चित्रण गरिएको छ । त्यस्तै उनी केही मुक्तकमा उमेरजन्य बुढ्यौलीको चित्रण यसरी गर्छिन् ः
आफ्नै शरीर नि नसके भारी हुने दिन आउँछ
जति गोडे पनि सम्बन्ध घारी हुने दिन आउँछ
जति देख्लान् बाचुञ्जेल खोटका चाङ दुनिया
गुमे पक्कै सम्झनाको छहारी हुने दिन आउँछ ।
(पृष्ठ, ९४)
खासमा बुढ्यौली भन्नु नै उमेरको कुरा हो । यदि दीर्घायु बाँचियो भने यो सबैमा आउँछ । यसले मानव जीवनमा के कस्तो समस्या ल्याउँछ भन्ने कुरालाई माथिको साक्ष्यमा सुन्दर तरिकाले उतारिएको पाइन्छ । उनी त्योबाहेक मावनजीवनको दार्शनिक चित्रण यसरी गर्छिन् ः
उज्यालो छाम्छ मान्छे अन्धकारको डरमा
सौन्दर्यमा रम्छन् मान्छे जवानीको भरमा
सांसारिकताको शक्तिले हृदयमा डामेपछि त
सारा गल्ती गम्छ मान्छे अन्तिम प्रहरमा ।
(पृष्ठ, २६)
हो, उज्यालो हरेक मान्छेको चाहना हो । यति हुँदाहुँदै पनि अन्धकारमा बाँच्न विवश छ मान्छे । त्यस्तै सुन्दरताको खोजी गर्दागर्दै कुरूपता स्वीकार गर्न बाध्य हुने कुरा माथिको साक्ष्यमा आएको छ । त्यस्तै उनी मान्छेलाई कस्तो हुने भन्ने सन्देश दिन पनि पछि पर्दिनन् ः
चोट लुकाई मनैले हाँस्न सक्ने पो मान्छे
सद्भावको पिरती गाँस्न सक्ने पो मान्छे
अहङ्कार र लोभका मोहजाल फोडेर आजै
द्वेषका जरा उखेलेर मास्न सक्ने पो मान्छे ।
(पृष्ठ, १७)
बाहिर जस्तो देखिए पनि मनभित्र चोट, पीडा, व्यथा आदि हरेक मान्छेसँग छ । छ भन्दैमा देखाउँदै हिँड्ने होइन, त्यसलाई लुकाएर हाँस्न सक्नुपर्छ भन्ने विचार माथिको साक्ष्यमा पाइन्छ । उनको अर्को प्रवृत्ति व्यङ्ग्यचेत हो । उनी स्वार्थी खालका मान्छेप्रति यसरी व्यङ्ग्य गर्छिन् ः
स्वार्थी भावले मिल्नेसँग केही लाग्दैन
आफ्नै नचिनी चिल्नेसँग केही लाग्दैन 
कहाँ पाइन्छ हित सोच्ने आफू मिटाएर
औँलो दिँदा डुँडुलो निल्नेसँग केही लाग्दैन । 
(पृष्ठ, १)
कवि अर्यालले माथिको साक्ष्यमा यो समाजमा रहेका स्वार्थले चल्ने मानवहरूप्रति तिखो व्यङ्ग्य गरेकी छिन् । उनको व्यङ्ग्यवाण त्यतिमा मात्र सीमित रहँदैन । उनीराजनीतिप्रति यस्तो खालको व्यङ्ग्यास्त्र प्रहार गर्छिन् ः
मह देखाउँदै तितेपाती कोच्याउने जमात छ 
आफू ठूलो अरु पुड्को होच्याउने जमात छ
पाइन्छ भने सित्तैमा बाँडिएका राहत प्याकेज
घाइते देखाउन सद्दे खुट्टा खोच्याउने जमात छ ।
(पृष्ठ, ५१)
मह देखाएर तितेपाती कोच्याउने समाजका कथित उच्चवर्गका व्यक्तिलाई दरो झापड माथिको साक्ष्यमा हानिएको छ । त्यस्तै उनी समाजमा व्याप्त विभिन्न खाले विभेदका विरुद्ध आफ्ना मुक्तकमा यसरी उत्रिन्छिन् ः
कसले विभेदको पाठ पढायो
ज्ञानमा अज्ञानको राप बढायो
आफू पुजिनुछ मानवता भुटेर
धर्मको भेटीमाथि पाप चढायो ।
(पृष्ठ, २३)
माथिको मुक्तकमा यो समाजमा विद्यमान विभेदको चित्रण पाइन्छ । जब मान्छे आफूलाई भगवान् ठान्न थाल्छ, त्यसपछि समाजमा विभेदको पर्खाल ठडिन्छ भन्ने सन्देश माथिको साक्ष्यमा पाइन्छ । त्यस्तै समय कसैको अधीनमा हुँदैन भन्ने कुरालाई उनी यसरी मुखरित गर्छिन् ः
समय एक यस्तो खेल रहेछ
सुटुक्क बगाउने भेल रहेछ
अरुको लय र स्वरूप फेर्ने
अगोचर एक जालझेल रहेछ ।
(पृष्ठ, ५२)
समय सबैका लागि हो । यसले कसैलाई काखा कसैलाई पाखा गर्दैन, तर समय यस्तो भेल हो जसले गोचरभन्दा पनि अगोचर रूपमा आफ्नो गतिविधि सञ्चालन गरिरहेको हुन्छ भन्ने कुरालाई माथिको साक्ष्यमा मार्मिक तरिकाले उतारिएको छ । त्यस्तै मुक्तककारलेविद्रोह मात्र नभएर पारिवारिक कुरालाई पनि यसरी अभिव्यक्त गरेकी छिन् ः
सन्तानकै प्रगतिमा चुलिन्छ मातापिताको स्वाभिमान
दुर्गतिमा गुम्छन् जीवनभर उनले कमाएका अभिमान
सन्तानकै चाहमा झुक्छ कतै झुक्न नमान्ने शिर ती
मर्यादा बुझ्नेले विभेद रची लिङ्गमा के भुल्ला इमान ?
(पृष्ठ, ५१)
माथिको साभार गरिएको साक्ष्यमा आफ्ना सन्तानका प्रति मातापिताको कर्तव्य चित्रण गरिएको छ । यति हुँदाहुँदै पनि लिङ्का कारण त्यसको असर फरक हुने कुरा उक्त मुक्तकमा गरिएको छ । यसो भन्नुको तात्पर्य भने प्रस्ट खुलेको छैन । आमाबाबुले निर्वाह गर्ने भूमिका छोरा होस् कि छोरी सबैप्रति समान हुनुपर्ने हो, यसमा लेखक नारी भएका कारणले त्यस्तो विभेद देखिन् कि ? यसमा म प्रस्ट छैन ।
पाठकवृन्द, अब त कलम रोकौँ कि ?
पाठकवृन्द, मेरा यी गन्थनले यहाँलाई दिक्क त पारेको छैन नि ? के गरुँ लेख्ने बानी जो परेको छ । हो, कलम रोक्नुअघि यत्तिचाहिँ भन्छु, समालोचनाका क्षेत्रमा विशिष्ट पहिचान बनाइसकेकी अम्बिका अर्यालको ‘भावदीप’ नामक मुक्तकसङ्ग्रह मूलतः नारी मनोभावनामा आधारित कृति हो ।
त्यति हुँदाहुँदै पनि यसमाविविध भावका चतुष्पदी ढाँचाका २८५ वटा मुक्तकहरू समावेश गरिएका छन् । त्यसैले यी यी मुक्तकहरू पठनीय छन् ।उनको यो कृतिलाई स्वागत गर्दै उनलाई ‘भावदीप’ को अपार सफलताको कामना गर्दछु । अन्त्यमा उनको लेखनको निरन्तरताको कामनाका साथ गतिशील कलम रोक्छु है । भबतु सब्ब मङ्गलम् ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १५ गते मंगलबार